धमाधम पीपीए गर्दै प्राधिकरण – तीन महिनामा १० लगानीकर्तासँग ४८ मेगावाट विद्युत् खरिद सम्झौता

    1178

    काठमाडौं, २८ असोज – चालू आर्थिक वर्षको तीन महिनामा नेपाल विद्युत् प्राधिकरणले १० लगानीकर्तासँग ४८ मेगावाट विद्युत् खरिद सम्झौता (पीपीए) गरेको छ ।
    साउन, भदौ र असोजमा गरी विद्युत् प्राधिकरणले यी लगानीकर्तासँग पीपीए गरेको हो । प्राधिकरणले पीपीए गरेका आयोजनाहरूमा अपरपिलुवाखोला हाइड्रोपावर कम्पनीको अपरपिलुवाखोला (९.६ मेगावाट),  पशुपति इनर्जी डेभलपमेन्ट कम्पनीको टोङनठोस्ने खोला (४.३ मेगावाट) र  खानीखोला (२ मेगावाट) कुथेलीबुखरी स्मल हाइड्रोपावरको सुस्पाबुखरी (३ सय ५० किलोवाट) रहेको छ ।
    पीपीए भएका अन्य आयोजनाहरूमा दुप्चेश्वर महादेव हाइड्रोको मध्यतादी (५.३ मेगावाट), हिवर्टी हाइड्रोपावर (अपरदोर्दी ए २२ मेगावाट), रिसिकेस हाइड्रोपावर अपरजुम्दी (९ सय ९५ किलोवाट), हाइड्रो इनोभेसनको (तिनाखुखोला ९ सय ९० किलोवाट), काठमाडौं उपत्यका खानेपानी वोर्ड (सोलार ६ सय ८० किलोवाट) र सलाखुखोला हाइड्रोपावरको (सलाखुखोला २.५ मेगावाट) छन् ।
    योसमेत गरी प्राधिकरणले १ सय १४ लगानीकर्तासँग १ हजार ६ सय ३२ मेगावाट विद्युत खरिदको सम्झौता गरेको छ । यी सबै आयोजना आगामी पाँच वर्षमा निर्माण पूरा हुनेछ । गत आर्थिक वर्षमा प्राधिकरणले २३ लगानीकर्तासँग ४ सय ४४ मेगावाट पीपीए गरेको छ ।
    २ सय १० मेगावाट क्षमताका छ विद्युत् आयोजना पीपीएको तयारीमा छन् भने ३ हजार मेगावाट बराबरका आयोजनाले विद्युत् उत्पादनको आवेदन दिएको प्राधिकरणले जनाएको छ । विद्युत् प्राधिकरणले ३ सय किलोवाटदेखि ४ सय ५६ मेगावाटसम्मका आयोजनासँग पीपीए गरेको छ ।
    प्राधिकरणले २५ मेगावाटका आयोजनासंग औसत प्रति युनिट ५ रुपैयाँ ४० पैसा र वार्षिक ३ प्रतिशतका दरले ९ पटकसम्म मूल्यवृद्धि दिँदै आएको छ । २५ मेगावाटभन्दा ठूला आयोजनाका लगानीकर्तासँग आपसी समझदारीका आधारमा पीपीए हुने गरेको छ । आगामी २०७४ मा १ हजार ६ सय ४० मेगावाट विद्युत् चाहिने प्राधिकरणले सार्वजनिक गरेको माग र आपूर्ति प्रतिवेदनले देखाउँछ ।
    हालसम्म पीपीए भएका सबै आयोजना नदीको बहावमा आधारित (रन अफ दि रिभर) प्रकृतिका छन् ।
    प्राधिकरणका अनुसार आगामी पाँच वर्षपछि विद्युत् उत्पादन बढेर २ हजार १ सय ६० मेगावाट पुग्नेछ । अवरोध नआए आगामी सन् २०७४ सम्म विद्युत् प्राधिकरण, प्राधिकरणका सहायक कम्पनी र निजी लगानीबाट निर्माणधीन र निर्माणको चरणमा जाने सबै आयोजना निर्धारित समयमा बन्नेछन् । विद्युत् प्राधिकरण र आफू अन्र्तगतका सहायक कम्पनीबाट मात्रै ८ सय ६२ मेगावाट र निजी क्षेत्रबाट ४ सय ४५ मेगावाट विद्युत् उत्पादन थप हुनेछ ।
    सरकारले हालसम्म स्वदेशी र विदेशी गरी ८१ लगानीकर्तालाई १ हजार ८ सय ४७ मेगावाट विद्युत् उत्पादन गर्न लाइसेन्स दिइसकेको छ । यस्तै हालसम्म स्वदेशी र विदेशी गरी ५१ लगानीकर्ताले ३ हजार ४ सय ४२ मेगावाट विद्युत् उत्पादनका लागि आवेदन दिएका छन् ।

    प्रस्तुति: कारोबार