माथिल्लो तामाकोसी प्रसारण लाइनको काम अन्तिम चरणमा

    1379

    चरीकोट : स्वदेशी लगानीमा निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको छ । प्रसारण लाइनका लागि एक सय २० वटा टावर निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए ।

    ४ सय ५६ मेगावाट क्षमताको आयोजना निर्माणस्थल बिगुँ गाउँपालिका वडा नम्बर १ को गोगरबाट खिम्तीसम्म ४७ किलोमिटर दूरीमा रहेको प्रसारण लाइनमा एक सय २७ वटा टावर रहनेछन् । तीमध्ये ९७ वटा टावर ठडिसकेको र अन्यको फाउन्डेसन तयार भइरहेको प्रवक्ता न्यौपानेको भनाइ छ ।

    वर्षात्का कारण केही ढिला भएको प्रसारण लाइन निर्माणको काम यो वषभित्र सकिने आयोजनाले जनाएको छ । २३ वटा टावरको फाउन्डेसन निर्माण भइरहेको र बाँकी सातवटाको पनि काम सुरु हुन लागेको जनाइएको छ । तिहारपछि प्रसारण लाइनको कामले तीव्रता पाउने आयोजनाले जनाएको छ । आयोजनाको काम हालसम्म ९१ प्रतिशत सम्पन्न भएको छ ।

    आयोजनाको सुरुङ खन्ने काम पनि अन्तिम चरणमा पुगेको छ । मंसिरमा सुरुङको काम सक्ने आयोजनाको तयारी छ । कुल ८.२ किलोमिटरको मुख्य सुरुङमध्ये दुई सय ९० मिटर मात्र खन्न बाँकी रहेको न्यौपानेले जानकारी दिए । आगामी असार मसान्तसम्ममा सिभिलतर्फको काम सकेर विद्युत् उत्पादन थाल्ने आयोजनाको लक्ष्य छ ।

    आयोजनाको लागत ३५ अर्ब २९ करोड रुपैयाँ रहे पनि भूकम्प र नाकाबन्दीका कारण ४१ अर्ब ७२ करोड पुग्न सक्ने देखिएको छ । आयोजनाले पुसमा स्थानीय र चैतमा सर्वसाधारणका लागि सेयर निष्काशन गर्ने तयारीसमेत गरेको छ ।

    स्रोत:अन्नपूर्ण पोस्ट