नौमुरे जलविद्युत्को निर्माण अलपत्र

    1269

    पुस २७, २०७३- आर्थिक वर्ष ०७२/६३ को बजेट भाषणमा जलुकेस्थित नौमुरे जलविद्युत् आयोजनाको काम थाल्ने भनिए पनि हालसम्म निर्माण सुरु भएको छैन ।

    निर्माण नथाल्दा स्थानीय बासिन्दा निराश भएका छन् । तत्कालीन विद्युत् उपभोक्ता समिति अध्यक्ष पीताम्बर सारूले जलविद्युत् आयोजनाको काम अलपत्र अवस्थामा रहेको बताए । ‘सरकारले बजेट भाषणमा सम्बोधन गरेकाले आयोजना सञ्चालन हुनेबारे आशावादी थियौं,’ जलुके गाविसका पूर्वअध्यक्षसमेत रहेका उनले भने, ‘अझैसम्म कामको सुरसार छैन । सरकारका प्रतिनिधि कहिले आउँछन् भनेर पर्खिरहेका छौं ।’ जलुकेस्थित नौमुरेमा ०४४ मा सरकारले खटाएको विशेषज्ञ टोलीले २४५ मेगावाट विद्युत् निकाल्न सकिने प्रतिवेदन बुझाएको थियो । तीन वर्षसम्म ड्याम निर्माणको काम भयो । चुनावमा उठ्ने उम्मेदवारले जित्नका लागि नारा बनाए, गिरिजाप्रसाददेखि हालसम्मका प्रधानमन्त्री पुष्पकमल दाहाललाई जिल्लावासीले भेटे पनि काम नभएको सारूले बताए ।

    जलुकेमा अझै बिजुली पुगेको छैन । घर नजिकै परियोजना भए पनि गाउँ अँध्यारो छ । पाँच वर्षसम्म ड्यामको काम गरेका समितिका सदस्य जुनबहादुर पुलामीले नेताले सधैं झुलाउने काम गरेको बताए । ‘पञ्चायत सरकारले सुरु गरेको थियो,’ उनले भने, ‘प्रजातन्त्र आएपछि काम रोकियो । सरकारले चासो दिएन ।’ पुष्पकमल दाहाल पहिलोपटक प्रधानमन्त्री भएर भारत भ्रमणमा गएका बेला भारत सरकारले उपहारस्वरूप बनाइदिने आश्वासन दिएको थियो । दाहालको दोस्रो भ्रमणमा नौमुरेको कुरै उठान भएन ।

     स्रोत:कान्तिपुर