बिजुलीका ग्राहकलाई स्मार्ट मिटर

    1572

    नेपाल विद्युत् प्राधिकरणले ग्राहकलाई स्मार्ट मिटर वितरणको प्रकृया अघि बढाएको छ । वितरण प्रणालीमा स्मार्ट ग्रिडसहितको स्वचालित (अटोमेसन) वितरण प्रणालीमा जान लागेको प्राधिकरणले सर्वसाधारणदेखि ठूला ग्राहकसम्मलाई स्मार्ट मिटर दिनेगरी प्रक्रिया अघि बढाएको हो ।

    २०७२ फागुन ६ मा सरकारले ल्याएको ऊर्जा संकट तथा ९९ बुँदे कार्ययोजनामा विद्युत् प्राधिकरणको वितरण प्रणालीलाई स्मार्ट ग्रिड सिष्टममा लैजाने उल्लेख छ । यसको अत्यावश्यक पूर्वाधार मानिएको एकीकृत गर्ने प्रणाली निर्माण गरेर अघि बढेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार पहिला एकोहोरो प्रणालीको रुपमा लिइने अटोमेटिक मिटर रिडिङ (एएमआर) जानेगरी अघि बढेकोमा अहिले भने अझ यसलाई आधुनिकीकरण गर्दै दोहोरो प्रणालीको रुपमा लिइने एडभान्स मिटरिङ इन्फ्रास्ट्रक्चर (एएमआर) प्रणाली तयार भएको छ ।

    टीओडी मिटर र थ्री फेज लिएका ठूला ग्राहकलाई परम्परागत मिटर प्रतिस्थापन गरेर स्मार्ट मिटर दिनका लागि अघि बढेकोे प्राधिकरणले अब आउने नयाँ ग्राहकका लागि भने स्मार्ट मिटर दिने लक्ष्य राखेको छ । प्राधिकरणको ग्राहक तथा वितरण निर्देशानालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेले वितरण प्रणालीलाई सुधार गर्दै स्मार्ट ग्रिड प्रणाली निर्माणका लागि प्रक्रिया अघि बढिसकेको जानकारी दिए । “वितरण प्रणालीलाई आधुनिकीकरण गर्दै स्मार्ट मिटरमा जानका लागि प्रक्रिया अघि बढाएका छौं, स्मार्ट ग्रिडको अवधारणाअनुसार आधुनिक प्रणाली विकास भइसकेकोले अब त्यसलाई कार्यान्वयनको चरणमा छौं,” उनले भने ।

    न्यौपानेका अनुसार एएमआर प्रणालीअन्तर्गत स्मार्ट मिटर जडानसँगै मिटर रिडिङ, चुहावट र सही तथ्यांक नआउने अहिलेको समस्या समाधान भइ प्रत्येक ग्राहकको माग, खपत र आपूर्ति, यसको बिलिङ, मिटर विगार्ने, चुहावट गर्ने लगायतका समस्याबारे सहज रुपमा केन्द्रले जानकारी पाउने र यसको समाधान गर्न सक्नेछ । हाल भने मिटर रिडर तथा विद्युत् प्राधिकरणका कर्मचारीहरूको मिलेमतोमा सही रुपमा मिटर रिडिङ नहुने, अन्दाजमा युनिट गणना गर्ने, स्टक युनिट राख्नेलगायतका समस्या हाल देखिएकोमा स्मार्ट मिटरमा गएसँगै अन्त्य हुनेछ ।

    १५ ग्राहकलाई टीओडी मिटरमा जीपीआरएस जडान गरेको प्राधिकरणले टीओटी मिटर लिएका ८ हजार औद्योगिक ग्राहकलाई जडान गर्ने लक्ष्य राखेको छ । विद्युत् प्राधिकरणको सबस्टेशन र ट्रान्सफर्मर तथा करिब ८ हजार ग्राहकलाई जीपीआरएस मोडियम जडान गर्न लागेको छ । एमआरई प्रणाली निर्माण गरेको भारतीय एनोलो मिक्स गु्रपले १० हजार जीपीआरसँग ठेक्का सम्झौता भइसकेको छ भने दुई हप्ताभित्र दुई हजार मोडियम नेपाल आइपुग्नेछ । नेपाल टेलिकमको सिम राखेर जडान गरिने यो प्रणाली दुई वर्षभित्र सबै उद्योगमा जडान गरिने लक्ष्य प्राधिकरणको छ ।

    प्राधिकरणले थ्री फेज लाइन जडान गरेका ग्राहकको हालको मिटर प्रतिस्थापन गरी स्मार्ट मिटर जडान गर्ने लक्ष्यअनुसार तत्कालका लागि ६० हजार स्मार्ट मिटर खरिदका लागि टेण्डर आह्वान गर्नका लागि प्रक्रिया अघि बढेको छ । त्यसैगरी प्राधिकरणले अब बन्ने नयाँ ग्राहकलाई स्मार्ट मिटर दिनेगरी पहिलो चरणमा ७ लाख खरिद गर्नका लागि प्रकृया अघि बढाएको छ । एसियाली विकास बैंकको सहयोगमा विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशानालयले समेत ९८ हजार स्मार्ट मिटर खरिदको प्रकृया अघि बढाएको छ । “स्मार्ट मिटर ग्राहकका लागि दिने प्रक्रिया अघि बढिसकेको छ, आगामी नयाँ वर्षदेखि पुरानो मिटर नदिएर स्मार्ट मिटर मात्र वितरण गर्ने लक्ष्य छ,” प्राधिकरण ग्राहक तथा वितरण निर्देशानालयका उपकार्यकारी निर्देशक न्यौपाने भन्छन् ।

    प्राधिकरणमा सामुदायिक बिधुतिकरणमार्फत बाहेकका सिंगल फेज लिने ग्राहकको संख्या २७ लाख छ भने थ्री फेज लिने ग्राहकको संख्या १ लाख र टीओडी मिटर जडान गरेका ग्राहकको संख्या ८ हजार छ । एएमआई प्रणालीमा स्मार्ट मिटर जडान गरेपछि मिटर डाटा एकुजिसन (एमडीए), मिटर डाटा म्यानेजमेन्ट सिष्टम (एमडीएमएस) लगायतमार्फत ग्राहकबारे विस्तृत रुपमा जानकारी पाउन सकिनेछ ।

    भिम गौतम

    स्रोत:कारोबार