सौर्य ऊर्जाको पीपीए गर्न प्राधिकरणलाई दबाब

    1159

    काठमाडौं (अस) । सौर्य ऊर्जा उत्पादकहरूले विद्युत् खरीद सम्झौता (पीपीए) गर्न नेपाल विद्युत् प्राधिकरणलाई दबाब दिएका छन् । ‘ग्रीड कनेक्टेड सौर्य फोटोभेल्टिक परियोजना निर्माताहरूको संस्था’ले सौर्य ऊर्जा उत्पादनका लागि सबै प्रक्रिया पूरा भए पनि प्राधिकरणले सोलारको पीपीए नगरेको बताएका हुन् ।

    संस्थाले बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरी ३ महीनादेखि प्राधिकरणले पीपीएका लागि प्रस्ताव गरिएका फाइलहरू रोकेर राखेको आरोप लगाएको छ । ६१ मेगावाट (मेवा) क्षमताको सोलार विद्युत् उत्पादनका लागि विभिन्न ९ कम्पनीहरूका २१ परियोजनाले गत कात्तिक ४ गते पीपीए मस्यौदामा हस्ताक्षर गरेका थिए ।

    कार्यक्रममा संस्थाका संयोजक गुरूप्रसाद न्यौपानेले सोलार विद्युत् उत्पादनका लागि पीपीए नहुँदा सरकारको लक्ष्य नै हासिल हुन नसक्ने दाबी गरे । ‘प्राधिकरणले फाइल रोकिराख्दा लगानी जोखीममा परेको छ, यसले गर्दा पनि प्राधिकरणको ठोस निर्णय तत्काल आउनुपर्छ,’ उनले भने, ‘प्राधिकरणले पीपीए नगरे फागुन २१ गते प्रधानमन्त्रीलाई जानकारी गराउने र त्यसपछि प्राधिकरणमा धर्ना बस्ने हाम्रो कार्यक्रम छ ।’

    न्यौपानेले सोलार आयोजनाबाट विद्युत् खरीद गर्दा प्राधिकरणले ठूलो घाटा बेहोर्नु पर्ने भनी व्यक्त धारणा तर्कसङ्गत नभएको दाबी गरे । उक्त संस्थाले हालसम्म सोलार परियोजनामा प्रतिमेगावाट रू. ५० लाख खर्च गरिसकेको बताएको छ । यस्तै, राष्ट्रिय योजना आयोगले पनि सोलार विद्युत्लाई प्राथमिकतामा राखेको भन्दै संस्थाले भन्यो, ‘आयोगले स्थानीय तहमा ऊर्जाको पहुँचमा चाहिने ६ सय ९४ मेवामध्ये ४ सय ८१ मेवा सोलारबाट उत्पादन गर्नुपर्ने योजना अघि सारेको छ ।’

    न्यौपानेले १० महीनामा ६१ मेवा विद्युत् सोलारबाट उत्पादन हुने बताए । संस्थाले सोलार विद्युत्मा पीपीए भएमा प्राधिकरणलाई घाटा नभई २५ प्रतिशत नाफा हुने उल्लेख गरेको छ । सोलार विद्युत् उत्पादनका लागि बोलपत्रमार्फत रिडी हाइड्रो पावर डे. कम्पनी लि., अपी हाइड्रोमेकानिकल लि., अपी पावर कम्पनी लि., कान्तिपुर इनर्जी इन्भेष्टमेण्ट एण्ड कन्ष्ट्रक्शन, ग्लोबल इनर्जी एण्ड कन्ष्ट्रक्शन प्रा.लि., एशियन टेक कर्पाेरेशन, सगरमाथा इनर्जी इन्भेष्टमेण्ट एण्ड कन्ष्ट्रक्शन, क्लिन कम्युनिकेशन प्रालि र गोर्खा कञ्जिनियल इनर्जी एण्ड इन्भेष्टमेण्ट प्रालि छनोट भएका छन् । बोलपत्रबाट प्रतियुनिट न्यूनतम ८ रुपैयाँ ३५ पैसादेखि अधिकतम ९ रुपैयाँ ४५ पैसा सोलारको विद्युत् खरीद हुने तय गरिएको छ ।

    स्रोत:अभियान