जलविद्युत् निर्माणसँगै युवाले पाए रोजगारी

    1880

    बझाङः बझाङको बुंगलमा कालंगा जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । वि.सं २०६५ देखि सम्भाव्यता अध्ययन थालिएको ६५ मेगावाट क्षमताको जलविद्युत् आयोजना निजी क्षेत्रको लगानीमा निर्माण हुन लागेको हो ।

    रोजगारीका लागि विदेशिने युवाले आयोजना निर्माणसँगै योग्यता र दक्षताअनुसारकोे काम पाएका छन् । हाल १५० बढी स्थानीय युवाले आयोजनामा काम गरिरहेका छन् । क्याम्प र सडक निर्माण कार्यमा ६ सय बढी स्थानीयले दैनिक ज्यालादारीमा काम गरिरहेको कालंगा हाइड्रो प्रालिका संस्थापक वीरेन्द्र मल्लले बताए ।

    कालंगागाड जलविद्युत् योजना सुरु भएसँगै यहाँका बासिन्दाले गाउँमै रोजगारी पाएका हुन् । कुनै बेला रोजगारीका लागि ज्याला मजदुरी गर्न भारतको धार्चुला, पिथौरागढ, मुन्सारी जाने युवा अहिले विभिन्न व्यवसाय गरेर गाँउमै मनग्य कमाउँदै आएका छन् ।

    जलविद्युत् आयोजनाको काम सुरु भएपछि स्थानीय उत्पादनको माग पनि बढदै गएको छ । दुई वर्षसम्म भारतमा मजदुरी गरेपछि घर फर्किएर तरकारी खेती सुरु गरेका बिजगडाका प्रमोद कुँवर अहिले महिनाको ३० देखि ४० हजारसम्म कमाइ गरेका छन् ।

    बुंगलको बिजगडा, सैन्सु दहबगरलगायतका क्षेत्रमा अहिले १५० भन्दा बढी स्थानीयले व्यावसायिक तरकारी खेती, कुखुरापालन, बंगुरपालनलगायतको व्यवसाय सुरु गरेका छन् ।  पहिला बजार नपाइने र पाए पनि सस्तोमा बेच्नुपर्ने स्थानीयस्तरमा उत्पादित वस्तुहरूले अहिले भनेजस्तो मूल्य पाएको दहबगरका कलक धामीले बताए ।

    पहिला बजार डुलाएर सस्तोमा घिउ बेच्नुपथ्र्यो अहिले आयोजनाका मान्छे घरमै आएर किन्ने र भनेको मूल्य दिने गरेको धामीले बताए । उक्त क्षेत्रमा उत्पादित दाल, घिउ, आलु तथा पशुजन्य वस्तुले बजार पाएपछि स्थानीयवासी व्यवसायी बन्न थालेका छन् ।

    विद्युत्को काम सुरु भएसँगै बुंगल क्षेत्रका स्थानीयले चिया, पोल्ट्री फर्म, मासु पसल खोलेर राम्रो आम्दानी गरिरहेको र भारत जानेको संख्या घटदै गएको दहबगरकै आनन्द धामीले बताए । आयोजनामा काम गर्नेको संख्या बढेसँगै आवतजावत बढेपछि होटल तथा किराना पसल पनि बढ्दै गएको धामीले बताए ।

    झण्डै १० अर्ब रुपैयाँकोे लागत अनुमान गरिएको आयोजनाको चार ठाउँबाट सुरुङ निमार्ण कार्य सुरु भएको छ । ३८.४६ मेगावाटको अपरकालंगा, १५.३३ मेगावाटको खिरातडी र १०.०७ मेगावाट क्षमताको सानीगाड जलविद्युत् आयोजना निर्माण हुन लागेको हो ।

    यी तीन आयोजनाबाट करिब ६५ मेगावाट विद्युत् उत्पादन हुनेछ । सन २०२० भित्र आयोजना सम्पन्न गर्ने आयोजनाको लक्ष्य रहेको कालंगा जलविद्युत् आयोजनाका प्रमुख उमेश श्रेष्ठको भनाइ छ । जलविद्युत् आयोजना निर्माणका लागि बंैकको ७५, स्थानीयका लागि १० र १५ प्रतिशत व्यापारीको लगानी रहने छ ।

    स्रोत:कारोबार