बल्ल बन्यो चमेलिया

    1175

    दार्चुला–निर्माण सुरु भएको १० वर्षपछि चमेलियाको विद्युत् राष्ट्रिय प्रसारणमा जोड्ने तयारी भएको छ । दार्चुलाको शैल्य शिखर नगरपालिका–१, बलाँचमा निर्माण गरिएको ३० मेगावाट क्षमताको जलविद्युत्् आयोजनाले एक दशकपछि विद्युत् उत्पादन सुरु गर्ने तयारी थालेको हो । गत हप्ता परीक्षण उत्पादन गरिएको थियो । एक महिनाभित्र नियमित रुपमा विद्युत्् प्रवाह गरिने आयोजनाले जनाएको छ ।

    पछिल्लोपटक तोकिएको समयअगावै आयोजना सम्पन्न गर्ने लक्ष्य राखे पनि मुहानमा केही समस्या आएकाले केही दिन ढिला भएको आयोजनाका अधिकारीहरुले बताए । डिसेम्बरभित्र बजारमा विद्युत्् पठाउने गरी काम गरिए पनि मुहानको हेडवक्र्समा बर्खामा क्षति पुगेकाले मर्मतको काम हुँदा केही दिन ढिला भएको आयोजनाले जनाएको छ । मंगलबार वेभ टेस्ट गर्ने कार्य .तालिका भए पनि मर्मत कार्य भइरहेकाले डेढ हप्तापछि मात्र वेभ टेस्ट गरिने आयोजना प्रमुख अजयकुमार दाहालले बताए ।

    आर्थिक वर्ष ०६३÷६४ मा निर्माण सुरु भएको चमेलिया ०६८ सालमा सम्पन्न गर्ने तालिका भए पनि करिब ६ वर्षपछि पूरा भएको छ । ठेकेदारसँगको असमझदारी, सुरुङमा देखिएको समस्या, भौगालिक विकटता, प्रसारण लाइनको समस्या आदि कारणले अयोजना निर्माणमा ढिला भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । करिब आठ अर्ब ५० करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको उक्त आयोजनामा करिब १५ अर्ब ५० करोड रुपैयाँ खर्च भएको छ ।

    दार्चुलाको बलाँचदेखि कैलालीको अत्तरिया सबस्टेसन जोड्ने १३२ केभी प्रसारण लाइनमा गत हप्ता विद्युत्् प्रभाह गरी परीक्षण सुरु गरिएको आयोजना प्रमुख दाहालले बताए । सन् ०१७ डिसेम्बरभित्र निर्माण सम्पन्न हुने लक्ष्यसहित आयोजनाले बलाँच–अत्तरिया एक सय ३१ किलोमिटर लामो १३२ केभी प्रसारण लाइनमा उत्पादित विद्युत् परीक्षण गरेको छ । आयोजनाको सिभिलतर्फको काम सन् २००७ र इलेक्ट्रोमेकानिल, हाइड्रोमेकानिकल तथा प्रसारण लाइनको काम सन् २००९ को मेमा सुरु गरिएको थियो ।

    तत्काल सिंगल सर्किटबाट चमेलियाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने आयोजना प्रमुख दाहालले जानकारी दिए । जनवरीदेखि चलेलियाबाट उत्पादित बिजुली बजारमा पुग्ने आयोजना प्रमुख दाहालको भनाइ छ । आयोजनाका लागि निर्माण गरिएको प्रसारण लाइन डबल सर्किट बनेपछि चमेलिया, पश्चिम सेती जलाधार क्षेत्रमा निर्माणाधीन अन्य साना–ठूला जलविद्युत्् आयोजनाबाट उत्पादित बिजुली पनि राष्ट्रिय प्रसारण लाइनमा जोड्न सहज हुने उनले बताए ।

    सिभिलतर्फ चिनियाँ कम्पनी चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसन (सिजिजिसी) ले काम गरेको थियो भने इलेक्ट्रोमेकानिल, हाइड्रोमेकानिकल तथा प्रसारण लाइनको काम कोरियन कम्पनी कोरिया हाइड्रो एन्ड न्युक्लियर पावर कम्पनीले गरेको आयोजनाले जनाएको छ । चमेलिया नेपाल सरकारको पूर्ण लगानीमा निर्माण भएको जलविद्युत् आयोजना हो । एक सय ३१ किलोमिटर लामो  बलाँच–अत्तरिया प्रसारण लाइनमा चार सय १२ वटा टावर छन् ।

    लामो समयपछि विद्युत्् उत्पादन सुरु हुँदा स्थानीय हर्षित भएका छन् । आयोजना निर्माणपछि विद्युत्् सुविधा नपाएका ग्रामीण बस्तीसम्म बिजुली पुग्ने भन्दै स्थानीय खुसी भएको डिलाशैनी गाउँपालिका–३, रुद्रेश्वरका सोवानसिंह बोहराले बताए ।

    स्रोत:नागरिक