जलविद्युत् कम्पनी प्रोफाइल : दिव्येश्वरी हाइड्रोपावर कम्पनी

    1872

    काठमाडौं । दिव्येश्वरी हाइड्रोपावर कम्पनीको स्थापना २०६३ माघ २५ गते भएको हो । यसलाई २०६९ कात्तिक ३ गते पब्लिक कम्पनीमा रूपान्तरण गरिएको हो । परित्यक्त अवस्थामा देशमा उपलब्ध जलस्रोतको उपयोग गरी विद्युत् उत्पादन गर्नु यस कम्पनीको आधारभूत उद्देश्य रहेको छ ।

    यस कम्पनीले पूर्वाञ्चल विकासक्षेत्रको सङ्खुवासभा जिल्लाको  तत्कालीन धुपु र स्याबुन गाविसमा पर्ने सभाखोलाबाट ४ मेगावाटको सभाखोला हाइड्रोइलेक्ट्रिक परियोजना निर्माण गरिरहेको छ । यो  कम्पनीको आफ्नो पहिलो परियोजना हो ।

    यसको हेडवक्र्स साइट धुपु खोला र सभा खोलाको सङ्गमको ९ सय मिटर तल धुपु गाविसको ३ नम्बर वडामा पर्दछ । त्यसको अर्को साइडमा स्याबुन गाविसको ओक्टेन पर्दछ । आयोजनाको पावरहाउस धुपु गाविस–२ को कटहरे नजिक सभाखोलाको दाहिने किनारामा निर्माण भएको छ ।

    यो एक नदी प्रवाही (रन अफ रिभर) परियोजनाका रूपमा विकास गरिएको हो । शुरुआतमा कम्पनीले २०६८ फागुन १७ गते नेपाल विद्युत् प्राधिकरणसँग ३ दशमलव ३ मेगावाट विद्युत् उत्पादन गरी विद्युत् विक्रीको सम्झौता (पीपीए) गरेको थियो । पछि क्षमता वृद्धि गरी ४ मेगावाट विद्युत् उत्पादन गरी विक्री गर्ने सम्झौता २०७० मङ्सिर १९ मा गरेको हो ।

    ऊर्जा मन्त्रालयबाट यस आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन (आईईई) २०६८ पुस ४ गते स्वीकृत भएको हो । त्यसैगरी, मन्त्रालयबाटै परिपूरक आईईई २०७१ पुस २९ गते स्वीकृत भएको हो । कम्पनीले विद्युत् उत्पादन अनुमतिपत्र २०७१ फागुन २६ गते प्राप्त गरेको हो । यस आयोजनाले वार्षिक खुद २१ दशमलव ७८ गिगावाट आवर ऊर्जा उत्पादन गर्नेछ । त्यसैगरी, सुक्खा मौसममा २ दशमलव ९८ गिगावाट आवर र वर्षायाममा १८ दशमलव ८ गिगावाट आवर उत्पादन गर्ने कम्पनीले बताएको छ ।

    आयोजनाबाट व्यापारिक रूपमा सन् २०१६ जुलाईबाटै विद्युत् उत्पादन शुरू भइसक्नु पर्ने थियो । तर भूकम्प, नाकाबन्दी, बाटोको समस्या, प्रसारण लाइनको लम्बाइ बढाउनु परेका जस्ता कारणहरूले गर्दा एक वर्ष ढिलाइ हुन गएको छ । आयोजनाको लगभग सबैजसो काम सकिएको कम्पनी स्रोतले बताएको छ । ‘केही हाइड्रोमेकानिकल सामान अपुग भएकाले आयोजना शुरू हुन सकिरहेको छैन,’ स्रोतले भन्यो, ‘चीनबाट उक्त सामानहरू आएपछि एक महीनाभित्रमा आयोजना  सम्पन्न हुनेछ ।’ बृहत् जनसहभागिताका आधारमा निकट भविष्यमा थुप्रै परियोजनाहरू निर्माण गर्ने यस कम्पनीको
    योजना छ ।

    प्रसारण लाइनको काम
    सभाखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् सङ्खुवासभाको तिरतिरेस्थित नेपाल विद्युत् प्राधिकरणद्वारा निर्मित सबस्टेशनमा जोडिनेछ । आयोजनादेखि १८ किलोमिटर दूरीमा रहेको उक्त सबस्टेशनसम्म विद्युत् ल्याउन आयोजना स्वयम्ले ३३ केभीको प्रसारण लाइन निर्माणको काम सम्पन्न गरेको छ । सबस्टेशनभित्र आयोजनाले गर्नुपर्ने ग्रीड कनेक्शनको काम बाँकी रहेको छ ।

    दिव्येश्वरीको आर्थिक तथा शेयर बजारको अवस्था
    यस आयोजनाका लागि वित्तीय व्यवस्थापनको नेतृत्व नेपाल बैङ्क लिमिटेडले लिएको छ । यसका साथै अन्य बैङ्कहरूमा एनआईडीसी डेभलपमेण्ट बैङ्क, काष्ठमण्डप डेभलपमेण्ट बैङ्क र एस डेभलपमेण्ट बैङ्क रहेका छन् । आयोजना सम्पन्न हुँदासम्मको खर्च रू. ८५ करोड हुने अनुमान छ । आयोजनामा लगानी ७०ः३० को अनुपातमा ७० प्रतिशत बैङ्क तथा वित्तीय संस्थाले र ३० प्रतिशत स्वपूँजी (ईक्वीटी)बाट व्यवस्थापन गरिनेछ । कम्पनीको अधिकृत पूँजी रू. ५६ करोड, जारी पूँजी रू. २६ करोड ४० लाख र चुक्ता पूँजी रू. १९ करोड ८० लाख रहेको छ । कम्पनीले आईपीओबाट रू. ६ करोड ६० लाख उठाउने छ, जसमध्ये रू. २ करोड ६४ लाख स्थानीयवासीबाट उठाउनेछ । बाँकी रू. ३ करोड ९६ लाख सर्वसाधारणबाट उठाउनेछ । कम्पनीमा ७५ प्रतिशत शेयर भने प्रवद्र्धकको रहेको छ ।

    कम्पनीलाई चालू आवको तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार रू. १ करोड ६७ लाख घाटा भएको छ । गत वर्षको यसै समयको तुलनामा शून्य दशमलव २ गुणा नोक्सान भएको हो । कम्पनीको चुक्तापूँजी भने यो त्रैमासमा १७ दशमलव ६५ प्रतिशतले वृद्धि भई रू. २६ करोड ४० लाख पुगेको छ । गतवर्षको यसै समयमा कम्पनीको चुक्तापूँजी रू. २२ करोड ४४ लाख रहेको थियो । चालू आवमा जगेडा रकम रू. ३ करोड ५९ लाख ऋणात्मक रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक रू. १३ दशमलव ६३ घटेको छ ।

    कम्पनीको आइतवार दिनभरिको शेयर कारोबारमा रू. २ सय २० मूल्यमा शुरू भएको कम्पनीको शेयर मूल्य उच्च पनि रू. २ सय २० नै रहेको छ भने न्यून मूल्य रू. २ सय १६ सम्म तय भई पुनः रू. २ सय २० मा गएर बन्द भएको थियो । यसको मतलब आइतवार कम्पनीको प्रतिशेयर मूल्य रू. २ सय २० रहेको थियो ।

    दुर्गा लामिछाने

    स्रोत:अभियान