मध्यमर्स्याङदीमा विद्युत् उत्पादन घट्यो

    3673

    लमजुङ, मङ्सिर ३ – मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन घटेको छ। मर्स्याङदी नदीमा पानीको बहाव कम भएपछि उत्पादन घटेको हो। ७० मेगावाट क्षमताको मध्यमर्स्याङदी जलविद्युत् केन्द्रबाट बिहान र बेलुकी पुरै क्षमतामा उत्पादन हुने गरेको भएपनि राति र दिउँसो भने ५० मेगावाट विद्युत् मात्र उत्पादन भइरहेको केन्द्रले जनाएको छ।

    आयोजनाको रिजर्भ ट्याङ्कीमा सञ्चित पानीबाट बिहान र बेलुकीको केही समय मात्र पूरै क्षमतामा विद्युत् उत्पादन हुन सकेको केन्द्र प्रमुख रामकुमार यादवले बताए। उनले मुलुकको विद्युत् भार कटौतीलाई मध्यनजर राखेर अहिले आवश्यकताअनुसार बिहान र बेलुकीको समयबाहेक अरु समयमा ५० देखि ६० मेगावाटसम्म विद्युत् उत्पादन भइरहेको बताए।

    नदीमा पानीको बहाव कम हुँदै गएकाले विद्युत् उत्पादन फेरि घट्ने जानकारी पनि उनले दिए।

    आयोजनामा जडित ३५/३५ मेगावाट क्षमताका दुई वटा टर्वाइनबाट विद्युत् उत्पादन भइरहेको छ। अहिले दिन र रातभरि पानीलाई सञ्चित गरी बिहान र बेलुकी साविकको क्षमतामा विद्युत् उत्पादन गर्ने गरिएको छ।

    विसं २०६५ मङ्सिरमा सम्पन्न भएको मध्यमर्स्याङदी जलविद्युत् आयोजना जर्मन दातृ निकाय केएफडब्ल्यूको ८० तथा नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको २० प्रतिशत गरी करिब रु ३० अर्बको लागतमा निर्माण भएको हो।

    प्रस्तुति: रासस