४ सोलार प्लान्टलाई सर्वेक्षण अनुमति

1115

माघ ४, २०७७

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ६ महीनामा कुल ११७ मेगावाटका चार सौर्य विद्युत् आयोजना (सोलार प्लान्ट) ले सर्वेक्षणको अनुमति पाएका छन् । विद्युत् विकास विभागको पुस मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । कालीखोला सोलार प्लान्ट, मिथिला सोलार प्लान्ट, भवानीपुर सोलार प्लान्ट र लामाडाँडा लालपुर सोलार प्लान्टले बिभागबाट सर्वेक्षणको अनुमतिपत्र पाएका हुन् ।

अनुमतिपत्र पाउनेमध्ये सबैभन्दा ठूलो आयोजना लामाडाँडा लालपुर सोलार प्लान्ट रहेको छ । प्रवर्द्धक कम्पनी पानस इनर्जी प्रालिले सिराहा जिल्लामा १०० मेगावाट क्षमताको प्लान्ट बनाउन लागेको हो । यसका लागि कम्पनीले गत कात्तिक २० गते सर्वेक्षणको अनुमति पाएको विभागको भनाइ छ ।

गुडलक ग्लोकल पावर इनर्जीले नुवाकोटमा ७ मेगावाटको कालीखोला सोलार प्लान्टको सर्वेक्षण गर्न अनुमति पाएको छ । सोलार स्टार प्रालिले धनुषामा ५ मेगावाटको मिथिल सोलार प्लान्ट र नेपाल पेट्रोलियम टे«ड लिंक्स प्रालिले बारामा ५ मेगावाटको भवानीपुर सोलार प्लान्टको निर्माण गर्ने गरी सर्वेक्षणको अनुमति पाएको विभागको भनाइ छ ।

सर्वेक्षण अनुमतिपत्रको अवधि २ वर्षको हुने विभागको भनाइ छ । प्रवद्र्धक कम्पनीहरूले २ वर्षभित्र आयोजना सर्वेक्षणको प्रतिवेदन बिभागमा पठाउनुपर्ने छ ।  २ वर्षमा सर्वेक्षण नसकिए अनुमतिपत्र खारेज हुने विभागका महानिर्देशक नवीनराज सिंहले बताए । कोरोना भाइरसको महामारीका कारण सर्वेक्षणका क्रममा रहेका आयोजनाहरूलाई आवश्यक म्याद थप गर्ने तयारी गरेको उनको भनाइ छ ।

‘कोरोना नियन्त्रण गर्न लगाइएको बन्दाबन्दीलगायत कारण कतिपय आयोजनाहरूको सर्वेक्षणको काम हुन पाएको छैन । केही आयोजनाको सर्वेक्षण अनुमतिपत्रको म्याद सकिएको छ,’ उनले भने, ‘त्यस्तो आयोजनाहरूलाई आवश्यक सहजीकरण गर्ने गरी व्यवस्था गर्दै छौं ।’

विभागका अनुसार गत आवको सोही अवधिमा ६१ दशमलव ५९ मेगावाटका ९ ओटा सोलार प्लान्टले सर्वेक्षणको अनुमति पाएका थिए । त्योअनुसार चालू आवमा संख्याका आधारमा कम आयोजनाले सर्वेक्षणको अनुमति पाए पनि क्षमताका आधारमा भने ठूला आयोजनाहरू रहेको देखिन्छ ।

करीब ५०० मेगावाट बराबरको सोलार प्लान्टहरू अध्ययनको क्रममा रहेको विभागको तथ्यांकमा देखिन्छ । हालसम्म ४७७ दशमलव ६२ मेगावाट क्षमताका ३२ सोलार प्लान्टले (निर्माणको अनुमति पाएकाबाहेक) सर्वेक्षणको अनुमति पाएका छन् । ती आयोजनाको सर्वेक्षण तथा अध्ययनको काम भइरहेको विभागका महानिर्देशक सिंहले बताए ।

अध्ययनमा क्रममा रहेका आयोजनामध्ये सबैभन्दा ठूलो आयोजना चौधरी समूहअन्तर्गतको सोलार प्लान्ट रहेको छ । प्रवद्र्र्धक कम्पनी सिजी इनर्जी इन्फ्रास्टक्चर प्रालिले हाल महोत्तरीमा १२० मेगावाट क्षमताको सोलार प्लान्ट बनाउने गरी अध्ययन गरिरहेको छ ।

आयोजना सर्वेक्षणका लागि कम्पनीले २०७५ सालमा नै अनुमति पाइसकेको थियो ।

१२७ दशमलव ७ मेगावाट बराबरका थप ४ आयोजनाहरूले सर्वेक्षणको अनुमति माग्दै विभागमा आवेदन दिएका छन् । तराई सोलार प्लान्ट (७.७ मेगावाट), भाङगाहा सोलार प्लान्ट (१०० मेगावाट), बेलबारी सोलार प्लान्ट (१० मेगावाट) र उदयपुर सोलार प्लान्ट (१० मेगावाट) ले सर्वेक्षणका लागि अनुमति मागेको विभागको भनाइ छ । अब उनीहरूको आवेदनमाथि आवश्यक अध्ययन गरेर सर्वेक्षणको अनुमति दिइने महानिर्देशक सिंहले बताए ।

‘पछिल्लो समय सर्वेेक्षणका लागि कम आवेदन पनि आइरहेको छ । शायद, अब सोलार प्लान्ट बनाउने इच्छुक कम्पनीहरू नभएर पनि होला,’ उनले भने । सोलार प्लान्ट बनाउने अधिकांश इच्छुक कम्पनीहरूले यसअघि नै आवश्यक प्रक्रिया अगाडि बढाइसकेको उनको भनाइ छ ।

निर्माणको अनुमति पाएको ८ मेगावाटको बुटवल सोलार प्लान्ट भने व्यावसायिक रूपमा नै सञ्चालनमा आइसकेको छ । प्रवर्द्धक कम्पनी रिडी हाइड्रो पावरले गत असोजदेखि नै उक्त आयोजना सञ्चालनमा ल्याएको हो । यसबाहेक नेपाल विद्युत् प्राधिकरणको नुवाकोटस्थित २५ मेगावाटको सोलार प्लान्ट पनि सञ्चालनको तयारीमा छ । हाल १०० मेगावाट बराबरका १६ सोलार प्लान्ट निर्माणको क्रममा रहेको विभागको भनाइ छ ।

 

स्रोत:आर्थिक अभियान