चमेलिया जलविद्युत् आयोजनामा दोब्बर लागत

    1251

    बैतडीः दार्चुलाको बलाँचमा निर्माणाधीन ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् अयोजनको खर्च दोब्बर हुने देखिएको छ । ८ अर्ब ५० करोडको कुल लागत अनुमान गरिएको आयोजनामा हालसम्म मात्रै १२ अर्ब खर्च भइसकेको छ । परियोजना निर्माणको अन्त्यसम्ममा १५ अर्ब ५० करोड खर्च हुने चमेलिया जलविद्युत् परियोजनाका प्रमुख अजय दाहालले बताए ।

    भौगोलिक विकटता, सुरुङ निर्माणपछि खुम्चिनु, आयोजना प्रभावित जिल्लाका लागि निर्माणाधीन स्थलमै सवस्टेसन राख्नुपर्नेलगायतका कारणले खर्च दोब्बर भएको हो । आयोजनाको सुरुङ निर्माणका क्रममा ८ सय ४३ मिटर भाग खुम्चिएको थियो, जसमध्ये अझै ४५ मिटर खोल्न बाँकी छ । खुम्चिएको सुरुङमा मात्रै १ अर्ब रुपैयाँ खर्च भएको छ । अहिलेसम्म ९८ प्रतिशत काम सकिएको आयोजना प्रमुख दाहालले बताए ।

    सिभिलको काममा ५ अर्ब २४ करोड, हाइड्रो इलेक्ट्रो मेकानिकलमा ३ अर्ब ९७ करोड, सव स्टेसन निर्माणमा १४ करोड ८३ लाख, आयोजना प्रभावितलाई मुआब्जा दिनमा १४ करोड ९१ लाख, भवनमा ६ करोड रुपैयाँ खर्च भएको आयोजनाले जनाएको छ ।

    सन् २००७ को जनवरीदेखि सुरु भएको परियोजना २०११ डिसेम्बरमा सक्ने लक्ष राखिएको भए पनि हालसम्म पूरा हुन सकेको छैन । सन् २०१७ डिसेम्बरसम्ममा परियोजनाको काम सम्पन्न हुने आयोजना प्रमुख दाहालको भनाइ छ ।

    परियोजनाको प्रसारणलाइनका लागि टावरहरू निर्माण भइसकेको छ । आयोजना निर्माणस्थलदेखि मुख्य प्रसारण केन्द्र अत्तरियासम्म ४ सय १२ वटा टावर निर्माण भएका छन् ।

    परियोजनाको इन्टेक, टनेल, बाटो र पावरहाउसलगायतका सिभिलको काम चीनको चाइना गेजुवा गु्रप (सिजिजिसी) कम्पनीले गरेको थियो भने टावर निर्माणको काम कोरियन कम्पनी केएचएएफपीले गरेको थियो ।

     स्रोत:कारोबर दैनिक