वर्षमा ६ महिना काम गरेर ४० मेगावाटको आयोजना

    1165

    दोलखाः अर्बौं लगानी गरेर जलविद्युत् आयोजना बनाउन दिन–रात नभनी काम गर्नुपर्छ । आयोजना समयमै सम्पन्न गरेर बैंकको ब्याज तिर्ने तथा लगानीको प्रतिफल समयमै लिने लोभ जो कोहीलाई हुन्छ । तर, दोलखामा एउटा यस्तो आयोजना छ जहाँ वर्षको ६ महिना पनि काम गर्न सकिँदैन ।

    अत्यधिक चिसो र पानीका कारण हिउँद र वर्षामा कामै गर्न नसकिने क्षेत्रमा केही युवा मिलेर ४० मेगावाटको जलविद्युत् आयोजना बनाउँदैछन् । आयोजनाको हालसम्म ८० प्रतिशत काम पूरा भइसकेको छ ।

    मार्बु गाविसको उच्च स्थानमा आयोजनामा निर्माणाधीन छ । आयोजनामा मंसिर लागेपछि सुरुङभित्र बाहेक बाहिरी सतहमा चिसोको कारण काम गर्न सकिँदैन । सुरुङभित्र तापक्रम पुग्ने भएकाले मेसिन जडान लगायतको काम जारी छ ।

    आयोजनाको हेडवर्क्स(बाँध, इन्टेक, पानी थिग्य्राउने पोखरी) को काम गर्ने ठाउँमा मंसिरदेखि मध्यफागुनसम्म बाक्लो तुसारो र हिउँ जम्ने हुनाले काम गर्न सकिँदैन ।

    आयोजनाको काम पाँच वर्षअघि सुरु भएको हो । काम सुरु गर्न आयोजनाको प्रवद्र्धक कम्पनी ग्रिनलाइफ इनर्जी प्रालिले भार्लेदेखि पावर हाउस कोप्लाङसम्म ३० किलोमिटर सडक आफैंले निर्माण गरेको छ । त्यहाँबाट सामान ढुवानीका लागि हेडवर्क्ससम्म रोपवे निर्माण गरेको छ । सरकारले निर्माण गर्न लागेको लादुक र सुरी जोड्ने तामाकोसी नदीमा पुलको काम ढिला भएपछि आफैंले बेलिब्रिज हालेको छ ।

    आयोजनाले तामाकोसीसहित, गुरुम्फी, घट्टेखोला लगायत चार स्थानमा बेलिब्रिज हालेको छ । जसले स्थानीयलाई समेत आवतजावतमा सहज भएको छ । तर सरकारले आयोजनाको काम सुरु हुनुअगावै ठेक्का लगाएको भोर्लेमा तामाकोसीमाथिको पुल र घट्टे खोलाको पुल कहिले पूरा हुने अझै टुंगो समेत छैन ।

    आयोजना मार्बु–९ को खानीखोला र हनबु खोलाको दोभानमा पर्छ । त्यहाँ भूमिगत रूपमा पावर हाउसको काम भइरहेको छ । खानी खोलालाई फर्काएर अढाइ किलोमिटर हेडरेस सुरुङ निर्माण गरी पावर हाउससम्म ल्याइनेछ ।

    आयोजनाको ग्रस हेड ९ सय ९३ मिटर छ । आयोजनाको प्रवर्द्धक ग्रिनलाइफ इनर्जी प्रालिका निर्देशक भुषण थापाले हेडरेस र ठाडो सुरुङको काम पूरा भएको बताए । सिभिलतर्फ हेडवर्क्सको काम केही बाँकी छ । त्यो पनि अब गर्मी सिजन सुरु भएपछि गर्ने जनाइएको छ । अब पावर हाउसमा उपकरण जडान, ठाडो सुरुङमा पेनस्टक पाइप जडान र सबस्टेशनको काम मात्र बाँकी भएको उनले बताए ।

    निर्देशक थापाका अनुसार पहिलो चरणमा खानी खोलाको पानी फर्काएर २५ मेगावाट विद्युत उत्पादन गरिनेछ । दोस्रो चरणमा हनबु खोलाको पानी फर्काएर हेडवर्क्समा खसालेपछि थप १५ मेगावाट थप हुनेछ । तर आयोजनाको हेडवर्क्स, सुरुङ, पावर हाउस सबै ४० मेगावाटकै लागि तयार भएका छन् । आयोजनाको उपकरणहरू ढुवानी समेत भइसकेको उनले जानकारी दिए ।

    “भूकम्प नगएको भए छ महिनाअघि आयोजना पूरा भइसक्थ्यो,” उनले भने, “तर भूकम्प र नाकाबन्दीका कारण डेढ वर्ष काम गर्नै सकिएन, यो वर्षापछि सडक मर्मतपछि काम सुचारु भएको छ ।” अब आयोजना २०७५ असारसम्म पूरा गर्ने लक्ष्य छ ।

    आयोजनाले सडक निर्माणपछि लगत्तै आयोजनाको काम सुरु गरेको हो । हिउँदको चिसोमा हिउँ र तुसारोले काम गर्न सकिँदैन । बर्षा मौसमपछि बाढी र पहिरोले सडकै बगाउने भएकाले काम गर्न सकिँदैन । काम गर्ने मौसम भनेको असोज, कात्तिक, मंसिर मध्यसमम्म र फागुन मध्येदेखि जेठसम्म मात्र हुन्छ ।

    आयोजनामा प्राइम बैंक, नविल, सिटिजन्स लगायत ९ बैंकले ऋण लगानी गरेका छन् । कुल ४ अर्बको अनुमानित लागत रहेको आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत संस्थापकको लगानी रहेको छ ।  आयोजनामा विदेशमा गएर अध्ययन गरेर फर्केका युवा उद्यमीहरू संलग्न छन् । आयोजनाबाट उत्पादित विद्युत् ३९ किलोमिटर लामो प्रसारणलाइन बनाएर सिंगटी सबस्टेशनमा जोडिनेछ । तर, सिंगटी सबस्टेशन बन्न ढिला भएकाले आयोजनाको काम पनि ढिला भएको हो ।

    विद्युत् प्राधिकरणले सिंगटी सबस्टेशन र सिंगटी लामोसाँघु प्रसारण लाइनको काम समयमा नगरेपछि स्थानीय प्रवद्र्धकहरूले भारतीय ठेकेदार कम्पनीसँग समन्वय गरेर आफैं बनाउने तयारी गरेका छन् । ग्रिनलाइफले सडक लगायतका पूर्वाधार तयार गरेपछि त्यसभन्दा तल ३० मेगावाटको खानीखोला, ५ मेगावाटको घट्टेखोला, २५ मेगावाटको खारेखोला, ११ मेगावाटको तल्लो खारेखोला, ७ मेगावाटको सुरीखोला र ७ मेगावाटको माथिल्लो गुरुम्फीखोला आयोजना समेत सुरु भएका छन् ।

    आयोजनाले सडकको नियमित मर्मत पनि आफैं गर्दै आएको छ । आयोजनास्थलसम्म पुगेको सडकले मार्बुको गाउँ–गाउँ नै घुमाएको छ । आयोजनाका सरोकार समिति संयोजक मिङ्गुर शेर्पाले आयोजनाको सडककै कारण सुरी, चंखु, मार्बु र खारे प्रत्यक्ष लाभान्वित भएको बताए । आयोजनाले ग्रामीण सडकका लागि चारवटै गाविसलाई प्रतिगाविस ३५ लाखका दरले सहयोग पनि गरेको छ ।

    स्रोत:कारोबार