जलाशययुक्त नलसिंहगाड जापानले अघि बढाउने भयोः उर्जा मन्त्रालय

2013

काठमाडौं । जाजरकोटस्थित ४१७ मेगावाटको नलसिंहगाड जलविद्युत परिआयोजना अघि बढ्ने भएको छ । जापानको अन्तर्राष्ट्रिय सहयोग संस्था (जाइका)को निम्तोमा जापान गएका ऊर्जामन्त्री वर्षमान पुन र जापानी विकास नियोग (जाइका)का कार्यकारी उपाध्यक्ष काजुहीको कोशिकावाबीच बिहीवार भएको भेटवार्तामा उक्त परियोजनालाई अघि बढाउने विषयमा सहमति भएको उर्जा मन्त्रालयले बताएको हो ।

मन्त्री पुनले उक्त परियोजनालाई अघि बढाउने विषयमा बुधवार जापानका संसदीय, परराष्ट्र, उपमन्त्री नोरुहिरो नाकायामा, कृषि, वन तथा मत्स्यपालन राज्यमन्त्री योसिताका ईता र जापान संसदीय मैत्री समूहका अध्यक्ष तथा लिबरल डेमोक्राटिक पार्टीका महामन्त्री तोसिहिरो निकाइसँग छलफल गरेको थिए । भेटवार्तामा उर्जामन्त्रालयका सहसचिव तोया अधिकारी, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत सहभागी थिए ।

मन्त्री पुनले जाइकाले पीपीपी मोडेलमा उक्त आयोजना अघि बढाउने गरी प्रस्ताव गरेको जानकारी दिए । उनकाअनुसार परियोजनालाई जाइकाले उच्च प्राथमिकतामा राखेको छ ।पुन भन्छन्, ‘जाइकासँगको छलफल अत्यन्तै सकरात्मक भएको छ, डीपीआरको अध्ययनलगत्तै परियोजनालाई अघि बढाउने गरी पहल थाल्ने प्रतिवद्धता जनाएकाले पनि चाँडै यसले मूर्त रुप पाउनेमा म आशावादी छु ।’

साथै छलफलमा जाइकाका उपाध्यक्ष कोशिकावाले नेपालको उर्जा क्षेत्रमा थप लगानी गर्ने प्रतिवद्धता समेत जनाएको मन्त्री पुनको सचिवालयले जनाएको छ । भेटमा मन्त्री पुनले नेपालमा हाल पाँच वर्षको लागी स्थायी सरकार रहेको दोहोर्याउँदै लगानीका लागी आग्रह गरेका थिए ।

नेपालमा जलविद्युतको बजार समेत सुरक्षित रहेको र नाफा समेत सजिलै लिन सकिने अवस्था सरकारले बनाएको दावी गर्दै उनले कुलेखानी जलाशययुक्त आयोजना र कन्काई सिंचाइ आयोजनामा जापानले गरेको सहयोगप्रति धन्यवाद दिए ।

नेपालले आगामी १० वर्षमा नेपालले १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको र उत्पादित विजुली बेच्नका लागि भारत र बंगलादेशसँग सम्झौता भइसकेको जानकारी दिँदै पुनले उत्पादित विजुलीको लागी आन्तरिक र बाह्य बजार बनाउन सरकार सक्षम रहेको दावी गरे ।

मन्त्री पुनले जापानी लगानीकर्तालाई नेपालमा लगानी गर्न समेत आग्रह गरे । चार दिने जापान भ्रमणमा रहेका मन्त्री पुनले २५ भन्दा बढी कम्पनीका प्रतिनिधि सहभागी अन्तरक्रिया कार्यक्रममा नेपालको जलविद्युत क्षेत्रमा लगानीको लागी सरकारले उपयुक्त वातावरण बनाएको भन्दै नेपालमा लगानी गर्न आग्रह गरे । उनले जापानी लगानीकर्तालाई नेपाली लगानीकर्तासरह सुविधा दिने घोषणा समेत गरे । उनहाले भने, ‘तपाईंहरुले नेपालमा लगानी गर्नुभयो भने हामीले नेपाली लगानीकर्तासरह नै सुविधा दिन्छौं । उत्पादित विजुली पनि हामीले नै खरिद गर्छौ, बजारको पनि चिन्ता नगर्नुहोस् ।’

मन्त्री पुनले उत्पादकले चाहेमा छिमेकी देशमा बेच्ने वातावरण समेत बनाइदिने प्रतिबद्धता जनाए । अन्तरक्रियामा जापानमा जलविद्युतको क्षेत्रमा काम गरिरहेका तोसिबा, कान्साई, टोकियो ईलेक्ट्रोनिक्स, न्युजेक ईलेक्ट्रोनिक्सलगायत कम्पनी सहभागी थिए । कार्यक्रमको संयोजन जाइकाले गरेको थियो ।

स्रोत : कर्पोरेट नेपाल