कर्जा नपाउँदा अधिकांश जलविद्युत् आयोजना संकटमा

    1338

    बैंकिङ क्षेत्रमा तरलता अभाव भएको भन्दै बैंक तथा वित्तीय संस्थाले सम्झौताबमोजिम ऋणको पैसा नदिएपछि अधिकांश जलविद्युत् आयोजनामा संकट देखिन थालेको छ । बैंकिङ क्षेत्रमा तरलता अभाव भएको भन्दै बैंक तथा वित्तीय संस्थाले सम्झौताबमोजिम ऋणको पैसा नदिएपछि अधिकांश जलविद्युत् आयोजनामा संकट देखिन थालेको छ । वित्तीय क्षेत्रको निक्षेप–कर्जा अनुपात (सीसीडी रेसियो)मा असर पर्ने कारण देखाउँदै निर्माण सम्पन्न र निर्माणाधीन आयोजनाहरूसँग भएको सम्झौता बमोजिमको ऋण रकम नदिएपछि यस्तो अवस्था सिर्जना भएको हो । ऋणको रकम रोकेपछि निर्माण सम्पन्न ६५ भन्दा बढी आयोजनाका साथै तत्काल निर्माण हुन लागेका १५सहित निर्माणाधीन १ सय ६० आयोजनाहरूलाई आर्थिक रूपमा संकट पर्दै गएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष शैलेन्द्र गुरागाईंले जानकारी दिए ।“राष्ट्र बैक तथा अर्थ मन्त्रालयले समन्वय गरेर खर्च नभएको सरकारको ढुकुटी व्यवस्थापन गर्न नसक्दा बैकले तरलताको कारण देखाउँदै जलविद्युत् आयोजनाहरूको दिनको रकम दिन छोडेका छन्, यसले यस क्षेत्रमा आर्थिक देखिन थालेको छ,” उनले भने, “यसले गर्दा जलविद्युत् क्षेत्रको लागत २५ प्रतिशतभन्दा बढ्ने देखिएको छ ।” उनका अनुसार पछिल्लो समयमा तरलताको कारण ९ प्रतिशतबाट बढेर १३ प्रतिशतसम्म पुगेको ब्याज रकमका कारण १० प्रतिशत साथै समयमै भुक्तानी दिन नसक्दाको कारण परेको चापको कारणले १५ प्रतिशतसम्म लागत समेत बढ्ने देखिएको छ । उनका अनुसार यही करण प्रतिफलको समय पनि पाँच वर्ष बढेको छ  । नेपाल राष्ट्र बैंकले निक्षेप–कर्जा अनुपात ८० र २० प्रतिशत निर्धारण गरेको छ । यही कारण बैकहरूसँग लगानीयोग्य रकम समेत अभाव भएको बैकहरूले बताउँदै आएका छन् । पहिला जलविद्युत् आयोजनाहरूले १०-१५ लाखको ऋण रकम माग गर्दा तत्काल दिनुपर्ने बैकहरूले अहिले यसका लागि अध्ययन गर्नुपर्ने भन्दै ढिलाइ गर्न थालेको जलविद्युत् प्रवद्र्धकहरू बताउँछन् । सबै बैंकहरूमा लगानीयोग्य रकम नभएको हुँदा राष्ट्र बैंकले अर्थ मन्त्रालयसँग समन्वय गरेर खर्च नभएर थन्किएको सरकारी ढुकुटीको रकम एडभान्सको रूपमा दिने गरी व्यवस्था गर्नका लागि पहल गर्नुपर्नेमा दुवै निकायका पदाधिकारीहरूले वेवास्ता गरेर जलविद्युत् आयोजनाहरू समस्यामा परेका तर्क उनीहरूको छ । जलविद्युत्मा बैंकको १ खर्ब ४० अर्ब  रुपैयाँ लगानी छ । जलविद्युत्मा बैंकको १ खर्ब ४० अर्ब  रूपैयाँ लगानी छ । वर्षामा काम नहुने जलविद्युत् आयोजनाहरूमा विशेष गरी दसैं तिहारपछिको ६ महिना बढी काम हुने गरेको छ । तर, यही अवस्थामा रकमको अभावमा काम अघि बढ्न समस्या परेपछि तरलताको कारण एक बर्ष जलविद्युत् आयोजनाको निर्माण कार्य धकेलिने तथा अहिलेको तरलताले जलविद्युत्सँगै पूर्वाधार क्षेत्रहरूमा भोगेको आर्थिक संकटको कारण अर्थतन्त्रमै असर पर्ने अध्यक्ष गुरागाईं बताउँछन् ।

     

    -कारोबार