‘सौर्य र वायु ऊर्जाभन्दा जलविद्युत् विश्वसनीय’

    1115

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा सौर्य र वायु ऊर्जाभन्दा जलविद्युत् धेरै गुणस्तरीय र विश्वसनीय रहेको बताएका छन् । सोलार र वायु ऊर्जाको सुरुवाती खर्च कम भए पनि जलविद्युत् दीर्घकालीन रूपमा धेरै सस्तो रहेको उनको दाबी छ । ‘अधिक माग भएको समयमा धेरै विद्युत् चाहिँदा सोलारले लोड व्यवस्थापन गर्न मुस्किल हुन्छ, बायोमासमा पनि समयमा हावा चलेन भने विद्युत् उत्पादन हुन नसक्ने तथा डिजेल प्लान्टबाट विद्युत् उत्पादन गर्दा सुचारु गरेको ३ घन्टापछि मात्र उत्पादन गर्छ,’ उनले भने । उनका अनुसार भरपर्दो माध्यम जलविद्युत्बाट मात्र नेपालको विकास र समृद्धि सम्भव छ । निरन्तरको प्रयासले नेपालमा लोडसेडिङ हटाउन सम्भव भएको भन्दै उनले विद्युत्को माग र आपूर्तिको व्यवस्था सन्तुलित पार्न धेरै कसरत गर्नुपरेको बताए । ‘यसअघि लोडसेडिङ दैनिक व्यवहारजस्तै थियो,’ घिसिङले भने, ‘अहिले जनताले नै लोडसेडिङ हटाउन आफ्नो व्यवहार परिवर्तन गरेका छन् ।’

    राजधानीमा बारबरा फाउन्डेसनले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रमका वक्ताहरूले देशको औद्योगिकीकरण विकास गर्न जलविद्युत् निकै प्रभावकारी रहेको बताए । नेपालमा अथाह जलसम्पदा रहेको भन्दै यसबाट उत्पादन हुने जलविद्युत् सबैभन्दा उच्च गुणस्तरको हुने विज्ञहरूको भनाइ छ । छलफलमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्द पोखरेल, सदस्य डा. अरविन्दकुमार मिश्र र त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागकी प्राध्यापक डा. कुसुम शाक्यले धारणा राखेका थिए ।

    नेपाललाई विद्युत्को ब्याट्रीका रूपमा विकास गर्न सकिन्छ
    नेपालमा रहेको जल ऊर्जालाई चीन तथा भारतको बीचमा जलविद्युत् ब्याट्रीका रूपमा विकास गर्न सकिने घिसिङले बताएका छन् । युरोपका सबै देशमा विद्युत्को समग्र स्रोतलाई एकै ग्रिडमा समाहित गरेजस्तै भविष्यमा भारत तथा चीनमा अभाव हुने विद्युत्लाई नेपालको ऊर्जाले लाइफलाइन दिन सकिने उनले बताए । भारत तथा चीन धेरै प्राकृतिक तेलमा धनी देश नभएकाले ठूलो मात्रामा कच्चा तेलको आयात गरिरहेका छन् । उनीहरू नवीकरणीय ऊर्जाको क्षेत्रमा जाँदै गर्दा नेपालको विद्युत् अत्यावश्यक हुने र त्यसको आपूर्ति नेपालले गर्न सक्ने उनको भनाइ छ ।

    ‘ऊर्जाको विश्वसनीयतामा ध्यान दिनुपर्छ’
    नेपालमा ऊर्जा क्षेत्रको विकास केही मात्रामा सकारात्मक भए पनि विश्वसनीयता कम रहेको सरोकारवालाले बताएका छन् । लोडसेडिङ कम भयो, तर बिजुलीसँग प्रत्यक्ष जोडिएको प्रसारणलाइनको स्तरोन्नति हुन नसक्दा बिजुलीको विश्वसनीतामाथि प्रश्न उब्जिएको राष्ट्रिय योजना आयोगका सदस्य अरविन्दकुमार मिश्रले बताए । लोडसेडिङको अन्त्यसँगै विद्युत्को गुणस्तरीयता र विश्वसनीयतामा जोड दिनुपर्ने बताउँदै उनले अबको प्राथमिकता प्रसारणलाइनको स्तरोन्नतिमा हुनुपर्ने बताए ।

    सोलारको पिपिए तोकिएको दरमा मात्र
    विद्युत् प्राधिकरणले ‘इनर्जी मिक्स’को अवधारणालाई साकार पार्न सोलार ऊर्जालाई थप प्रवद्र्धन गर्ने तयारी गरेको बताएको छ । निजी क्षेत्रले चाहेजस्तो सोलारको पिपिए गर्न नसकिने प्राधिकरणले स्पष्ट पारेको छ । निजी क्षेत्रका सोलार प्रवद्र्धकहरूले ९ रुपैयाँ ६१ पैसामा विद्युत् खरिद गर्न दबाब दिइरहेको भन्दै घिसिङले ७ रुपैयाँ ५० पैसाभन्दा धेरैमा पिपिए गर्न नसकिने बताएका हुन् ।

    इनर्जी बैंकिङमा जोड
    नेपालको विद्युत् परनिर्भरतालाई कम गर्न भारतसँगको इनर्जी बैंकिङ अवधारणालाई कार्यान्वयन गर्नुपर्ने छलफलमा सहभागीहरूले बताएका छन् । नेपालमा वर्षायाममा विद्युत् खेर जाने र हिउँदमा कम हुँदा लोड व्यवस्थापन गर्न समस्या हुने अवस्था छ । यस्तो समयमा धेरै भएको विद्युत् भारतलाई दिएर हिउँदमा पुनः भारतबाटै विद्युत् ल्याउन सकिने मिश्रले बताए । नेपालमा जुन अवस्था हुन्छ, त्यसको ठीक उल्टो भारतमा हिउँदमा विद्युत् धेरै उत्पादन हुने र वर्षामा कम हुने कारण यस्तो उपायले नेपालको दीर्घकालीन लोड व्यवस्थापन गर्न निकै सहज हुनेछ । तर, यस्तो योजना अल्पकालीन रूपमा मात्रै लागू गरिने कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

    स्रोत:नयाँपत्रीका