६ महिना पछि धकेलियो माथिल्लो तामाकोसी

    1580

    काठमाडौं । स्वदेशी लगानीमा निर्माणाधीन राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको निर्माण ६ महिना पछि धकेलिएको छ । तालिका अनुसार काम भएमा आयोजनाको ७६ मेगावाट विजुली (पहिलो युनिट) अर्को वर्षको पुस (डिसेम्बर २०१८)मा मात्रै उत्पादन हुने छ । ०७२को वैशाखको भुकम्प, भारतीय नाकाबन्दी र बाढीपहिरोले निर्माण प्रभावित भएपछि गत पुसमा ४५६ मेगावाटमध्ये पहिलो युनिट (७६ मेगावाट)को विजुली ३१ असार ०७५बाट सुरु गर्ने संसोधित समय तालिका तय गरिएको थियो ।
    आयोजनाका सबै ६ वटा युनिट (४५६ मेगावाट)बाट मंसिर ०७५बाट विजुली उत्पादन सुरु हुने गरी संसोधित तालिका बनाइएको थियो । तर, अब त्यस अवधिमा पहिलो युनिट मात्रै सञ्चालनमा आउने आयोजनाले जनाएको छ । आयोजनाको ८.५ किलोमिटर
    मुख्य सुरुङ खन्ने काम आइतबार सकिएको (ब्रेक थु्र) भएता पनि अन्य धेरैकाम बाँकी छ । आयोजनाका समग्र भौतिक प्रगति ९२ प्रतिशत छ ।
    ब्रेक थु्र कार्यक्रममा आयोजना स्थल पुगेका ऊर्जा सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवं माथिल्लो तामाकोसी हाइड्रोपावर कम्पनीका अध्यक्ष कुलमान घिसिङ, कम्पनीका सञ्चालकहरु लगायतले आयोजना, निर्माण सुररिवेक्षण परामर्शदाता र मुख्य लटका ठेकेदारहरुसँग छलफल गरेका थिए ।
    ‘पहिलो युनिटबाट अर्को वर्षको पुसबाट मात्रै विजुली उत्पादन गर्न सकिने ठेकेदारहरुले बताइरहेका छन्’, सचिव उपाध्यायले भने,‘सबै पक्ष बसेर पहिलो युनिटबाट ०७५को असारबाट विजुली उत्पादन गर्ने संसोधित तालिका तय गरिएको
    हो, यसै अनुसार काम हुनु पर्छ ।’


    निर्माणमा आइपर्ने समस्या समाधान गर्न सचिव बनेर ऊर्जा मन्त्रालयमा आएपछि एक वर्षकोबीचमा उपाध्याय दुई पटक आयोजनास्थलको स्थलगत निरीक्षणमा गइसकेका छन् । कार्यकारी निर्देशक घिसिङ एक वर्षको अवधिमा पाँचपल्ट आयोजनास्थल
    पुगेर निर्माणमा आइपरेका समस्या समाधान गरेका छन् । उनले निर्माणमा आइपरेका समस्या समाधान गर्न आयोजनास्थलमै सञ्चालक समिति बैठक समेत राखेका थिए । ‘राष्ट्रिय गौरबको आयोजना जुनसुकै अवस्थामा संसोधित तालिका अनुसार
    बन्नु पर्छ’,घिसिङले भने ।
    बाँध, मुहान (इन्टेक), बालुवा थिग्र्याउने पोखरी (डिस्यान्डर)मा गेट, पेन स्टक पाइपलगायतको हाइड्रोमेकानिकलको डिजाइन, परीक्षण र कमिसनिङको काम गर्ने कम्पनीका कारण निर्माण प्रभावित हुने देखिएको छ । यसको ठेकेदार भारतीय कम्पनी टेक्स्म्याको रेल एन्ड इन्जिनियरिङ हो । आयोजनाले धेरै तौल भएका उपकरण आयोजना स्थलसम्म पुऱ्याउनका लागि सिन्धुपाल्चोको सुनकासी नदीमा वैकल्पिक पुल बनाइरहेको छ ।