वामदेव गौतम, राधा ज्ञवाली, टोप बहादुर रायमाझि र जनार्दन शर्माको पहिलो काम मलाई हटाउने प्रयास नै हो : काफ्ले

    3404
    mukesh-kafle
    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले प्रत्येक पटक ऊर्जामन्त्री परिवर्तन हुँदा नयाँ मन्त्रीको पहिलो काम आफूलाई हटाउने प्रयास मात्र हुने बताएका छन् ।
    पुर्वऊर्जामन्त्रीहरू राधाकुमारी ज्ञवाली, वामदेव गौतम, टोपबहादुर रायमाझी र वर्तमान उर्जामन्त्री जनार्दन शर्माको पहिलो काम नै आफूलाई कार्यकारी निर्देशकबाट राजीनामा गर्न दवाव दिने भएको खुलासा गरेका हुन् । पुर्वमन्त्री गौतमले आफूलाई हटाउन मन्त्रिपरिषदमै प्रस्ताव लगेको पनि उनले सुनाए । राधा ज्ञवालीलाई भ्रष्टाचारको आरोप लागेपछि तत्कालित प्रधानमन्त्री सुशील कोइरालाले ज्ञवालीलाई हटाएर गौतमलाई उर्जामन्त्रालयको जिम्मेवारी दिएका थिए ।  मन्त्रीले प्राधिकरणको काम हेर्नुको सट्टा नयाँ ऊर्जामन्त्रीको पहिलो काम आफुलाई नै हटाउने प्रयास रहने गरेको काफ्लेले बताए ।
    “म प्रतिस्पर्धाबाट कार्यकारी निर्देशकमा नियुक्त भएको हो,”उनले भने,“म राजनीतिक नियुक्तिबाट प्राधिकरणको कार्यकारी निर्देशक भएको हैन । तर पनि नयाँ ऊर्जामन्त्रीहरुको पहिलो काम नै मलाइ हटाउने प्रयास हुन्छ । अहिलेका उर्जामन्त्रीले पनि त्यही गर्नुभयो ।”
    उर्जामन्त्री जनार्दन शर्माले आइतबार कार्यकक्षमा बोलाएर निर्देशक काफ्लेलाई राजीनामा गर्न दबाव दिएका थिए । “ऊर्जामन्त्री जनार्दन शर्माले आइतबार कार्यकक्षमा बोलाएर राजीनामा दिएर सहयोग गर्न भन्नुभयो,” काफ्लेले बाह्रखरीसँग भने “मैले उहाँलाई सोधें– के गल्तिका आधारमा राजिनामा गर्ने ? म प्रतिस्पर्धाबाट नियुक्त भएको हो । कार्यकाल ३ महिना मात्र बाँकी रहेका बेला मैले राजीनामा दिने कारण छैन । मैले राजीनामा दिन्न ।”
    उनले यसअघिका कार्यकारी निर्देशकहरु राजीनामा दिन बाध्य भए पनि आफू विधि र प्रक्रिया बसाउन निर्देशक भएकाले पनि राजीनामा नदिने अडान लिएका थिए ।
    “यसअघि प्रतिस्पर्धाबाट नियुक्त भएका दीपेन्द्रनाथ शर्मा, रामेश्वर यादव विभिन्न कारणले कार्यकारी निर्देशकबाट बाहिरिएका छन्,” उनले भने “कुरा मेरो राजिनामा हैन विधि र प्रक्रियाको कस्तो बसाउने भन्ने हो । म छाडेर गए पनि सरकार परिवर्तन भएपछि नयाँ आउने कार्यकारी निर्देशकले पनि यही समस्या भोग्नुपर्छ । त्यसैले मैले राजीनामा दिएर भाग्नुहुँदैन ।”  ऊर्जामन्त्रीले राजीनामा गरेर सहयोग गर्नुस् भनेपछि काफ्लेले पनि राजीनामा माग्ने नभई आफूलाई काम दिन आग्रह गरेका थिए । “तपाइले मलाई काम नै लगाउनुभएको छैन के आधारमा मलाई हटाउनुहुन्छ ?,” काफ्लेले बाह्रखरीसँग कुरा गर्दै भने,“तपाइँले मलाई अहिलेसम्म काम नै दिनुभएको छैन । के आधारमा तपाईले राजीनामा माग्नुभएको छ ? मैले प्रधानमन्त्रीसँग सल्लाह नगरी कुनै निर्णय गर्दिन ।” काफ्लेले त्यति भनेपछि उर्जामन्त्री शर्माले नै आफूले प्रधानमन्त्रीसँग भेट गराइदिने बताएका थिए । काफ्लेले प्रधानमन्त्रीसँग भेटेर मात्र थप निर्णय गर्ने बताए ।

    ऊर्जामन्त्रीले मागे विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकको राजीनामा, काफ्लेद्वारा अस्वीकार

    ऊर्जामन्त्री जनार्दन शर्माले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेसँग राजीनामा मागेका छन् । काफ्लेलाई आइतबार आफ्नै कार्यकक्षमा बोलाएर मन्त्री शर्माले राजीनामा गरेर बाटो खुला गर्न आग्रह गरेका थिए ।
    स्रोतका अनुसार काफ्लेले भने आफू प्रतिस्पर्धाबाट चुनिएर आएकाले राजीनामा नगर्ने जानकारी गराएका थिए । “तपाईंले भनेर मैले राजीनामा दिने हैन, प्रधानमन्त्रीलाई भेटेर मात्र यसबारे निर्णय गर्छु,” काफ्लेको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । काफ्लेको कार्यकाल आगामी मंसिर ८ गते सकिँदैछ ।
    मन्त्री शर्माले प्राधिकरणका निर्देशक तथा राहुघाट जलविद्युत् आयोजनाका प्रमुख कुलमान घिसिङलाई कार्यकारी निर्देशक बनाउन काफ्लेको राजीनामा मागेको स्रोतको दाबी छ ।
    स्रोत : १२ खरी