तामाकोसी ५ आयोजनाका लागि जग्गा अधिग्रहण सुरु

    1548

    काठमाडौैं । नेपाल विद्युत् प्राधिकरणले तामाकोसी पाँचौ जलविद्युत आयोजना निर्माणका लागि जग्गा अधिग्रहणको काम सुरु गरेको छ ।

    प्राधिकरणले निर्माण गर्न लागेको ८७ मेगावाट क्षमताको आयोजनाका लागि आवश्यक जग्गा अधिग्रहणको काम सुरु गरेको हो । प्राधिकरणले आयोजनाका लागि कर्मचारी आवास, सडक, आयोजनाको बाँध, विद्युतगृह संरचना निर्माणका लागि स्थाई रुपमा जग्गा अधिग्रहणका लागि दोलखाको विगु गाउँपालिका वडा नम्बर ४, मा जग्गा अधिग्रहणको काम सुरु गर्ने भएको छ । विद्युत विकास विभागले प्राधिरणलाई विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) दिइसकेको छ ।
    हाल जर्मनको ल्याह्मेयर इन्टरनेश्नलले आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन तयार गरिरहेको छ । ८७ मेगावाट क्षमताको आयोजनामा वार्षिक ४६ करोड युनिट बिजुली उत्पादन हुने सन् २०११ मा गरिएको संभाव्यता अध्ययनले देखाएको छ । जसअनुसार सुख्खामा ६ करोड १६ लाख ४० हजार र वर्षादमा ३६ करोड ६६ लाख युनिट बिजुली उत्पादन हुने छ । आयोजना बनाउन सन् २०११ को मूल्यअनुसार १३ करोड १९ लाख ९० हजार डलर लाग्ने देखिएको छ । त्यसबेला प्रतिकिलोवाट लागत १ हजार ५१७ डलर  लाग्ने देखिएको थियो । नयाँ अध्ययन प्रतिवेदन आएपछि यी सूचकाँकमा परिवर्तन आउने छ ।

    आयोजनाको बाँध माथिल्लो तामाकोसीको टेलरेसबाट पानी ९ किलोमिटर लामो सुरुङ मार्ग हुदै विद्युत्गृह जामुने सिउरी दोभानमा छ । आयोजना अघि बढाउन सरकारले तामाकोसी जलविद्युत कम्पनी गठन गरिसकेको छ ।

    स्रोत्:बाह्रखरी