यसरी बन्दै छ ३ वर्षमा पूरा हुने ३७ मेगावाटको माथिल्लो त्रिशूली जलविद्युत आयोजना

    302

    काठमाडौँ । नुवाकोट र रसुवाका दुई स्थानीय तहमा पर्ने ३७ मेगावाटको माथिल्लो त्रिशूली जलविद्युत आयोजनको वित्तीय व्यवस्थापन एक महिनाभित्र पूरा हुने भएको छ । आयोजना प्रमुख मोहनप्रसाद गौतमका अनुसार आयोजनाका लागि आवश्यक ३० प्रतिशत बजेट जम्मा भइसकेको छ भने बाँकी ७० प्रतिशत ऋण सहयोगको पनि प्रारम्भिक सम्झौता भइसकेको छ । एक महिनाभित्र औपचारिक रूपमा ४ वटा निकायसँग ऋण सम्झौता गरी वित्तीय स्रोत जम्मा पारिने उनको भनाइ छ । नवील बैङ्क, जलविद्युत लगानी तथा विकास कम्पनी, नागरिक लगानी कोष तथा नेपाल बैङ्क लिमिटेड यो आयोजनाका लागि ऋण लगानी गर्न तयार भएका हुन् ।

    कूल ८ अर्ब ९४ करोड नेपाली रुपियाँ लाग्ने अनुमान गरिएको यो आयोजनाको कुल लागतमध्ये ७० प्रतिशत रकम ऋण र ३० प्रतिशत रकम स्वपुँजीका रूपमा राखिएको छ । ३० प्रतिशत रकममा नेपाल विद्युत प्राधिकरणको ३० प्रतिशत, नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको ३० प्रतिशत, नुवाकोट र रसुवा जिल्लाका स्थानीय गाउँपालिका र जिल्ला समन्वय समितिको ५ प्रतिशत, नुवाकोट र रसुवा जिल्लाका स्थानीय वित्तीय संस्थाहरूको ५ प्रतिशत, नुवाकोट र रसुवा जिल्लाका स्थानीय जनता १० प्रतिशत, सर्वसाधारण जनता १५ प्रतिशत र नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमका कर्मचारीहरूको ५ प्रतिशत सेयर रहेको छ ।

    ३ वर्षभित्र अर्थात २०७८ साल फागुन १७ गतेदेखि उत्पादन सुरु गर्ने लक्ष्य लिइएको यो आयोजनाको निर्माण ईपीसी मोडेलमा हँुदैछ । गत माघ २९ मा चिनियाँ ठेकेदार कम्पनी सिचुवान एएनएचई हाइड्रौलिक एन्ड हाइड्रोइलेक्ट्रिक कम्पनीसँग आयोजना निर्माणका लागि सम्झौता भएको थियो । सो कम्पनीसँग १ अरब, ९१ करोड, ४६ लाख १९ हजार ४ सय ७२ नेपाली रुपियाँमा सम्झौता भएको हो । कम्पनीलाई २०७७ साल फागुन २९ गते काम सम्पन्न गर्न अन्तिम समय दिइएको छ ।

    यस्तै परामर्शदाता कम्पनीसँग ११ करोड १ लाख ७३ हजार ८ सय ५९ रुपियाँको सम्झौतासमेत भएको छ ।

    गत फागुन ३० गतेदेखि आयोजनाको काम अघि बढाएको चिनियाँ निर्माण कम्पनीले सर्वेक्षण, भौगोलिक अन्वेषण तथा ड्रिलिङको काम गरिरहेको छ । यस्तै आवास तथा कार्यालय भवन भने नेपाली निर्माण व्यवसायीले १० महिनाअघि नै निर्माण सम्पन्न गरिसकेको आयोजना प्रमुख मोहनप्रसाद गौतमले जानकारी दिए ।

    यस्तै आयोजनाको ४ सय ६३ मिटर लामो टेस्ट अडिट टनेल अर्थात परीक्षण सुरुङ पनि निर्माण सम्पन्न भइसकेको छ । यो सुरुङबाट अब ठेकेदार कम्पनीलाई काम अघि बढाउन सहज हुने गौतमले बताए ।

    रसुवाको उत्तरगया गाउँपालिका र नुवाकोटको किस्पाङ गाउँपालिकामा रहेको यो आयोजना अन्तर्गत ‘रन अफ रिभर’ अर्थात त्रिशूलीको बगिरहेको पानीबाट विद्युत उत्पादन गरिनेछ ।   माथिल्लो त्रिशूली आयोजना ए ६० मेगावाटको हो भने यो आयोजनाको क्षमता ३७ मेगावाट रहेको छ ।

    नेपाल विद्युत प्राधिकरणको नाममा रहेको विद्युत उत्पादन अनुमतिपत्र कम्पनीको नाममा २०७२ जेठ २४ गते नामसारी भएको थियो । आयोजनाको ४ सय ६३ दशमलव ६ मिटर लामो अडिट तथा परीक्षण सुरुङ अडिट १ को निर्माण सम्पन्न भइसकेको छ ।

    यस्तै आयोजनाका लागि अधिग्रहण गरिएका झन्डै ९६ रोपनी जग्गाको मुआब्जा वितरण पनि सम्पन्न गरिएको आयोजना प्रमुख गौतमले जानकारी दिए । २०७१ सालको अन्तिममा परामर्शदाता पनि छानौट गरिसकिएको छ ।

    हालसम्म ठेकेदार कम्पनीले भौगोलिक सर्भे गर्दै काम सुरु गरेको छ भने आयोजनाका लागि कार्यालय तथा आवास भवन बनाइएको छ ।

    नेपाल विद्युत प्राधिकरण समुन्द्रटार त्रिशूली ३ बी हब १३२ के.भी. प्रसारण लाइन आयोजनामार्फत विद्युत प्रसारण लाइन ३ किलोमिटर निर्माण गर्नेबारे नेपाल विद्युत प्राधिकरणबाट ४५ प्रतिशत र कम्पनीबाट ५५ प्रतिशत खर्च बेहोर्ने गरी उक्त आयोजना र त्रिशूली जलविद्युत कम्पनी लिमिटेडबीच २०७१ असोज ३० मा सम्झौता भएको थियो ।

    आयोजनाले मुख्य समस्याका रूपमा गल्छी मैलुङ सडक निर्माण कार्य भइरहेकाले समय सययमा सडक बन्द हुँदा आयोजना निर्माण कार्यमा असर पर्ने आँकलन गरिएको छ । यस्तै ठेकेदार कम्पनीलाई विदेशी मुद्रामा भुक्तानी गर्नुपर्ने भएको नोट सटही, निर्माण कम्पनीले आयोजना स्थलमा प्रयोग गर्ने निर्माण उपकरण, निर्माण सामग्री तथा स्पेयर पार्टस बाहिरी मुलुकबाट ल्याउनुपर्ने हुँदा त्यसका लागि प्रक्रियागत झन्झट हुने गौतमले बताए । यस्तै आयोजना निर्माणका लागि आवश्यक पर्ने विस्फोटक पदार्थ उपलब्ध गराउन पनि प्रशासनिक झन्झट हुने उनले बताए । त्रिशूली जलविद्युत कम्पनी २०६८ वैशाख २९ गते कम्पनी रजिस्टारको कार्यालयमा दर्ता भएको थियो ।

    Source: Ratopati