तीनवटा आयोजनाबाट कुल ६ सय १ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य

1100

माघ ४, २०७७

लमजुङ : विद्युत् नियमन आयोगले मनाङ मस्र्याङ्दी आयोजनालाई नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) गर्न सैद्धान्तिक स्वीकृति दिएको छ । कुल १ सय ३५ मेगावाट क्षमताको मनाङ मस्र्याङ्दी अर्धजलाशय जलविद्युत् आयोजनालाई पीपीएका लागि आयोगले स्वीकृति दिएको हो ।

सो आयोजनासँगै अन्य दुई आयोजनासमेत गरी तीनवटा आयोजनाबाट कुल ६ सय १ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको छ । प्रवद्र्धक कम्पनी मनाङ मस्र्याङ्दी हाइड्रोपावर प्रालिलाई प्राधिकरणसँग पीपीए गर्न सैद्धान्तिक स्वीकृति दिइएको आयोगका सदस्य रामप्रसाद धितालले बताए ।

धितालका अनुसार सो आयोजनाको गत ९ पुसमा सार्वजनिक सुनुवाइ गरिएको थियो । त्यसपछि पीपीए गर्न सैद्धान्तिक स्वीकृति प्राप्त भएको हो । उनले भने, ‘सार्वजनिक सुनुवाइपछि प्रवद्र्धक कम्पनीलाई प्राधिकरणसँग सो आयोजनाको पीपीए गर्न बाटो खुला भएको हो ।’ सो आयोजना मनाङ जिल्लाको नासो र चामे गाउँपालिकामा निर्माण हुनेछ । मनाङ मस्र्याङ्दी हाइड्रो पावर कम्पनी बुटवल पावर कम्पनीको सहायक कम्पनी हो । पीपीए गर्नुअघि त्यसका लागि सार्वजनिक सुनुवाइ गर्नुपर्ने व्यवस्था छ ।

कुल १ सय ३५ मेगावाट क्षमताको मनाङ मस्र्याङ्दी अर्धजलाशय जलविद्युत् आयोजनालाई पीपीएका लागि आयोगले स्वीकृति दिएको हो । यस आयोजनासँगै अन्य दुई आयोजनासमेत गरी तीनवटा आयोजनाबाट कुल ६ सय १ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको छ ।

त्यसकालागि समेत आयोगको स्वीकृति पनि आवश्यक पर्छ । सोहीअनुसार नै आयोगबाट आयोजनाको पीपीएका लागि स्वीकृति लिइएको धितालको भनाइ छ । धितालले भने, ‘प्राधिकरणसँग पोस्टेट रेट (हिउँदमा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्षातमा प्रतियुनिट ४ रुपैयाँ ८० पैसा) मा पीपीए गर्ने प्रारम्भिक सहमति भएको छ ।’ उनका अनुसार पीपीए नेपाली रुपैयाँकै आधारमा हुनेछ । सो आयोजनामा चिनियाँपक्षबाट चिनियाँ मुद्रामा नै ऋण लगानी ल्याइँदै छ । अन्य आयोजनामा विदेशी मुद्रामा लगानी हुँदा पीपीए पनि विदेशी मुद्रामा नै गर्न जोड दिए छन् । तर, यस आयोजनाको भने नेपाली रुपैयाँमा नै पीपीए हुने कम्पनीको भनाइ छ ।

आयोजनामा लगानी गर्ने चिनियाँ कम्पनीहरूमा एससीआईजी इन्टरनेसनल लिमिटेड, जिचेङ इन्टरनेसनल इन्भेस्टमेन्ट कम्पनी र क्यूआईईसी इन्टरनेसनल कम्पनी रहेका छन् । यी तीन कम्पनीको संयुक्त लगानीबाट मस्र्याङ्दी नदीमा नै थप दुई आयोजना निर्माण गर्ने बुटवल पावर कम्पनीको योजना रहेको बुटवल पावरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उत्तरकुमार श्रेष्ठले बताए । उनका अनुसार मनाङ मस्र्याङ्दी आयोजनाका लागि ३३ अर्ब ३७ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । त्यसमा ८० प्रतिशत ऋण र २० प्रतिशत स्वपुँजी लगानी गर्ने तयारी छ ।

आयोजनाका लागि शतप्रतिशत ऋण चीनबाट ल्याइने बताइएको छ । स्वपुँजी भने बुटवल पावरसहित सम्बद्ध चिनियाँ कम्पनी आफंैले जुटाउनेछन् । आयोजना निर्माणका लागि बुटवल पावर कम्पनीसहित ३ चिनियाँ कम्पनीले लगानी गर्नेछन् । यसका लागि उनीहरूले एससीआईजी इन्टरनेसनल नेपाल हाइड्रो ज्वाइन्ट डेभलपमेन्ट कम्पनी प्राइभेट लिमिटेड स्थापना गरिसकेका छन् । कम्पनीमा बुटवल पावरको १९ दशमलव ५ र चिनियाँ कम्पनीको ७९ दशमलव ५ प्रतिशत अंश हुनेछ ।
आयोजनाले सन् २०२५ भित्र विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको छ । आयोजनाबाट वार्षिक ७५ करोड ९ लाख ४८ हजार ८ सय ७५ युनिट विद्युत् उत्पादन हुने अनुमान छ । सो आयोजनाको विद्युत् मनाङको धारापानीमा रहेको प्राधिकरणको २ सय २० केभी धारापानी स्विचिङ स्टेसनमा जाडिनेछ । प्राधिकरणले समयममै आवश्यक पूर्वाधार नबनाउँदा लाग्ने जरिमाना भने घटाइएको छ ।

कम्पनी पक्षले प्राधिकरणका तर्फबाट बन्नुपर्ने प्रसारण लाइनजस्ता पूर्वाधार समयमा नबनेमा ४५ प्रतिशतसम्म पेनाल्टी लाग्ने प्रस्ताव गरेको थियो । तर, आयोगले त्यसलाई २५ प्रतिशतमा झारेको आयोगका सदस्य धितालले बताए । उनका अुनसार सो आयोजना ठूलो भएकाले पेनाल्टीको व्यवस्था घटाइएको छ । उनले भने, ‘आयोजना बन्न ढिलाइ भएमा पनि कम्पनी पक्षले २५ प्रतिशत नै पेनाल्टी तिर्नुपर्ने हुन्छ ।’

चिनियाँ कम्पनीसँगको सहकार्यमा नै बुटवल पावरले १३९ दशमलव २ मेगावाटको तल्लो मनाङ मस्र्याङदी जलविद्युत् आयोजना र ३ सय २७ मेगावाटको माथिल्लो मनाङ मस्र्याङदी–२ जलविद्युत् आयोजना निर्माण गर्नेछ । माथिल्लो मनाङ मस्र्याङदी–२ को प्रक्रिया अघि बढाउन बुटवल पावरले हिमताल हाइड्रोपावर कम्पनी स्थापना गरिसकेको बुटवल पावरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उत्तरकुमार श्रेष्ठले बताए । उनका अनुसार यी ३ आयोजनाबाट कुल ६ सय १ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ । उनले भने, ‘सबै आयोजनामा ८० प्रतिशत ऋण र २० प्रतिशत स्वपुँजीका रूपमा लगानी गरिनेछ ।’

 

स्रोत:राजधानी दैनिक