अठार मेगावाटको सोलुखोला जलविद्युतमा छ बैंकको लगानी

    1451

    काठमाडौँ: माथिल्लो सोलुखोला जलविद्युत् आयोजनामा एनएमबी बैंकको अगुवाइमा छ बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएका छन् ।

    यहाँ आज आयोजित कार्यक्रममा आयोजनाको प्रवर्द्धक बेनी खोला पावर प्रोजेक्ट र बैंकबीच ऋण सम्झौतामा हस्ताक्षर भयो ।

    सम्झौतामा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेल र प्रवर्द्धककका तर्फबाट प्रोजेक्टका अध्यक्ष पिबी शेर्पाले हस्ताक्षर गरे ।

    कुल १८ मेगावाट क्षमताको सो आयोजनामा एनएमबी बैंकको अगुवाइमा दुई अर्ब २८ करोड लगानी हुने बताइएको छ ।

    आयोजनाको लागत तीन अर्ब २६ करोड रहने छ, जसमा ९८ करोड प्रवर्द्धकको लगानी रहेको छ भने बाँकी रकम बैंक तथा वित्तीय संस्थामार्फत ऋण लिइएको हो ।

    आयोजनामा नेपाल बङ्गलादेश बैंक, सिद्धार्थ डेभलपमेन्ट बैंक, विभोर विकास बैंक र जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले लगानी गरेका छन् ।

    कुल १८ मेगावाट क्षमताको सो आयोजनामा एनएमबी बैंकको अगुवाइमा दुई अर्ब २८ करोड लगानी हुने बताइएको छ ।

    कार्यक्रममा नेपाली कांग्रेसका नेता बलबहादुर केसी, नेकपा एमालेका सचिव योगेश भट्टराई, नेकपा माओवादी केन्दका पोलिटब्युरो सदस्य लक्की शेर्पा, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) का अध्यक्ष शैलेन्द्र गुरागाईंलगायतले शुभकामना व्यक्त गरे ।

    सोलुखुम्बु जिल्लाको बेनी गाविसमा आयोजनास्थल छ । नदी प्रवाहमा आधारित उक्त आयोजनाबाट वार्षिक १२ करोड ८० लाख युनिट विद्युत् उत्पादन हुने छ ।

    आयोजना २०७६ माघ १ गते सम्पन्न गर्ने गरी प्रवर्द्धक र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिदबिक्री सम्झौता सम्पन्न भएको छ ।

    स्रोत:कारोबर दैनिक