उर्जा र पूर्वाधारमा लगानी गर्न ईटालीलाई आग्रह

    2654

    १३ असोज, काठमाडौं ।

    Nepal-Italyअर्थमन्त्री शंकरप्रसाद कोइरालाले उर्जा र पूर्वाधारको क्षेत्रमा लगानी गर्न ईटाली सरकारको ध्यानाकर्षण गराउनु भएको छ । नेपालका लागि ईटालीका राजदूत ड्यानियल म्यानसिनीसंगको भेटमा मन्त्री कोइरालाले उर्जा क्षेत्रमा ईटालीले प्राप्त गरेको उपलब्धि नेपालका लागि अवसर हुने बताउनु भयो ।

    बजेटमार्फत सरकारले वैदेशिक लगानी प्रोत्साहित गरेको जानकारी दिँदै उहाँले सुरुङमार्ग र मेट्रो रेल विदेशी लगानीका लागि उपयुक्त हुने बताउनु भयो ।

    सो अवसरमा राजदूत म्यानसिनीले सन् २०१५ मा ईटालीको मिलान शहरमा व्यापारिक एक्स्पो हुन लागेको जानकारी दिँदै त्यसबाट नेपालले भरपूर आर्थिक फाइदा लिन सक्ने बताउनु भयो ।

    उहाँले नेपाल र ईंटालीबीचको कुटनीतिक सम्बन्धलाई नजिक तुल्याउनुपर्ने खाँचो औंल्याउँदै आफूहरु शिक्षा, सूचना र विकास क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताउनु भयो ।

    अघिल्लो वर्ष ईटालीबाट नेपालले १ अरब ६३ करोड बराबर मेशिनरी सामान आयात गरेको थियो भने नेपालबाट ६३ करोडको छालाजन्य सामान निर्यात भएको थियो ।

    Source : Online Khabar