चीन जलविद्युत् र प्रसारण लाइनमा सहकार्य गर्न उत्सुक

    1209

    चीन नेपालको जलविद्युत् र प्रसारण लाइनमा सहकार्य गर्न उत्सुक रहेको चीनका लागि नेपाली राजदूत लिलामणि पौडेलले जानकारी दिएका छन् ।

    आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा भएको भेटमा राजदूत पौडेलले सो जानकारी दिएका हुन् । नेपाल–चीनबीच विद्युत् विकासका द्विपक्षीय सम्भावनाका परियोजनाको विषयमा भएको छलफलमा नेपाल र चीनबीच अन्तरदेशीय प्रशारणलाइन निर्माण, ऊर्जा विकास समन्वय (इनर्जी को–अपरेसन) लगायतका विषयमा छलफल भएको थियो । मन्त्री पुनले इनर्जी को–अपरेसनमा नेपाल सकारात्मक रहेको भन्दै त्यसका लागि आवश्यक तयारी गर्न राजदूत पौडेललाई आग्रह गर्नुभएको थियो ।

    चीनले पछिल्लो एक दशकमा १ लाख मेगावाट विद्युत् उत्पादन गरेकाले यसबाट नेपालले प्रविधि तथा सीप भित्र्याउन सक्ने राजदूत पौडेलको भनाइ थियो । चीन नेपालमा ३–३ वटा ठूला जलविद्युत् तथा प्रशारणलाइन परियोजना निर्माणमा सहयोग गर्न इच्छुक रहेको पनि पौडेलले अवगत गराएका थिए । जलविद्युत् तथा प्रशारणलाइन आयोजनाको विवरण तयार गरेर पठाउन पनि राजदूत पौडेलले आग्रह गरेका थिए भने मन्त्री पुनले आयोजना छनोटका लागि छलफल चलिरहेको बताएका थिए ।

    नेपाल र चीनबीच गल्छी–रसुवागढी–केरुङ ४ सय केभी अन्तरदेशीय प्रशारणलाइन निर्माण गर्ने सहमति भइसकेको छ । यसबारे नेपाल विद्युत् प्राधिकरणले नेपालतर्फको सम्भाव्यता अध्ययन पनि पूरा गरेको छ ।

    स्रोत: कारोबार