भारतबाट तत्काललाई थप विद्युत् नआउने

    2596

    ” कन्डक्टर जडानको लगानी बालुवामा पानी : उद्योगी “

    मीनकुमार नवोदित
    विराटनगर, ८ असोज –

    trl-electricityकटैयाबाट थप विद्युत् आयात गर्ने लक्ष्यका साथ ‘कन्डक्टर’ परिवर्तन गर्न थालिए पनि तत्काललाई थप विद्युत् नआउने भएको छ । नेपाल सरकारले भारतीय पक्षसित लाइन मर्मत गर्ने अनुमति नलिँदा नेपालतर्फको मर्मतमा भएको खर्च ‘बालुवामा पानी खन्याएसरह’ हुने देखिएको छ ।
    प्रक्रिया पूरा नगरी नेपालतर्फको मर्मत गर्दा भारततर्फ मर्मत नहुने भएको हो । अनुमति प्राप्त नभएकाले नेपाली निर्माण कम्पनीले नेपालको सीमाभन्दा उता मर्मतका सामान लगेर तार जडान गर्न पाउने छैन । जसले गर्दा नेपालतर्फमात्रै क्षमता विस्तार गरेर थप विद्युत् नआउने निश्चित भएको छ ।
    थप विद्युत् आयात गर्न कटैयासम्मै कन्डक्टर जडान गर्नुपर्छ । यस क्षेत्रका उद्योगीले १ सय ५० मेगावाट विद्युत्् आयात हुने आशा राखेका थिए । १ सय ५० मेगावाट विद्युत् आए कोसीपूर्व देखिँदै आएको लोडसेडिङ पूरै हट्नेछ ।
    कटैया–पश्चिमकुशाहा–दुहबी प्रसारणलाइन मर्मत गरी हाल आइरहेको भन्दा बढी विद्युत् ल्याउने लक्ष्यका साथ मर्मत सुरु गरिएको थियो । हाल कटैयाबाट दैनिक ८० मेगावाट आइरहेको छ ।
    सिंगल सर्किटबाट थप विद्युत् आयात गर्न असम्भव भएपछि विशेष किसिमको तार ‘कन्डक्टर’ जडान गरिएको हो । यस तारबाट २ सय मेगावाटसम्म विद्युत्् आयात गर्न सकिन्छ ।
    गत भदौ ३० गतेदेखि सुरु गरिएको नेपालतर्फको मर्मत मंगलबार सकिएको छ । “निर्धारित समयभन्दा ४ दिनअगाडि नै नेपालतर्फको मर्मत सकिएको छ,,” सिग्माका प्रदीप खड्काले भने, “तर भारततर्फको तार मर्मत गर्ने अनुमति हामीलाई छैन ।” तार मर्मतका लागि हाल बिहान ७ देखि साँझ ७ बजेसम्म विद्युत् कटौती हुँदै आएको छ । जसका कारण मोरङ–सुनसरी औद्योगिक क्षेत्रका अधिकांश रातिको सिफ्टमात्रै सञ्चालन हुँदै आएका यसक्षेत्रका उद्योगका उत्पादन ५० प्रतिशतले कटौति भएको छ । कटैयादेखि नेपालको सिमानासम्म ३ किलोमिटर तार मर्मत गर्नुपर्छ । कटैयादेखि कुशाहासम्म ५० वटा टावर पर्छन् । जसमध्ये नेपालतर्फ ४३ वटा र भारततर्फ ७ वटा टावर छन् । बुधबारदेखि यसअघि आइरहेको जति नै ८० मेगावाट विद्युत आउनेछ । तर नयाँ तार जडानपछि १ सय ५० मेगावाट ल्याउने लक्ष्य राखिएको थियो ।
    कटैयासम्मको प्रशारण लाइनमा कन्डक्टर परिवर्तन गरिए सजिलै २ सय मेगावाट विद्युत् ल्याउन सकिन्छ । क्षमता विस्तार भइसकेपछि पनि नेपाल सरकार र भारत सरकारबीच थप विद्युत् आयात गर्ने सम्झौता हुनुपर्नेछ । हाल ५० मेगावाट विद्युत् आयातका लागि मात्रै २ देशबीच सम्झौता भएको छ । सो विद्युत्बापत नेपाल विद्युत् प्राधिकरणले प्रतियुनिट साढे ४ रुपैयाँ भारतको विद्युत् प्राधिकरणलाई भुक्तानी गर्दै आएको छ ।
    पश्चिम कुशाहादेखि दुहबी ग्रिडसम्म २ सय मेगावनट विद्युत् थाम्न सक्ने डबल सर्किट यसअघि नै निर्माण भइसकेको छ । कुशाहादेखि भारतीय सीमासम्म नेपाल सरकारकै खर्चमा विशेष किसिमको तार जडान गरिएको छ । डबल सर्किट जडान गर्दा समय र खर्च बढी लाग्ने भएकाले कन्डक्टरभित्र फाइबर भएको विशेष तार जडान गरिएको नेपाल विद्युत् प्राधिकरणका इन्जिनियर अवधेश दुबेले बताए । अमेरिकामा निर्मित यो तार बढी टिकाऊ र मजबुत रहेको उनको भनाइ छ । पुरानो सबै तार झिकिएको छ ।
    यसैबीच उद्योग संगठनको टोली मर्मत भइरहेको पश्चिमकुशाहा पुगेर मर्मतका विषयमा जानकारी लिएको छ । संगठनका ऊर्जा समिति संयोजक राकेश सुरानाको नेतृत्वमा गएको टोलीले पछिल्लो पटक भइरहेको तार जडानका विषयमा जानकारी लिएको थियो । टोलीमा संगठनका कार्यकारी सचिव सोम अधिकारी, सञ्चारकर्मीलगायत सहभागी थिए । संयोजक सुरानाले तत्काल भारततर्फको तार मर्मतको प्रक्रिया थाल्न नेपाल सरकारसित माग गरे । उनले भने, “भारततर्फको तार मर्मत गरी क्षमता विस्तार गर्न सरकारी लेबलबाटै तत्काल पहल थालिनुपर्छ ।” प्रक्रिया नै पूरा नगरी तार मर्मत थाल्नु बालुवामा पानी खन्याएसरह भएको कार्यकारी सचिव सोम अधिकारीको टिप्पणी थियो ।

    प्रस्तुति: कारोबर