काम नगर्ने ठेकेदारप्रति विद्युत प्राधिकरण आक्रामक

    2054
    काठमाडौं ।  रणनीतिक महत्वका प्रसारण लाइनको ठेक्का लिने तर काम नगर्ने प्रवृति बढेपछि नेपाल विद्युत प्राधिकरण ठेकेदारप्रति आक्रामक बनेको छ । कम रकममा ठेक्का लिएर ठेकेदारले काम नगरी दिंदा रणनीतिक महत्वका कयौं प्रसारण लाइनको निर्माण अलपत्र छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ काम नगर्ने ठेकेदारप्रति आक्रामक बनेका हुन् ।
    यस अघि ३२ मेगावाटको राहुघाट जलविद्युतको मुख्य सिभिल संरचनाको ठेकेदार भारतीय कम्पनी आईभीआरसीएलले काम नगरेपछि आयोजना प्रमुख रहेका घिसिङले ठेक्का तोडी कम्पनीले अग्रिम भुत्तानी र कार्यसम्पादन बैक ग्यारेण्टी क्रमश ः ४२ लाख ७५ हजार अमेरिकी डलर र करिव २४ लाख डलर तथा ९ करोड रुपैया“ जफत गरेका थिए ।
    अहिले कार्यकारी निर्देशक रहेका घिसिङ काम नगर्ने ठेकेदारप्रति आक्रामक बनेको प्राधिकरण स्रोतले बतायो ।  काम नगर्ने तर आयोजना मात्रै रोक्ने ठेकेदारको चालवाजीलाई रोक्न प्राधिकरणले दुईवटा ठेक्का तोडिसकेको छ ।
    प्राधिकरणले भरतपुर–बर्दघाट प्रसारण लाइन र ढल्केबर सव स्टेसनको ठेक्का तोडेको हो । प्राधिकरणले दुई ठेक्का तोडी ठेकेदार सेन्ट्रल चाइना पावर ग्रिड (सिसिपिजी)ले राखेको ३०÷३० करोड रुपैयाँ बैक ग्यारेण्टी जफत गरेको हो ।
    भरतपुर–बर्दघाट प्रसारण लाइनको ठेक्का टोडी बैक ग्यारेण्टी जफत गरिएपछि सिसिपिजीले ढल्केबर सव स्टेसनको कामलाई बार्गिनिङको माध्यम बनाएको थियो । सिसिपिजीले दिएको सूचनाकै आधारमा प्राधिकरणले दुइै आयोजनाको ठेक्का टोडेको हो ।
    ‘हेटौडा, ढल्केबर र दुहबी सव स्टेसन निर्माणको ठेक्का लिएको कम्पनीले काम नगर्ने तर सम्झौताभन्दा बाहिरका विभिन्न सर्त राख्न थालेपछि उसैले दिएको नोटिसका आधारमा ठेक्का टोडिएको हो’,प्राधिकरण स्रोतले भन्यो,‘उसँगको पछिल्लो छलफलमा ढल्केबर सव स्टेसनको मात्रै काम गछौं, हेटौडा र दुहवी सव स्टेसनको काम सम्झौताबाट निकाल्नु पर्ने सर्त राख्यो जुन पूरा गर्न असम्भव छ ।’
    यस अघि ऊर्जा मन्त्री महेन्द्र बहादुर शाही, सचिव अनुप कुमार उपाध्याय, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सहितको उच्च स्तरीय टोलीले निर्माण स्थलको स्थलगत निरीक्षण गरी निर्माण सक्न ४ बु“दे निर्णय गराएका थिए । सिसिपिजीले सव स्टेसन निर्माण १७ कात्तिक (३१ अक्टोबर २०१७)भित्र सक्ने प्रतिबद्धता जनाएको थियो । तर, त्यसपछि पनि सिसिपिजीले केही काम नगरेपछि प्राधिकरणले ठेक्का तोडेको हो । सव स्टेसनमा आवश्यक पर्ने सम्पूर्ण उपकरण आइसकेको छ भने अधिकांश जडान पनि भइसकेको छ । तर, सव स्टेसन सञ्चालनका लागि सफ्टवेयरको मुख्य समस्या रहेको आयोजनाले जनाएको छ । सफ्टवेयरलाई  सिसिपिजीले मात्रै सञ्चालनमा ल्याउन सक्छ ।
    सव स्टेसन बनेपछि भारतबाट थप एक सय मेगावाट अन्य स्थानबाटभन्दा सस्तो दरमा ल्याउन सकिन्छ । आयोजनाको मुख्य काम गर्ने ठेकेदार चिनियाँ कम्पनी र परामर्शदाता भारतीय कम्पनी पावर ग्रिडका कारणले पनि काम हुन नसकेको हो । चिनियाँ र भारतीय कम्पनीको इगोले गर्दा पनि काम ढिला भएको आयोजना स्रोतले बतायो ।
    मुलुकको प्रसारण प्रणालीलाई सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत व्यापारका लागि ढल्केबरमा सव स्टेसन निर्माण गर्न लागिएको हो । ढल्केबरमा सव स्टेसन बनाउन नसकेपछि अहिले मुजफ्फपुर बिन्दुमा दुई वटा ट्रान्सफर्मर राखी विजुली आयात भइरहेको छ ।
    प्राधिकरण र कम्पनीबीच १२ जुन २०१४मा १५ महिनाभित्र (२९ डिसेम्बर २०१५) काम सक्ने गरी ठेक्का सम्झौता भएको थियो । तर, ठेकेदार तोकिएको समयका काम गर्न नसकेपछि चार पटकसम्म म्याद थप भइसकेको छ ।