पूर्वाञ्चलमा ५६० मेगावाटका आयोजना बन्दै

    1285

    पूर्वाञ्चलमा विद्युत् प्राधिकरण र निजी क्षेत्रको लगानीमा ५ सय ६० मेगावाटभन्दा बढी क्षमताका जलविद्युत् आयोजना निर्माणाधीन छन् ।

    विभिन्न जिल्लाका ३७ वटा आयोजनाहरू पूरा भएपछि पूर्वाञ्चलका १६ जिल्ला लोडसेडिङ मुक्त हुने भएका हुन् । प्राधिकरणसँग विद्युत् खरिद सम्झौता भइसकेर निर्माण प्रक्रियामा रहेका इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा र भोजपुरमा सञ्चालित आयोजनाबाट ५ सय ६० मेगावाट विद्युत् उत्पादन हुने लक्ष्य राखिएको छ ।

    प्राधिकरणको विद्युत् खरिद सम्झौता प्रतिवेदनअनुसार सोलुखम्बुमा निर्माणाधीन ७ वटा आयोजनाबाट सबैभन्दा बढी ३ सय १५ मेगावाट, पाँचथरमा ५ वटा आयोजनाबाट एक सय मेगावाट, इलाममा १० वटा आयोजनाबाट ८० मेगावाट, संखुवासभाबाट ७ वटा आयोजनाबाट ४५ मेगावाट, ताप्लेजुङमा १४ मेगावाट, खोटाङमा ७ मेगावाट, ओखलढुंगामा ७ मेगावाट, तेह्रथुममा ४ मेगावाट, भोजपुर २ मेगावाट र मोरङमा १ मेगावाट क्षमताका विद्युत् आयोजनाहरू निर्माणाधीन छन् ।

    यी अधिकांश आयोजनहरू निजी लगानीमा बनिरहेका छन् । १५ मेगावाट क्षमताको पाँचथरको हेवा खोला ‘ए’ जलविद्युत् आयोजना अन्तिम चरणमा छ । पाँच वर्षअघि निर्माण थालिएको यो आयोजना ९५ प्रतिशत पूरा भइसकेको कम्पनीका मुख्य इन्जिनियर लक्ष्मण श्रेष्ठले बताए ।

    पाँचथरमा अर्को माउन्टेन हाइड्रो नेपालद्वारा ३ अर्ब ६६ करोड रुपैयाँ लगानीमा निर्माणाधीन २१ मेगावाटको तल्लो हेवा जलविद्युत् आयोजना ४० प्रतिशत निर्माणकार्य पूरा भएको प्रबन्धक गणेश सुब्बाले बताए । काबेली इनर्जीले पाँचथर र ताप्लेजुङको सिमाना काबेली खोला ‘ए’ जलविद्युत् आयोजना ३७ मेगावाट, अरुण काबेली पावरले कावेली बी १ जलविद्युत् आयोजना २५ मेगावाट, खोरङगा खोला हाइड्रोपावर कम्पनीको ९ सय ९५ किलोवाट क्षमताको फेमे खोला जलविद्युत् आयोजना बनाइरहेको छ ।

    इलाममा सानिमा हाइड्रोपावरले माई खोलाबाट २२ मेगावाट, सोही कम्पनीको माइ क्यास्केड विद्युत् आयोजना ७ मेगावाट आयोजना बनाइरहेको छ । यसैगरी माइभ्याली हाइड्रोपावरको माथिल्लो माई खोला विद्युत् आयोजना १० मेगावाट, सोही कम्पनीको माथिल्लो माई खोला तेस्रो जलविद्युत् ५ मेगावाटको योजना छ ।

    यसैगरी हिमाल दोलखा हाइड्रोपावर कम्पनीले माईखोला साना क्यास्केड आयोजना ८ मेगावाट, सोही कम्पनीले माइखोलाबाट ४.५ मेगावाट, इङगुवा हाइड्रोपावर कम्पनीले माथिल्लो इङगुवा खोलाबाट ९.७ मेगावाट बिजुली निकाल्ने योजना छ । सन्भी इनर्जी प्रालिको जोगमाई खोला ७.६ मेगावाट र पुवा खोला ‘ए’ हाइड्रोपावरले पुवा खोला १ प्रथम ४ मेगावाटको आयोजना बनाउँदै छ । जोशी हाइड्रोपावर डेभ्लपमेन्ट कम्पनीको पुवामझुवा माथिल्लो पुवा खोला प्रथम ३ मेगावाट विद्युत् आयोजना बनाइरहेको छ ।

    ताप्लेजुङमा शिवानी हाइड्रोपावर कम्पनीको ताप्लेजुङ फावा खोलाबाट ५ मेगावाट, राइराङ हाइड्रोपावर डेभ्लपमेन्ट कम्पनीले इवा खोलाबाट १० मेगावाटको आयोजना बनाउँदै छ । संखुवासभामा माया खोला हाइड्रोपावर कम्पनीले माया खोलाबाट १५ मेगावाट, रिभरफल्स हाइड्रोपावर डेभ्लपमेन्टले तल्लो पिलुवा खोलाबाट ९.५ मेगावाट, दिपसभा हाइड्रोपावरको सभाखोला ‘ए’ ८ मेगावाट क्षमताको बिजुली निकाल्ने गरी काम गरिरहेको छ ।

    यस्तै वरुण हाइड्रोपावर डेभ्लपमेन्ट कम्पनीको हेवा खोला जलविद्युत् आयोजना ४.५ मेगावाट, मेन्छियाम हाइड्रोपावरको माथिल्लो पिलुवा खोला दोस्रो जलविद्युत् आयोजना ४.५ मेगावाट क्षमताको बनाउँदै छ । त्यसैगरी दिव्यश्वरी हाइड्रोपावरको सभाखोला जलविद्युत् ४ मेगावाट, अरुणभ्याली हाइड्रोपावर कम्पनीको पिलुवा खोला जलविद्युत् ३ मेगावाट र वानेश्वर हाइड्रोपावरले संखुवासभाको तल्लो पिलुवा खोला ९ सय ९० किलोवाट, तेह्रथुममा रिलायवल हाइड्रोपावर कम्पनीले खोरुङ्गा खोलाबाट ४.८ मेगावाट निकाल्ने योजना छ ।

    खोटाङमा दूधकोसी पावर कम्पनीले रावा खोलाबाट ६.५ मेगावाट, साप्सु कालिका हाइड्रोपावर कम्पनीले मेवा खोलाबाट एक मेगावाट र भोजपुरमा इस्टर्न हाइड्रोपावर कम्पनीले २.५ मेगावाट क्षमताको पिखुवाखोला जलविद्युत् आयोजना बनाउँदै छ । त्यसैगरी ओखलढुंगामा मोलुङ हाइड्रोपावर कम्पनीले मोलुङखोला ७ मेगावाट, मोरङको माथिल्लो खदम खोलाबाट ९ सय ९० किलोवाट क्षमताको विद्युत् आयोजनाको निर्माण कार्य भइरहेको छ ।

    सोलुखुम्बुमा हाइड्रोभेन्चरले सोलु खोला दूधकोसी जलविद्युत् ८६ मेगावाट, इजलक्लिन सोलु हाइड्रपावरले तल्लो सोलुखोलाबाट ८२ मेगावाट, पान हिमालय इनर्जीले रामेछापसित सीमा जोडिएको लिखु खोला प्रथम जलविद्युत्बाट ५१.४ मेगावाट निकाल्ने काम भइरहेको छ । अर्को ग्लोवल हाइड्रोपावर एसोसिएले लिखु खोला दोस्रो जलविद्युत् ३३.४ मेगावाट बनाइरहेको छ ।

    नम्बर हिमालय हाइड्रोपावरले लिखु खोला ‘ए’ जलविद्युत् २४.२ मेगावाट, माथिल्लो सोलु हाइड्रोइलेक्ट्रिक कम्पनीले सोलुखोलाबाट २३.५ मेगावाट र दोभान हाइड्रोपावर कम्पनीले सोलुखम्बूको जुनबेंसी खोलाबाट ५.२ मेगावाट क्षमताको जलविद्युत् आयोजना बनिरहेको प्राधिकरणले जनाएको छ ।

    यी आयोजनाहरू केन्द्रीय प्रसारण लाइनमा जडान गर्न प्राधिकरणले झापाको लखनपुर, इलामको गोधाक, पाँचथरको थापाटार र अमरपुरमा १ सय ३२ किलोभोल्ट क्षमताको विद्युत् सबस्टेसन निर्माणाधीनमध्ये झापा र इलाममा सञ्चालनमा आइसकेको प्राधिकरणका इन्जिनियर महेन्द्र बान्तावाले जानकारी दिए ।

    इलामदेखि थापाटार हुँदै अमरपुरसम्म विद्युत् प्रसारण लाइन विस्तारका लागि ट्रान्समिसन टावर निर्माण र तार टाङ्नेकाम हुन सकेको छैन । प्राधिकरण र ठेकेदारबीच समन्वयको अभावले विद्युत् प्रसारण लाइन विस्तार कार्यमा अवरोध हुने गरेको छ ।

    विद्युत् सबस्टेसन लाइन विस्तार
    उपभोक्ताको घरघरमा विद्युत् विस्तार गर्न विद्युत् प्राधिकरणको ३३ केभी प्रसारण लाइन विस्तारका लागि पूर्वाञ्चलका ९ वटा जिल्लामा विद्युत् सबस्टेसन निर्माणाधीन रहेको विराटनगरस्थित विद्युत् प्राधिकरणका इन्जिनियर धीरेन्द्र यादवले बताए । उनका अनुसार एसियाली विकास बैंक (एडीबी) को आर्थिक सहयोगमा सञ्चालित छन् ।

    प्राधिकरणले पूर्वाञ्चलको झापा, इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम र भोजपुरमा ७ वटा विद्युत् सबस्टेसन र ९ जिल्लामा १२ करोड ५० लाख रुपैयाँ लागतमा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार आयोजना निर्माणाधीन रहेको जनाएको छ ।

    स्रोत : कान्तिपुर