चीनले ऋणको म्याद नथपेपछि त्रिशूली थ्रिए अन्यौलमा

    999

    नुवाकोट : विनासकारी भूकम्पका कारण अवरुद्ध माथिल्लो त्रिशूली थ्रिए जलविद्युत आयोजनाको काम पुनः सुचारु भए पनि चीनले ऋणको म्याद नथपेपछि अन्यौलता बढेको छ । आयोजनाको जलविद्युत गृहका संरचना तथा प्रशारण लाइन दुवैको ऋणको म्याद सकिएका छन् ।

    विनासकारी भूकम्पका कारण डेड वर्षपछि मात्र आयोजनाको काम सुचारु भएको थियो । जलविद्युतको संरचनाको लागि चीनसँग लिइएको ऋणको म्याद गत सन् २०१६ मे र प्रशारण लाइनको ऋणको म्याद सन् २०१७ जनवरीमा म्याद सकिएको हो । म्याद थप नहुँदा माथिल्लो त्रिशूली थ्रीए आयोजना निर्माण अन्यौल भएको हो । आयोजनाको सुरुङ मार्गको काम ९५ प्रतिशत सकिएको आयोजनाका सहायक प्रबन्धक सत्यराम ज्याख्वाले जानकारी दिनुभयो ।

    आयोजनास्थल पुग्ने सडक मार्गदेखि अन्य भौतिक संरचनामा क्षति हुँदा बन्द भएको आयोजना निर्माणको कामले अझै गति लिन नसकेको हो । विनासकारी भूकम्पका कारण क्षति पुगेको आयोजनाको सडकमार्ग निर्माण भइरहेको छ । चीनले चिनियाँ एक्जिम बैंकमार्फत उपलब्ध हुने ऋण नवीकरण नगर्दा आयोजनाको काम तथा भविष्य अन्यौलमा परेको हो । आयोजनाको लागि नेपाल सरकार र चीन सरकारबीच ६ सय ४० मिलियन (चिनिया यान) ऋण उपलब्ध गराउने सम्झौता अनुसार थालिएको थियो ।

    ‘ठेकेदार कम्पनीलाई एक्जिम बैंकबाटै भुक्तानी दिँदै आएका थियौँ, आयोजनाका सहायक प्रवन्धक ज्याख्वाले भन्नुभयो‘,चीनले ऋण नवीकरणको जानकारी नदिँदा समस्या भएको छ ।’ ऋण सहयोग सम्झौताको म्याद सकिएपछि सरकारले पटक÷पटक नवीकरणको लागि पत्राचार गरेपनि चीनले हालसम्म केही पनि प्रतिक्रिया जनाएको छैन।

    आयोजनाबाट उत्पादित विद्युत त्रिशुली मातातीर्थ २ सय २० केभीए प्रशारण लाइनमार्फत केन्द्रीय प्रशारणमा जोड्नका लागि निर्माण भइरहेको प्रशारण लाइनको कामसमेत प्रभावित भएको छ । प्रशारण लाइन निर्माणको लागि एक सय ५४ मिलियन (चिनियाँ यान) चीनले चाइना एक्जिम बैैैैंकमार्फत उपलब्ध गराउने सम्झौता भएको थियो ।

    दुवै आयोजनाका लागि भएको सम्झौताको म्याद सकिएपनि चीनले ऋण नवीकरण नगरेको सहायक प्रवन्धक ज्याख्वाले बताउनुभयो । ६० मेगावाट क्षमता रहेको उक्त आयोजनामा चिनियाँ गेजुवा गु्रपले निर्माणको काम गरिरहेको छ ।

    भूकम्प अघि सयौं कामदार रहेकोमा आयोजनास्थलमा अहिले सीमित कामदार मात्र छन् । केही दिनदेखि चिनिया ठेकेदारले विद्युत गृहको काम गरिरहेका छन् । अहिले ५४ चिनियाँ र ५६ जना नेपाली कामदार आयोजनास्थलमा कार्यरत रहेका छन् ।

    उनीहरुले आगामी अगष्टदेखि आयोजना निर्माणको काम तिब्र गतिमा अघि बढाउनका लागि भूकम्पले क्षति पुर्‍याएका संरचना र उपकरण पूर्ववत् अवस्थामा फर्काउने काम गरिरहेको आयोजनाले जनाएको छ । कुल ११ अर्व रुपैया निर्माण लागत रहेको सो आयोजना विनासकारी भूकम्पले निर्माणस्थलमा विभिन्न उपकरण तथा संरचनामा व्यापक क्षति पुगेपछि नुवाकोट र रसुवाको सिमानामा निर्माणाधिन ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्रि ए आयोजनाको काम लामो समयसम्म ठप्प हुन पुगेको थियो ।

    महाभूकम्पको कारण सो आयोजनामा २५ करोड रुपैया भन्दा बढीको क्षति पुगेको थियो । नुवाकोटको मनकामना र रसुवाको डाडागाउँ क्षेत्र निर्माणस्थल रहेको बहुचर्चित सो आयोजनाको काम विद्युत गृह तथा प्रशारण लाइन निर्माण गरि दुई तहमा निर्माण भइरहेको आयोजनाका सहायक प्रमुख अम्विकेश झाले जानकारी दिनुभयो ।

    उहाँले आयोजनाको लागि चारहजार ६ सय मिटर लामो सुरुङमध्ये दुई सय सात मिटर मात्र खन्न बाँकी रहेको बताउनुभयो । गत सन् २०११ मे १ देखि निर्माण सुरु भएको सो आयोजना आगामी सन् २०१९ अप्रिलसम्ममा निर्माण सम्पन्न गरिसक्नु पर्ने म्याद रहेको छ ।

    सो आयोजनाको निर्माण अवधि पहिले तीन वर्ष रहेकोमा दुई पटक निर्माण अवधि थप भइसकेको छ । विनासकारी भुकम्प, विविध समस्या तथा अवरोधका कारण आयोजनाले निर्धारित समयावधि भित्र काम सक्न नपाएको निर्माण पक्षले जनाएको छ । आयोजनाको पहिले २६ महिना र पछि ३४ महिना निर्माण अवधि थप गरिएको हो ।

    आयोजना पहिले सन् २०१६ जुन ३० तारिखसम्म सम्पन्न गर्नु पर्ने लक्ष्य रहेको थियो । तर, अब आयोजना दुई वर्षभित्र निर्माण सम्पन्न गर्नु पर्ने समयावधि रहेको छ । हाल भुमिगत विद्युत गृहमा संरचनाका लागि खन्ने कार्य भइरहेको छ । पहिले कुल ८९ मिलियन अमेरिकी डलर अर्थात् आठ अर्ब नेपाली रुपैयामा निर्माण लागत रहेकोमा हाल लागत बढेर ११ अर्ब पुगेको छ ।

    स्रोत्: अन्नपूर्ण पोस्ट