हावाबाट बिजुलीको प्रस्ताव गर्ने कम्पनी बेपत्ता

    1108

    तीन हजार मेगावाट बिजुली निकाल्न प्रस्ताव गर्ने कम्पनी दी गोर्खाज युके सम्पर्कविहीन

    काठमाडौं, ३ साउन हावाबाट तीन हजार मेगावाट बिजुली उत्पादनको प्रस्ताव गर्ने कम्पनी सम्पर्कविहीन भएको छ । दी गोर्खाज युकेले प्रस्ताव पेस नगरेपछि लगानी बोर्डले निर्णय खारेजीको तयारी गरेको छ ।

    प्रधानमन्त्री अध्यक्ष रहने लगानी बोर्डको ११ माघको बैठकले हावाबाट बिजुली उत्पादन गर्न तीन महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) पेस गर्न दी गोर्खाज युकेलाई निर्देशन दिएको थियो । बोर्डले निर्देशन दिएको ६ महिना पुग्ने वेलासम्म कम्पनीले डिपिआर पेस गरेको छैन ।

    कम्पनीका सञ्चालक नै सम्पर्कमा नरहेको बोर्डका प्रवक्ता सहसचिव रवि भट्टराईले बताए । ‘डिपिआर पेस गर्न दिएको समयसीमा कम्पनीले गुजारिसकेको छ, कम्पनीका व्यक्ति नै सम्पर्कमा छैनन्,’ भट्टराईले भने, ‘हावाबाट बिजुली निकाल्न त्यो कम्पनीलाई दिनेबारे यसअघिको निर्णय खारेजीका लागि बोर्ड बैठकमा पेस गर्दै छौँ ।’

    प्रधानमन्त्री केपी ओलीले सो कम्पनीकै भनाइकै आधारमा हावाबाट बिजुली निकाल्ने भाषण गरेका थिए । प्रधानमन्त्री ओलीनजिकका व्यवसायी वसन्त भुजेलले हावाबाट बिजुली निकाल्ने निवेदन दिएका थिए । भुजेलको कम्पनी दी गोर्खाज् युकेले पहिलो चरणमा तीन सय र तीन वर्षमा तीन हजार मेगावाटसम्म वायु ऊर्जा उत्पादन गर्ने आशयको निवेदन बोर्डमा दिएको थियो । मन्त्रिपरिषद्को १७ पुसको बैठकले कम्पनीले पेस गरेको र आगामी दिनमा सय मेगावाटभन्दा माथि हावाबाट बिजुली निकाल्न आउने प्रस्तावलाई बोर्डमार्फत अगाडि बढाउने निर्णय गरेको थियो ।

    प्रधानमन्त्री ओलीले हावाबाट बिजुली निकाल्ने प्रस्ताव आफौ अध्यक्ष रहेको लगानी बोर्डबाट कार्यान्वयन गर्ने निर्णय गराएका थिए । ५ पुसको बोर्ड बैठकले हावाबाट बिजुली निकाल्न प्रस्ताव पेस गर्ने भुजेलको कम्पनी दी गोर्खाज युकेसँग प्रक्रिया अगाडि बढाउन कार्यालयलाई निर्देशन दिएको थियो । तर, कम्पनीले विश्वसनीय प्रस्ताव पेस गर्न नसकेपछि बोर्डको ११ माघको बैठकले तीन महिनाभित्र प्रस्ताव पेस गर्न कम्पनीलाई आग्रह गर्ने निर्णय गरेको थियो ।

    हावाबाट बिजुली निकाल्ने प्रधानमन्त्री ओलीको महत्त्वाकांक्षी योजना थियो । कम्पनीले प्रस्ताव पेस गरेकै आधारमा प्रधानमन्त्रीले हावाबाट बिजुली निकाल्ने भन्दै सार्वजनिक रूपमै बताउँदै आएका थिए । बोर्ड स्रोतले हावाबाट बिजुली ‘हावाजस्तै’ भएको बतायो । स्रोतले भन्यो, ‘कम्पनी पनि हावा नै रहेछ ।’

    स्रोत :   सचेन गौतम/नयाँ पत्रिका