चमेलियाको निर्माण सकिन अझै एक वर्ष

    986

    काठमाडौं, २८ असोज
    ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाको निर्माण सकिन अझै एक वर्ष लाग्ने भएको छ । नेपाल विद्युत् प्राधिकरण, आयोजना, ठेकेदार कम्पनीहरू र परामर्शदाताले प्रतिबद्धताअनुसार काम गरेमा चमेलियाको निर्माण ०७४ पुसको दोस्रो साता (डिसेम्बर ०१७) सकिएर विद्युत् उत्पादन सुरु हुनेछ ।

    प्राधिकरण, ठेकेदार कम्पनीहरू र परामर्शदाताले आयोजनाबीच निर्माण सन् २०१७ को डिसेम्बरभित्र सक्ने सम्झौता भएको आयोजना प्रमुख अजयकुमार दाहालले बताए । ‘सिभिलतर्फको निर्माण ०७४ असोजको दोस्रो साता सकिन्छ, इलेक्ट्रोमेकानिकलका उपकरण जडान गर्न करिब ७० दिन लाग्छ, त्यसपछि परीक्षणलगायतका काम सम्पन्न गरेर उत्पादन सुरु गर्न पुस पुग्ने देखिएको छ,’ उनले भने, ‘सबै पक्ष बसेर नयाँ तालिका बनाएर ऊर्जा मन्त्रालयमा पठाइसकेका छौँ ।’

    प्राधिकरण, ठेकेदार र परामर्शदाताबीच ६ असोजमा साँघुरिएको सुरुङ खुलाउन असोजको दोस्रो साताबाट सुरु गर्ने ८ बुँदे प्रतिबद्धतापत्रमा हस्ताक्षर भएको थियो । खनिसकिएको सुरुङमध्ये कमजोर भूबनोटका कारण ८ सय ४३ मिटर खुम्चिएको थियो । त्यसमध्ये ६ सय १५ मिटर खुलाइएको छ । २ सय २८ मिटर खुलाउन बाँकी छ । सिभिलको निर्माण समयावधिलाई घटाउने प्रयास भइरहेको आयोजना प्रमुख दाहालले बताए ।

    नेपाल सरकार र प्राधिकरणको खर्चमा चमेलियाको बाँध, सुरुङ, विद्युत्गृहलगायतका सिभिल संरचनाको निर्माण भइरहेको छ । यसको ठेकेदार चाइना गेजुवा ग्रुप अफ कम्पनिज (सिजिजिसी) र परामर्शदाता साह सिल्ट हुन् ।

    यसैगरी, कोरियन एक्जिम बैंकको सहुलियत ऋणमा आयोजनाको प्रसारण लाइन, इलेक्ट्रोमेकानिकल र हाक्ट्रोमेकानिकलको काम भइरहेको छ । यसको ठेकेदार कोरियन कम्पनी केएचएनपी हो । सिभिल संरचना निर्माण प्रभावित हुँदा यसको असर मुख्य गरी इलेक्ट्रोमेकानिकल र हाक्ट्रोमेकानिकलमा परेको छ ।

    लागत पुनर्मूल्यांकन गर्न समिति
    प्राधिकरण सञ्चालक समितिले साँघुरिएको सुरुङ खुलाउन यसअघि भएको १ अर्ब ९ करोड ३८ लाख रुपैयाँ (भ्याटसहित) लागतको पुनर्मूल्यांकन गर्न समिति गठन गरेको छ । ‘समिति गठन गर्ने निर्णय भएको छ, तर त्यसमा रहने व्यक्तिको तय भएको छैन,’ आयोजना प्रमुख दाहालले भने, ‘यसलाई छिटै टुंग्याउँछौँ ।’ लागत स्वीकृतिमा चलनचल्तीभन्दा बढी दर दिएर अनियमितता भएको ठहर गर्दै संसद्को सार्वजनिक लेखा समितिले भुक्तानी रोक्न निर्देशन दिएको थियो ।

    लेखा समितिको निर्देशनपछि प्राधिकरणले भुक्तानी रोकेको थियो । भुक्तानी नपाएको भन्दै ठेकेदार सिजिजिसीले खुम्चिएको सुरुङ खुलाउने काम दुई वर्षदेखि रोकेको थियो । लेखा समितिले पछि पुनर्मूल्यांकन गराएर भुक्तानी दिन निर्देशन दिएको थियो । ‘परामर्शदातालाई पुनर्मूल्यांकन गर्न दियौँ, तर उसले पुरानै लागतलाई नै पठायो,’ दाहालले भने, ‘अब स्वतन्त्र विज्ञ समूहमार्फत पुनर्मूल्यांकन गराउन लागिएको हो ।’

    स्रोत : नयाँ पत्रिका