इलाम । गोदक र राँगापानीमा निर्माणाधीन ८ मेगावाट क्षमताको हिमाल दोलखा हाइड्रोपावर (क्यास्केड) निर्माण अन्तिम चरणमा पुगेको छ । उक्त जलविद्युत् आयोजनाबाट पुस दोस्रो साताभित्रमा विद्युत् उत्पादन गर्ने तयारी भइरहेको प्रबन्ध निर्देशक रूपमणि राजभण्डारीले जानकारी दिएका छन् । ४ वर्षअगाडि निर्माण शुरू भएको आयोजनाको ४ किलोमिटर क्यानल निर्माण सम्पन्न भइसकेको प्राविधिक उपेन्द्रकुमार चौधरीले बताए ।
इलाम राजदुवालीछेउ टप्पुमा इण्टेकमार्फत उक्त क्यानलमा पानी लगाएर राँगापानीमा बनेको विद्युत्गृहमा पुर्याउने तयारी छ । चौधरीले फोरवे र विद्युत्गृहको बीचमा २ सय मिटर पेनस्टक पाइप जडान भइसकेको बताए । उनले ६३ मिटरमात्र हेड भएकाले हिउँदमा माइखोलामा प्रशस्तै पानी भएर पनि कम विद्युत् उत्पादन हुने बताए ।
विद्युत्गृहमा मेशिनहरूको जडान गर्ने कार्य अन्तिम चरणमा पुगिसकेको छ । उनले बी एफ एल कम्पनीका २ टर्वाइनमार्फत विद्युत् उत्पादन हुने जानकारी दिए । उत्पादित विद्युत्लाई काबेली कोरिडोरअन्तर्गत गोदक सवस्टेशनमार्फत राष्ट्रिय प्रसारणमा जोड्ने तयारी भइरहेको छ । आयोजनाका जनसम्पर्क अधिकृत नरेन्द्र क्षत्रीले विद्युत्गृहमा ट्रान्सफर्मरसहितको स्वीचयार्ड जडान सकिएको र करीब ४ किलोमिटर ३३ केभी प्रसारण लाइनसमेत आधा टाग्ने कार्य सम्पन्न भएको बताए । उनले १० दिनभित्रमा गोदक सबस्टेशनसम्म प्रसारण लाइन टाग्ने कार्य पूरा हुनेसमेत जानकारी दिए ।
रू. १ अर्ब २० करोडको लागतमा निर्माण भएको यो जलविद्युत् आयोजना हिमाल दोलखा हाइड्रोपावर कम्पनीद्वारा प्रवर्द्धन गरिएको हो । कम्पनीले यसअघि इलामको राजदुवाली टापुमा ६ दशमलव १ मेगावाट क्षमताको आयोजना निर्माण सम्पन्न गरिसकेको छ । उक्त आयोजनाबाट निस्किएको पानीसमेतलाई सदुपयोग गरी क्यास्केडमा विद्युत् उत्पादन हुने बताइएको छ । आयोजनामा मुख्य रूपमा एभरेष्ट बैङ्क र एसबीआई, एनआईबीएन बैङ्कले लगानी गरेका छन् ।
कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणका लागि शेयर विक्रीका लागि प्रक्रिया अगाडि बढाएको राजभण्डारीले जानकारी दिए । उनले सबै प्रक्रिया पूरा गरेर शेयर निष्काशनका लागि थप १ वर्ष लाग्ने बताए । हिमाल दोलखा क्यास्केड आयोजना निर्माणसँगै इलामको माइखोलामा मात्र हालसम्म ६ ओटा जलविद्युत् आयोजना निर्माण भइसकेका छन् । अपरमाइ २ ओटा, सानीमामाई २ ओटा र हिमाल दोलखा २ ओटासहित ६ ओटा आयोजना माइखोलाको पानीले सञ्चालन हुनेछ । माइमा अन्य २ जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् ।
स्रोत: अभियान