भारतबाट ल्याउने भनिएको बिजुली घटाइयो, भोलिदेखि थप २५ मेगावाट मात्र ल्याइँदै

    1079

    काठमाडौं । बुधबार मध्यरातदेखि भारतबाट थप २५ मेगावाट बिजुली आयात हुने भएको छ ।ढल्केबर–मुज्जफपुर अन्तरदेशीय प्रसारणलाइनबाट बिजुली थप हुन लागेको हो ।

    ४० मेगावाट विद्युत् आपूर्तिको सम्झौता भए पनि माग घटेको र प्रसारणलाइनमा केही प्राविधिक समस्या देखिएको भन्दै २५ मेगावाट मात्र आयात गर्न लागिएको हो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले

    भारतबाट ल्याउने भनिए जति बिजुली नल्याए पनि लोडसेडिङ नहुने स्पष्ट पारे ।
    उनले यो वर्षका लागि भारतबाट अब बिजुली थप नहुने पनि जानकारी गराए ।

    विद्युत् प्राधिकरण र एनभीभीएन विद्युत् व्यापार कम्पनी लिमिटेडबीच अन्तरदेशीय प्रसारणलाइनबाट थप ८० मेगावाट बिजुली खरिदबिक्रीको सम्झौता (पीपीए) भएको थियो ।

    गत पुस १७ गतेदेखि थप ४०  मेगावाट बिजुली थप भइसकेको छ । यस्तै सम्झौताअनुसार भोलि  १९ गतेदेखि ४० गरी ८० मेगावाट बिजुली आयात गर्ने सहमति भएको थियो ।

    भारतबाट ३५५ मेगावाटसम्म बिजुली आयात भएकोमा २५ मेगावाट थपिएपछि कुल आयात बढेर ३८० मेगावाट पुग्नेछ । गत वर्ष ३४७ मेगावाटसम्म बिजुली आयात भएको थियो ।

    हाल प्रणालीमा अझै ३९९ मेगावाट अपुग छ तर पनि प्राधिकरणको कुशल व्यवस्थापनले गर्दा आधारभूत रुपमा लोडसेडिङ हटेको छ ।

    उपत्यकासहित बाहिरका केही जिल्ला लोडसेडिङमुक्त भइसकेको छ भने अन्य क्षेत्रमा पनि दैनिक औसत २ घण्टा र उद्योगमा ४ घण्टासम्म लोडसेडिङ भइरहेको छ ।

    पोखरालगायत अन्य धेरै क्षेत्र लोडसेडिङमुक्त भइसकेको प्राधिकरणले जनाएको छ । यस्तै वीरगञ्ज करिडोर पनि लोडसेडिङमुक्त हुँदैछ ।

    आधारभूत रुपमा लोडसेडिङ हटेपछि विद्युत् प्राधिकरण व्यवस्थापन चुहावट नियन्त्रणमा आफनो ध्यान केन्द्रित गरेको छ । प्राधिकरणको चुहावट २५ प्रतिशत बढी छ ।

    हाल बिजुलीको माग घटेर १ हजार २६५ मेगावाटमा सीमित भएको छ । आपूर्ति भारतबाट समेत गरी ८६६ मेगावाट भइरहेको छ । भारतबाट मात्रै ३५५ मेगावाट बिजुली आयात भइरहेको छ ।

    विद्युत प्राधिकरणका आयोजनाबाट ३३४ मेगावाट, निजी क्षेत्रबाट १७५ मेगावाट बिजुली आपूर्ति भइरहेको छ । राजधानीमा बिजुलीको माग साँझ (पिक आवर) मा ३२० मेगावाट छ ।

    यो आर्थिक वर्षमा ९७ मेगावाटका ५ ठूला आयोजना सम्पन्न भई प्रणालीमा जोडिएको छ । सबै आयोजना नदीका बहावमा आधारित भएकाले सुख्खामा औसत ४० मेगावाटसम्म बिजुली उत्पादन भइरहेको छ ।

    यो वर्ष १५ आयोजना सम्पन्न भई प्रणालीमा १४२ मेगावाट बिजुली जोडिँदैछ । सरकारले लोडसेडिङ अन्त्य गर्न भारतबाट ५६० मेगावाटसम्म बिजुली आयातको लक्ष्य लिएको थियो ।

    खिम्ती–ढल्केबर २२० केभी र हेटौडा–कुलेखानी –स्युचाटार १३२ केभी प्रसारणलाइन सञ्चालनमा आएपछि माग व्यवस्थापन गर्न विद्युत प्राधिकरणलाई सहज भएको छ ।

    काठमाडौमा बढी भएको बिजुली हेटौडा र त्यहाँ बढी भएको बिजुली राजधानी ल्याउन सहज भएको छ  । यो लाइन सञ्चालन भएपछि राजधानीमा थप बिजली आपूर्ति गर्न र बढि भएको बिजुली बाहिर पठाउन सहज हुनेछ ।

    यस्तै राजधानी जोड्ने खिम्ती–ढल्केबर २२० केभी प्रसारणलाइन पनि सञ्चालनमा आएको छ । प्रसारणलाइन सञ्चालनमा आएपछि तराइका वीरगञ्जलगायत अन्य शहरमा देखिएको भोल्टेजको समस्या समाधान भएको छ ।

    यस्तै कटैया–कुसाह १३२ केभी प्रसारणलाइनमा तार तान्ने काम सम्पन्न भएको छ । यो लाइन पनि छिट्टै सञ्चालनमा आउँदैछ । यस्तै परवानीपुर–रक्सौल १३२ केभी प्रसारणलाइनको काम पनि अन्तिम चरणमा पुगेको छ ।

    स्रोत:बाह्रखरी