HIDCL to issue share within Poush

    1173

    जलविद्युत लगानी कम्पनीको सेयर पुसाभित्रै

    HIDCL2काठमाडौं- जलविद्युत लगानी तथा विकास कम्पनीले आउँदो पुसभित्र दुई अर्ब रुपैयाँ बराबरको दुई करोड कित्ता साधारण सेयर जारी गर्ने तयारी गरेको छ। चालू आर्थिक वर्षभित्र २० अर्ब रुपैयाँ पुँजी पुर्‍याउने लक्ष्यसाथ सेयर जारीको प्रक्रिया सुरु गरेको हो।
     कम्पनीले सेयर जारीपूर्व गर्नुपर्ने लेखापरीक्षणको काम सकेर बिक्री प्रबन्धक नियुक्तिको प्रक्रियासमेत सुरु गरेको छ। कात्तिक २ गते वार्षिक साधारण सभा गर्ने टुंगो लागेको जानकारी दिँदै कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक रौनियरले पुसभित्रै सेयर जारी गरिसक्ने बताए।
    ‘सेयर जारी गर्न साधारण सभा गर्नु जरुरी छ, यसपछि धितोपत्र बोर्डबाट वासलात प्रमाणित हुनुपर्छ,’ रौनियरले बुधबार नागरिकसँग भने, ‘सार्वजनिक संस्थानमध्ये लेखापरीक्षण समयअगावै सक्ने कम्पनी पहिलो हो, यही रफ्तारमा सेयर जारी गर्न हामीले काम गरिरहेका छौं।’
    कम्पनीको चुक्ता पुँजी करिब आठ अर्ब रुपैयाँ छ। उक्त रकमको २० प्रतिशत सर्वसाधारणका लागि छुट्याइएको छ। धितोपत्र बोर्डले भने वित्तीय संस्थाले जस्तै सर्वसाधारणका लागि छुट्याइने सेयरको हिस्सा चुक्ता पुँजीको ३० प्रतिशत हुनुपर्ने निर्देशन दिएको थियो। तर, मन्त्रिपरिषदले नै जलविद्युत कम्पनीले २० प्रतिशतमात्रै जारी गरे पुग्ने निर्णय गरेपछि प्रक्रिया अगाडि बढेको हो।
    ‘बोर्डले लामो समयदेखि ३० प्रतिशत सेयर जारी गर्न निर्देश गर्दै आए पनि मन्त्रिपरिषदले २० प्रतिशत जारी गरे पुग्ने निर्णय गरेपछि विवाद टुंगिएको छ,’ रौनियरले थपे, ‘सेयर जारी गर्न मन्त्रिपरिषदको निर्णयसमेत बोर्डमा पेस गरिएको छ। कम्पनीको कुल पुँजी भने हालसम्म करिब नौ अर्ब रुपैयाँ पुगिसकेको छ।
    कम्पनीमा सरकार, कर्मचारी सञ्चय कोष, राष्ट्रिय बिमा संस्थान र नागरिक लगानी कोषले आठ अर्ब रुपैयाँ लगानी छ। यसमध्ये सरकारले सबैभन्दा बढी पाँच अर्ब र अन्य संस्थाले एक/एक अर्ब रुपैयाँ लगानी गरेका छन्। कम्पनीले आव २०६९/०७० मा करिब ४२ करोड र गत आवमा करिब ४३ करोड ३४ लाख रुपैयाँ बैंकमा निक्षेप जम्मा गरी ब्याज आम्दानी (नाफा) गरेको छ।
    गत वर्षको नाफाबाट कम्पनीले सेयरधनीलाई पाँच प्रतिशत अर्थात दुई करोड १५ लाख रुपैयाँ नगद लाभांश दिने निर्णयसमेत गरेको छ। कम्पनी चालु आवभित्र २० अर्ब रुपैयाँ पुँजी पुर्यााउन साधारण सेयर जारी गर्ने र एसियाली विकास बैंक (एडिबी) बाट करिब पाँच अर्ब रुपैयाँ सहुलियत ऋण लिएर वासलातमा २० रुपैयाँ पुर्यांउने लक्ष्य रहेको जनाइएको छ।
    विश्व बैंकले ३७ दशमलव ६ मेगावाटको काबेली ‘ए’मा उपलब्ध गराउने करिब चार अर्ब रुपैयाँ सहुलियत ऋण सरकारले कम्पनीमार्फत लगानी गर्ने छ। उक्त रकम उपलब्ध भएपछि वासलातमा २० अर्ब रुपैयाँ पुग्ने रौनियारले बताए। उनका अनुसार एडिबीबाट कम्पनीले प्राप्त गर्ने सहुलियत ऋणबारे अर्थ मन्त्रालयमार्फत कुरा भइरहेको छ। उक्त ऋण २० वर्षका लागि हुनेछ।
    लक्षित पुँजी पुगेपछि आफ्नै अगुवाइमा तीन सय मेगावाटसम्मको जलाशय आयोजना बनाउने कम्पनीको योजना छ। हालसम्म ४२ मेगावाटको मिस्ट्रीखोला, २७ मेगावाट दोर्दीखोला, साढे २३ मेगावाट सोलुखोला र ३० मेगावाटको खानीखोलामा दुई अर्ब १० करोड रुपैयाँ लगानी गर्ने सम्झौता भइसकेको छ।
    यसैगरी, २१.६ मेगावाट हेवाखोला, २५ मेगावाट काबेली १, ८२ मेगावाट तल्लो सोलु, २० मेगावाट स्मल वागमति, ३० मेगावाट न्यादीखोला र १८ मेगावाट माथिल्लो सोलुखोलामा लगानी गर्न सम्झौताको तयारी भइरहेको कम्पनीले जानकारी दिएको छ।
    कम्पनीले नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिई जलविद्युत आयोजनामा प्रत्यक्ष वा कुनै बैंक तथा वित्तीय संस्थामार्फत अप्रत्यक्ष ऋण प्रवाह गर्न सक्छ। साथै स्वदेशी संगठित संस्थाबाट कम्तीमा एक करोड रुपैयाँका दरले पाँच वर्ष वा सोभन्दा बढी अवधिका लागि ऋणपत्र, बन्ड वा डिभेन्चर जारी गरी दीर्घकालीन स्रोत परिचालन गर्न पाउने व्यवस्थासमेत छ।