फोहोरबाट ऊर्जा उत्पादन गर्न सम्भाव्यता अध्ययन

    1142

    फोहोरबाट ऊर्जा उत्पादन गर्न कञ्चनपुरको भीमदत्त नगरमा सम्भाव्यता अध्ययन सुरु गरिएको छ । नगरले वैकिल्पक ऊर्जा प्रवद्र्धन केन्द्रसँगको सहकार्यमा बायोग्यास प्लान्ट बनाउन सम्भाव्यता अध्ययन गर्न लागिएको हो । भीमदत्त नगर र केन्द्रबीच गत वर्ष कुहिने फोहोरबाट ऊर्जा उत्पादनका लागि सम्झौता भएकोे नगर प्रमुख सुरेन्द्र विष्टले बताए ।

    वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको परामर्शदाता कम्पनी सस्टेनेबल रिलायन्सले नगरका वडा नं. ३, ८, ९ र १८ मा केन्द्रका बायोग्यास विशेषज्ञ उत्तम झा नेतृत्वको टोलीले सम्भाव्यता अध्ययन गरेको हो । अवलोकनमा क्रममा चारवटै वडाका स्थानीयसँग बायोग्यास उत्पादनसम्बन्धी सुझाब लिइएको छ । केन्द्रका विशेषज्ञ झाले स्थलगत अवलोकनका क्रममा देखिएका सबै जानकारीका आधारमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिने बताए  ।

    स्थलगत अवलोकनअघि केन्द्रको टोलीले भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टसित पनि छलफल गरेको थियो । टोलीसित छलफलका क्रममा नगर प्रमुख विष्टले ऊर्जा उत्पादनका लागि नगरपालिकाबाट हुने सबै सहयोग गरिने प्रतिबद्धता जनाए ।

    नगरपालिकामा बढ्दो जनसंख्याको चापको अनुपातमा उत्पादन हुने फोहोरबाट आउने चुनौती सम्बोधनका लागि ऊर्जा उत्पादन उपयुक्त विकल्प भएको बताए । ‘जनसंख्याको चाप बढ्दो छ, यसअनुसार फोहोर पनि बढ्दै जान्छ,’ नगर प्रमुख विष्टले भने, ‘त्यस्तो बढ्ने समस्यालाई सम्बोधन गर्न ऊर्जा उत्पादन गर्न लागिएको छ, यसका लागि नगरपालिका केन्द्रलाई पूर्ण रूपमा सहयोग गर्न तयार छ ।’

    भीमदत्त नगरपालिकाको महेन्द्रनगर बजारसहित विभिन्न स्थानबाट दैनिक ५ टनजति फोहोर निस्कने गरेको छ । यसमा ४० प्रतिशत कुहिने फोहोर निस्कने गरेको छ । कुहिने फोहोरमा भान्साको फोहोर, सब्जीमन्डीका तरकारी, फलफूल, कागज, काठका टुक्रालगायतका छन् । भीमदत्त नगरले यो नौलो योजना अघि सारेको हो । टोलीमा सस्टेनेबल इनर्जी एन्ड रेजिलेन्ट आइडियाजका कार्यकारी प्रमुख विकास अधिकारी, इन्जिनियर प्रतापजङ राई सहभागी भएका छन् ।

    मोहन बिष्ट
    स्रोत:नयाँपत्रीका