दरौँदी ‘ए’मा परीक्षण उत्पादन सुरु, गोरखामा बिजुली नजाने

    1175

    गोरखा: गोरखाको मुच्चोकमा निर्माण पुरा भएको ६ मेगावाटको दरौँदी ‘ए’ जलविद्युत आयोजनाले परीक्षण उत्पादन शुरु गरेको छ।

    परीक्षण चरणमा सफलतापूर्वक विजुली उत्पादन भइरहेकाले यसको सफल परीक्षणपछि उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणलाई बेचिने भएको छ  ।

    एक अर्ब १० करोड रुपैयाँमा निर्माण भएको यो आयोजनाबाट ठेकेदार कम्पनीले परीक्षण उत्पादन गरिरहेको छ । परीक्षण उत्पादन सफल भएपछि यो आयोजना दरौँदी कालिका हाइड्रोपावरलाई हस्तान्तरण गरिने तयारी थालिएको छ ।

    रन अफ दि रिभर प्रणालीमा आधारित यस आयोजनाको बिजुली गोरखा सदरमुकाम गोरखा बजारस्थित नेपाल विद्युत प्राधिकरणको सब-स्टेसनबाट केन्द्रीय प्रसारण लाइनमा जोडिएसँगै गोरखा लोडसेडिङ मुक्त हुने भएको छ ।

    अघिल्लो वर्षको भारतीय नाकाबन्दी र भूकम्पका कारण यो आयोजना निर्माण पुरा हुन एक वर्ष ढिलाई भएको थियो । दुबै कारण यसको लागत पनि बढ्न पुगेको  कालिका हाइड्रोपावरका प्रबन्धक विष्णु पन्तले जानकारी दिए ।

    दरौँदी ए को बिजुली गोरखा बजारस्थित हरमटारीमा रहेको प्राधिकरणको सब-स्टेसनमा जोडेसँगै गोरखामा लोडसेडिङ नहुने बताइएको छ ।

    गोरखालाई लोडसेडिङमुक्त बनाउन हरमटारी सब-स्टेसनको क्षमता बढाउन लागिएको छ । प्राधिकरणको गोरखा वितरण केन्द्रले ३ एमभीए क्षमताको सब-स्टेसनलाई ८ एमभीए क्षमताको बनाउन शुरु गरिएको जनाएको छ ।

    स्रोत : कारोबार