अपर मादीबाट मङ्सिरदेखि विद्युत् उत्पादन

    1207

    कास्कीको सिल्दुजुरे गाविस–९ बाहुनडाँडामा निर्माणाधीन अपर मादी जलविद्युत् आयोजनाको ९८ प्रतिशत काम सम्पन्न भएको छ । मादी खोलाबाट निकालिने २५ मेगावाट क्षमताको सो आयोजनाले आगामी मङ्सिरदेखि नियमित रूपमा विद्युत् उत्पादन गर्ने आयोजनाका संयोजक राजकुमार बरालले बताए । आयोजनाको ४ हजार २ सय मिटर सुरुङ खन्ने काम सकिएको छ । सुरुङभित्रको भागमा कङ्क्रिट लाइनिङ गर्ने काम ७० प्रतिशत सकिएको छ । विद्युत् लाइनलाई सबस्टेशनसम्म जोड्न ३२ ओटा विद्युत् टावर निर्माण र त्यसमा तार तान्ने काम पनि पूरा भएको छ ।

    ५ अर्ब २८ करोड रुपैयाँ स्वदेशी तथा वैदेशिक सहयोग जुटाई निर्माण शुरू गरिएको सो आयोजना निर्माण अवधिमा  नाकाबन्दी, मधेश आन्दोलन, भूकम्प र सुरुङ खन्ने क्रममा पहिरो गएकाले लागत बढेर रू. ८ अर्ब पुगेको बरालको भनाइ छ । कुल लागतमध्ये आयोजनाका कार्यकारी अध्यक्ष विजय मल्लको २० प्रतिशत र  चाइना थ्री गर्जेज कर्पोरेशनको ८० प्रतिशत लगानी छ । २०६९ साल पुसबाट शुरू भएको आयोजना ३० महीनामा सक्ने लक्ष्य थियो । तर, ४८ महीनासम्ममा समेत निर्माण कार्य सम्पन्न हुन सकेको छैन ।

    रासस