एक महिनामै काठमाडौंको फोहोरबाट बिजुली निकाल्ने

    1188

    २७ असोज काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंमा फोहरबाट बिजुली निकाल्ने प्रविधि जडानको काम अन्तिम चरणमा पुर्‍याएको छ । अबको एक महिनाभित्र काठमाडौंमा फोहोरबाट बिजुली उत्पादन हुने पक्क्का पक्का भएको छ ।

    यद्यपि यो सानो र नमूना प्लान्ट हो । यसले काठमाडौंका सबै जैविक फोहोरलाई बिजुलीमा भने परिवर्तन गर्ने छैन । तर, फोहोरको व्यवस्थापनका लागि यस्तो प्लान्ट स्थापना गर्न यसले प्रोत्साहित गर्ने विश्वास गरिएको छ ।

    ग्यास फर्मेशन सफल

    नमूना परियोजनाका रुपमा स्थापना हुने बिजुली निकाल्ने प्लान्ट जडानको काम लगभग सकिएको छ । भारतबाट बिजुली निकाल्ने मेसिन किनेर ल्याए लगत्तै त्यसमा जैविक फोहोर हालिएको छ ।

    त्यसबाट ‘ग्यास फर्मेसशन’को काममा सफलता मिलेको महानगरका प्रमुख कार्यकारी रुद्रसिंह तामाङले बताए ।

    ‘प्लान्टमा जम्मा भएको ग्यास बलेको छ । यसले अब प्लान्टले योजनाअनुसार प्रतिफल दिन्छ भन्न विश्वास मिलेको छ’ तामाङले भने ।

    तामाङ नेतृत्वको टोलीले फोहरबाट बिजुली निकाल्ने मेसिनको भारतमै पुगेर अवलोकन गरेर फर्किएपछि परियोजना अघि बढेको थियो । विद्युत प्लान्ट भित्र्याउन राज एन्ड रिवाज नेपलीज वेस्ट कम्पनीले भित्र्याएको छ ।

    भारतको इनिर्जी बीन नामक कम्पनीले निर्माण गरेको प्लान्टबाट बिजुली निकाल्ने तयारी छ । यो मेसिनको वारेन्टी ३ वर्षको छ ।

    ‘अहिले बिजुली निकल्न लागिएको मेसिन ठूलो आकार  र क्षमताको हैन । यो समान्य डेमो जस्तै हो’ प्रमुख कार्यकारी तामाङले भने-‘तर, फोहरबाट बिजुली निकाल्ने र जैविक फोहरको व्यवस्थापन गर्ने सवालमा यसले नेपालका यसको परीक्षण गर्नेछ । त्यसैले यो निकै महत्वपूर्ण छ । ‘

    कसरी निकालिन्छ बिजुली ?

    यसबाट बिजुली निकाल्न कुहिनेखालका जैविक फोहरमात्रै प्रयोग गरिनेछ । काठमाडौंको टेकुस्थित फोहर स्टेशनमा जडान हुने मेसिनले फोहरबाट पहिलो चरणमा बायो-ग्यास उत्पादन सुरु भएको छ ।

    यही ग्यासबाट प्राप्त हुने शक्तिलेे बिजुलीको जेनेरेटर अर्थात टर्वाइनलाई चलाइनेछ । अहिले जेनेरेटर जडानको काम भने बााकी छ । अब जोडिने टर्वाइन चलेपछि प्लान्टबाट दैनिक १४ देखि २० किलोवाटसम्म बिजुली निकाल्न सकिने अनुमान छ ।

    फोहरबाट उत्पादन हुने बिजुली टेकुको सडकबत्ती र महानगरको कार्यालयमा उपयोग गर्ने महानगरको योजना छ ।  परियोजनाका लागि १ करोड ८२ लाख रुपैयाा खर्च हुने प्रमुख कार्यकारी तामाङले बताए ।

    परियोजना अन्तरगत दैनिक तीन टन जैविक फोहर प्रशोधन गरेर बिजुली निकालिने छ । छानिएको जैविक फोहरलाई सुरुमा मेसिनले धुलो बनाउनेछ । त्यसपछि फोहरलाई प्लान्टमा कुहाइनेछ ।

    कुहिएको फोहोरबाट बायो-ग्यास निकालेर त्यसबाटै बिजुलीको उत्पादन गरिने छ । महानगरपालिकाले युरोपियन युनियनको सहयोगमा यो परियोजना नमूनाका रुपमा सञ्चालन गर्न लागेको हो ।

    बिजुली निकाल्ने फोहोरका लागि महानगरका तोकिएका वडामा सर्वसाधरणको घरमै जैविक फोहर वर्गीकरण गर्न लागिएको छ । त्यही फोहर बिजुली प्लान्टमा प्रयोग गरिनेछ ।

    राजधानीमा दैनिक जम्मा हुने फोहरमध्ये झण्डै ६५ देखि ७० प्रतिशत कुहिने खालका हुन्छन् । फोहरका लागि वाषिर्क करोडौं रुपैयाा खर्च गर्ने गरेको महानगरले यो परियोजना सफल भए सबै जैविक फोहरबाट बिजुली निकाल्न प्रयोग गर्ने योजना बनाएको छ ।

    यो परियोजनाबाट बिजुली निकाल्न सके देशभरका नगरपालिकाले यसलाई पछ्याउन सक्ने अधिकारीहरु बताउँछन् ।

     प्रकाशित : अनलाइनखबर