अप्पर नौगाड निर्माणको अन्तिम चरणमा

    1264

     नेपालको जलविद्युत् उत्पादनको इतिहासमा एउटा पायनियर कम्पनीको रुपमा स्थापित अपि पावरले निर्माण गरिरहेको अप्पर नौगाड जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ ।

    आयोजनाका कार्यकारी सञ्चालक सञ्जिव न्यौपानेका अनुसार आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको र केही समयभित्रै निर्माण सम्पन्न हुने छ ।

    कुल ८ मेगावाट क्षमताको उक्तआयोजना स्थल हाल संचालनमा रहेको नौगड गाढ आयोजनाभन्दा ७ किलोमिटर माथि सोहि नदिमा रहेको छ ।

    अपिपावर कम्पनी लिमिटेडले निर्माण गरेको यो दोस्रो आयोजना हो । यो आयोजना निर्माण सुरु गर्ने १७ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य कम्पनीले लिएको थियो ।

    सोही लक्ष्यअनुसार कार्य भईरहेको कम्पनीका कार्यकारी संचालक संजिव न्यौपानेले बताए ।

    आयोजनाबाट उत्पादित विद्युत चमेलिया जलविद्युत आयोजनाबाट निर्माण भईसकेको बलाँच सवस्टेशनमा जडान गरिनेछ ।

     नेपाल विद्युत प्राधिकरणबाट निर्माण भएको १३२ केभी क्षमताको अत्तरिया देखि बलाँच सम्मको प्रसारण  लाइन समेत यसै महिना चार्ज हुने भएकोले अपि पावरका दुवै आयोजनाहरु १३२ के.भि मार्फत प्रवाह भई कम्पनीको आम्दानी समेत बढ्ने विश्वास कम्पनीले लिएको छ ।

    कुल ८ मेगावाट क्षमताको उक्त अप्पर नौगड गाढ आयोजना २०७४ साल चैत्र मसान्त सम्म सकिने समेत कम्पनीले जनाएको छ ।

    कम्पनीले नेपालमा पहिलो पल्ट लाइभ ग्रिड कनेक्टेड सोलार आयोजनाहरु निर्माण गर्न आवश्यक कार्यहरु समेत शुरु गरिसकेको छ ।

    कम्पनीले ६ महिनाभित्र नेपालका विभिन्न सवस्टेशनहरुमा जडान गर्ने गरि १८ मे.वा को यस्ता सोलार आयोजनाहरु समेत चालु आव भित्र ल्याउँदैछ ।

    कम्पनीको यि सोलार आयोजनाहरुको विद्युत खरिद बिक्री सम्झौता आउने हप्ता सम्पन्न गरि लामो समय प्रतिक्षामा रहेको हकप्रद स्वीकृत गर्ने कार्यमा लाग्ने समेत कम्पनीले जनाएको छ ।

    कम्पनीले ४० मेगावाट क्षमताको माथिल्लो चमेलियाको विस्तृत अध्ययन प्रतिवेदन(डिपिआर)  सकि विद्युत् खरिद बिक्रीको लागि नेपाल विद्युत प्राधिकरणमा आवेदन दिने क्रममा रहेको समेत न्यौपानेले बताए ।

    स्रोत -अर्थ संसार,