आँधीखोला जलविद्युत्को टुंगो अझै लागेन

    1688

    पुस २७, २०७३- आँधीखोला उच्च बाँध जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया सर्वेक्षणमा मात्रै सीमित भएको छ । आयोजनाको सर्वेक्षण गरिएको ७ वर्ष भइसक्दा पनि निर्माणको टुंगो लागेको छैन । निबुवाखर्क र श्रीकृष्ण गण्डकीको बीचमा बाँध निर्माण गरी आँधीखोलाको पानी जम्मापछि जलाशय बनाउने योजना बन्ने/नबन्ने निश्चित नभएको हो ।

    तत्कालीन सर्वेक्षणका प्राविधिकले आँधीखोलाको पानी कालीगण्डकीमा नमिसाई १ सय ८० मेगावाट विद्युत् निकाल्न सकिने जनाएका थिए । सर्भे ०६६ सालमा गरिएको योजनाको हालसम्म काम सुरु भएको छैन । ‘कहिले बन्छ भन्न सकिँदैन तर सर्भे फेरि गर्न यो वर्ष पनि रकम छुट्याइएको छ,’ सांसद कमलप्रसाद पंगेनीले भने, ‘फेरि कहिले सर्भे गर्ने भन्ने मिति नै टुंगो लागेको छैन ।’

    पूर्वऊर्जामन्त्री राधा ज्ञवालीले आँधीखोला उच्च बाँधमा चिनियाँ जेजुवा कम्पनीलाई काम गर्न दिन खोजेकी थिइन् । दलहरू र स्थानीयबाट विरोध भएपछि सर्भेपछि काम अघि नबढेको उनले बताए । ‘संसद्, जलस्रोत समिति र कृषिमा पनि विरोध उठेपछि यो योजना यतिकै रहेको हो,’ उनले भने, ‘यो योजना साधारणतया सस्तोमध्येमा पर्छ ।’

    प्रस्तावित योजनाका लागि २६ किमि प्रवेश मार्ग पहिल्यै बनिसकेको छ । यस आयोजनाले कालीगण्डकी ‘ए’ कै प्रवेशमार्ग प्रयोग गर्ने हो । ‘राष्ट्रिय प्रसारण लाइन १३२ केभीए बुटवलदेखि पोखरासम्म जोडिइसकेकाले मुआब्जा कम हुन्छ,’ उनले भने, ‘आयोजना बन्नुपर्छ भनेर संसद्मा तीन–तीनपटक कुरा उठ्यो, काम अघि बढेन ।’ सर्भेअनुसार आँधीखोला उच्च बाँधका लागि बनाइने ताल थुमपोखराको झोलुंगे बजारसम्म आउने अनुमान छ ।

    आँधीखोलाबाट बग्ने पानी नहरजस्तो भएकाले बाँध निर्माण गर्दा तल्लो गल्याङ बजार डुबानमा पर्ने जोखिम सर्भेले देखाएको थियो । त्यसका लागि स्थानीयलाई मुआब्जा दिई स्थानान्तरण गर्नुपर्ने सुझाव सर्भे प्रतिवेदनमा छ । स्थानीय लोकेन्द्र थापा भन्छन्, ‘विद्युत् प्राधिकरणले अधिकतम सेयर दिएर जनताकै लगानीबाट योजना सम्पन्न गर्न सकिन्छ ।’

    स्रोत:कान्तिपुर