आधा दर्जन जलविद्युत् कम्पनीले आईपीओ जारी गर्न पाएनन्

    1655

    नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको लामो समय बितिसक्दा पनि आधा दर्जन जलविद्युत् कम्पनीले साधारण शेयर (आईपीओ) जारी गर्ने अनुमति प्राप्त गर्न सकेका छैनन्। कमजोर आर्थिक अवस्था तथा कम्पनीसँग सम्बन्धित कागजात अभावका कारण बोर्डबाट ती कम्पनीले आईपीओ जारी गर्ने अनुमति पाउन नसकेका हुन्।

    धितो बोर्डमा आईपीओ निष्काशनको अनुमति माग्दै आवेदन दिएका जलविद्युत् कम्पनीमा आँखुखोला जलविद्युत् कम्पनी लिमिटेड, गज्र्याङ उपत्यका हाइड्रोपावर लिमिटेड, लफिङ बुद्ध पावर नेपाल लिमिटेड, युनिक हाइडेल लिमिटेड,सीईडीबी हाइड्रो फन्ड लिमिटेड रहेका छन्। साथै एनएमबि बैंकले पनि एफपीओ निष्काशन गर्ने अनुमति प्राप्त गर्न सकेको छैन। एनएमबिको १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओसहित ती कम्पनीले १ करोड ७४ लाख ३२ हजार ४६३ कित्ता आईपीओ निष्काशन गर्ने तयारी गरेका थिए।

    २०७३ जेठ ३१ गते सर्वसाधारणलाई २० करोड रुपियाँबराबरको २० लाख कित्ता आईपीओ निष्कासन गर्न आँखुखोला जलविद्युत् कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको थियो। तर, आवेदन दिएको दुई वर्ष बितिसक्दा पनि सो कम्पनीले अनुमति प्राप्त गर्न सकेको छैन।

    सो कम्पनीका संस्थापक शेयरधनीबीच विवाद रहेको तथा सधैं घाटामात्रै देखाएको भन्दै धितोपत्र बोर्डमा उजुरी परेपछि अनुमति पाउन नसकेको बताएको छ।

    यस्तै लफिङ बुद्ध हाइड्रोपावरले कम्पनीले ९ करोड ७८ लाख रुपियाँबराबरको ९ लाख ७८ हजार कित्ता आईपीओ निष्काशन गर्न बोर्डमा आवेदन दिएको छ। २ करोड रुपियाँ बराबरको आईपीओ निष्काशन गर्न अनुमति माग्दै २०७३ असोज १४ गते गज्र्याङ उपत्यका हाइड्रोपावर लिमिटेडले बोर्डमा आवेदन दिएको थियो। तर, दुवै कम्पनीले हालसम्म अनुमति पाउन सकेका छैनन्। बोर्ड स्रोतका अनुसार दुवै कम्पनीको आवेदनमाथि बोर्डले अध्ययनको गरिरहेको बताइएको छ।

    यसैगरी विभिन्न जलविद्युत् कम्पनीमा लगानी गर्दै आएको सीईडीबी हाइड्रो फन्ड लिमिटेडले पनि २२ करोड ८९ लाख ३० हजार रुपियाँबराबरको आईपीओ निष्काशन गर्न भन्दै बोर्डमा आवेदन दिएको भए पनि त्यसका बारेमा कुनै निर्णय हुन सकेको छैन। तत्कालीन क्लिन इनर्जी बैंकले नेतृत्व गरेको उक्त फण्ड सो बैंक एनएमबि बैंकसँ मर्ज भएपछि एनएमबि बैंकले व्यवस्थापन गर्दै आएको छ। फण्डमा रकम जम्मा गरेको लामो समयसम्म पनि लाभांश बुझ्न नपाएको भन्दै संस्थापक लगानीकर्ताहरूले चर्को असन्तुष्टि जनाउँदै आएका छन्। उता, गत वर्षको जेठमा आईपीओ निष्काशनका लागि युनिक हाइडेल लिमिटेड पनि आवेदन दिएको भए पनि अझै अनुमति पाउन सकेको छैन।

    सर्वसाधारण लगानीकर्ता जलविद्युत् कम्पनीमा शेयर लगानी गर्न उत्साहित रहँदै आएको भए पनि जलविद्युत् कम्पनीहरूको वित्तीय स्वास्थ्य कमजोर रहेकाले बोर्डले शेयर निष्काशन अनुमति दिन अलमल गरेको स्रोतको भनाइ छ। तर, जलविद्युत् कम्पनीका सञ्चालकहरू आईपीओ निष्काशनको अनुमति पाउन विभिन्न क्षेत्रबाट दबाब दिँदै आएको बताएको छ।

    यसैबीच रैराङ हाइड्रोपावरको साधारण शेयरको बिक्री वैशाख ३१ गतेदेखि हुने भएको छ। वैशाख ३१ गतेदेखि जेठ ३ गतेसम्म साधारण शेयरमा आवेदन दिन सकिने कम्पनीले जनाएको छ। कम्पनीले ८ करोड ४० लाख बराबरको ८ लाख ४० हजार कित्ता साधारण शेयर बिक्री गर्न लागेको हो। उक्त कम्पनीको शेयर बिक्री प्रबन्धकमा एनआइबीएलएस क्यापिटल लिमिटेड रहेको छ।

    रैराङ जलविद्युत् आयोजनाले धादिङको रैराङ खोलामा जलविद्युत् आयोजना सञ्चालनमा ल्याइसकेको छ भने इवाखोला जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

    -नेपाल समाचारपत्र