इस्टर्न हाइड्रोको सेयर स्थानीयलाई खुला

    1260

    भोजपुर : निर्माणाधीन इस्टर्न जलविद्युत् (५ मेघावाट) आयोजनाको सेयर (आईटीए) स्थानीयका लागि खुला गरिएको छ । आयोजनाको कुल इस्टिमेटको १० प्रतिशत हुने गरी आयोजनाबाट प्रभावित स्थानीयका लागि सेयर खुला गरिएको आयोजनाले जनाएको छ । प्रभावित क्षेत्रका जनप्रतिनिधि, स्थानीय सरोकारवाला निकाय, आयोजनाका पदाधिकारी र स्थानीयको संयुक्त छलफलबाट प्रभावित क्षेत्रका स्थानीयले उक्त आयोजनाको १० कित्तादेखि ३० हजार कित्ता (एक हजारदेखि ३० लाख)सम्म सेयर हाल्न पाउने व्यवस्था गरिएको हाइड्रोपावरले जनाएको छ ।

    हाइड्रोपावरको कुल एक अर्ब १५ करोडको प्राविधिक इस्टिमेटमध्ये आयोजनाबाट प्रभावित स्थानीयका लागि कुल ६ करोड २० लाख बराबरको सेयर दिन सकिने आयोजनाका अधिकृत दीपेन राईले जानकारी दिए । उनले भने, ‘आयोजनाबाट प्रभावित क्षेत्रका स्थानीय पहिलो प्राथमिकतामा पर्ने भएकाले आयोजनाको कुल इस्टिमेटको १० प्रतिशत सेयरमा उनीहरू हकदार रहने व्यवस्था छ ।’

    हालका लागि स्थानीयको हकमा १० प्रतिशत सेयर खुलाइए पनि आगामी मंसिरबाट जिल्लाभर नै सेयर खुलाइने जनाइएको छ । जिल्लामा आयोजनाको एनएमबी क्यापिटल लिमिटेडमार्फत धितोपत्र जारी गरी सेयर खुलाउने व्यवस्था गरिएको यो पहिलोपटक हो । कानुनी रूपमा वैधता रहने गरी भोजपुरको नागरिकता भएका प्रभावित क्षेत्रका उपभोक्ताका लागि उक्त सेयर खुलाइएको हो ।

    विविध कारणबस झन्डै साढे पाँच वर्ष रोकिएको उक्त जलविद्युत् आयोजनाको काम अहिले ९० प्रतिशत भौतिक संरचना र ६५ प्रतिशतभन्दा बढी मेकानिकल काम सम्पन्न भएको छ । कुल एक अर्ब १४ करोडको लगानीमा बन्ने आयोजनाको पीपीए अनुसार ०७६ असार मसान्तसम्म सकिने भए पनि चालु आर्थिक वर्ष ०७५÷७६ को मंसिर÷पुस महिनातिर सकिने लक्ष्य राखिएको आयोजनाका प्रमुख एवं इन्जिनियर रोशन साहले बताए ।

    ०६२ सालमा तत्कालीन समयका लागि नेपाल विद्युत् प्राधिकरणसँग ४५ करोडको लगानीमा दुई दशमलब पाँच मेघावाट क्षमताको विद्युत् उत्पादन हुने गरी सम्झौताअनुरूप आयोजनाको सर्भे गरिएको थियो । ०६७ सालबाट रोकिएको आयोजनाको निर्माणपछि ०७२ सालको अन्त्यतिर आयोजनाको विद्युत् क्षमता बढाएर पाँच मेघावाट पुर्‍याइएपछि कामको थालनी गरिएको थियो ।