५२ वर्षअघि अध्ययन सुरु भएको १० हजार ८ सय मेगावाटको कर्णाली चिसापानी अब बहुउद्देश्यीय परियोजना रूपमा अघि बढाइने भएको छ । विश्वकै ठूलोमध्ये पर्ने र आकर्षक मानिने कर्णाली चिसापानीलाई दक्षिण एसियाकै क्षेत्रीय र बहुउद्देश्यीय परियोजनाको रूपमा अघि बढाइने भएको हो । ५२ वर्षअघि अध्ययन सुरु भएको १० हजार ८ सय मेगावाटको कर्णाली चिसापानी अब बहुउद्देश्यीय परियोजना रूपमा अघि बढाइने भएको छ । विश्वकै ठूलोमध्ये पर्ने र आकर्षक मानिने कर्णाली चिसापानीलाई दक्षिण एसियाकै क्षेत्रीय र बहुउद्देश्यीय परियोजनाको रूपमा अघि बढाइने भएको हो ।
सरकारको छात्रवृत्तिमा यही आयोजना बनाउनका लागि २०३७ सालदेखि २०४१ सालसम्म भारतको रुड्की विश्वविद्यालयका २ सय ५० इन्जिनियरलाई अध्ययनको व्यवस्था गरिएको थियो । परियोजना अघि नबढ्दा उनीहरू अन्य विभिन्न क्षेत्रमा नोकरीपछि अवकाश भइसक्दा पनि परियोजना सुरु भएको छैन । तर, अहिले भने नेपाल सरकारकै प्रस्तावमा सार्कले अध्ययन अघि बढाएको छ । मंगलबार मात्र ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री वर्षमान पुनले ल्याएको श्वेतपत्रसहितको मार्गचित्रमा समेत कर्णाली चिसापानी परियोजना अघि बढाउने उल्लेख छ । पछिल्लो अध्ययन सकिएको झण्डै तीन दशकपछि दक्षिण एशियाली सहयोग संगठन (सार्क)अन्तर्गतको सार्क ऊर्जा केन्द्र (सेक) ले परियोजनालाई सार्क क्षेत्रकै साझा परियोजनाको रूपमा अघि बढाउने गरी अध्ययन अघि बढाएको छ । सेकले परियोजना अघि बढाउनका लागि गठन गरेको दुर्गानाथ रैना, लीलानाथ भट्टराई र महेश आचार्यको विज्ञ समूहले कर्णाली चिसापानीलाई सार्कको बजारलाई हेरेर क्षेत्रीय बहुउद्देश्यीय आयोजनाको रूपमा अघि बढाउने गरी सम्भाव्यता अध्ययनको स्तरोन्नति गर्नुपर्ने लगायतको अध्ययन प्रतिवेदन दिएको छ । पहिला भारतका लागि निर्यात गर्ने गरी अघि बढाउने भनिएको परियोजना सार्कको साझा परियोजनाको रूपमा अघि बढाउने लक्ष्य छ । विज्ञ समूहको निष्कर्ष र सिफारिससहितको प्रतिवेदनबारे शुक्रबार पाकिस्तानमा भएको कर्णाली चिसापानीलाई क्षेत्रीय जलविद्युत् परियोजनाको विकासबारे कर्णाली चिसापानीको अध्ययनसम्बन्धी वेभिनारमा विज्ञ रैनाले परियोजनालाई बहुउद्देश्यीय आयोजनाको रूपमा अघि बढाउनुपर्ने बताए । पहिला भएका अध्ययनहरूमा जलविद्युत् उत्पादनलाई मात्र जोड दिँदै आएकोमा यसलाई बहुउद्देश्यीय बनाएर सिँचाइ, बाढी नियन्त्रण र जल यातायातबारे पनि अध्ययन गर्नुपर्नेमा जोड दिइएको छ । सन् १९६६ मा नेपाल कोइले अध्ययन सुरु गरेको आयोजनाको सन् १९६८ मा स्मेक, सन् १९७६ मा नर कन्सल्ट लगायतका समूह र सन् १९८९ मा नर्थ अमेरिकाको परामर्शदाता कम्पनीले सम्भाव्यता अध्ययन गरेको वेभीनारमा विज्ञ भट्टराईले जानकारी दिए । उनका अनुसार परियोजनाबाट मात्र नेपालको २ लाख र भारतको ३४ लाख हेक्टर जमीनमा सिँचाइ हुनेछ भने भारत र वंगलादेशको बाढी नियन्त्रणमा ठूलो योगदान पुर्याउने छ । अध्ययनले परियोजनाबाट बार्षिक रूपमा २० हजार गिगावाट विद्युत् उत्पादन हुने अनुमान गरिएको छ । विज्ञ आचार्यले परियोजना आर्थिक र प्राविधिक रूपमा योग्य रहेको बताउँदै थप अध्ययन अघि बढाउनुपर्ने बताएका थिए । वेभिनारमा दिइएको जानकारी अनुसार सन् १९८९ को अध्ययनको आधारमा ५ खर्ब लागत अनुमान गरिएको आयोजनाबाट ६० हजार जनसंख्या विष्थापित हुने उल्लेख छ । तर, आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन (डीईआर) भएको छैन । अहिले लागत करिब २० खर्ब र कम्तीमा २ लाख जनसंख्या विस्थापित हुने अनुमान गरिएको छ । अध्ययनले कर्णाली चिसापानी तीन वर्षभित्र सम्भाव्यता अध्ययनको स्तरोन्नति (अपडेट) र डीईआर सम्पन्न गर्न सकिने तथा त्यसको दुई वर्षभित्र वित्तीय व्यवस्थापन गरेर त्यसपछिको नौ वर्षभित्र परियोजना निर्माण सम्पन्न गर्नसकिने देखिएको छ । सन् १९८९ ले गरेको अध्ययनले भने निर्माण सुरु गरेर सन् २००३ मा पहिलो युनिटबाट विद्युत् उत्पादन हुने समेत उल्लेख थियो । हिमालय पावर कन्सल्ट्यान्सले तीन वटा क्यानेडियन र एउटा अमेरिकी परामर्शदाताले गरेको अध्ययनमा आयोजनाको क्षमता बढाएर १६ हजार २ सय मेगावाट समेत पुर्याउन सकिने उल्लेख थियो । सो अध्ययनले परियोजनालाई बहुउद्देश्यीय रूपमा अघि बढाउने उल्लेख गरेपनि सिँचाइ, बाढी नियन्त्रण, जल यातायातभन्दा पनि विद्युत्लाई मात्र बढी केन्द्रित गरेर अध्ययन गरेको थियो । सेकले गठन गरेको विज्ञ समूहले भने जलविद्युत्, सिँचाइ, बाढी नियन्त्रण, जल यातायात लगायतबाट हुने फाइदाको बारेमा अध्ययन हुनुपर्ने उल्लेख गरेको छ । विज्ञ समूहले दिएको प्रतिवेदनलाई अन्तिम रूप दिएर सेकले सार्कलाई हस्तान्तरण गर्ने र सार्कले क्षेत्रीय आयोजनाको रूपमा अघि बढाउन सक्छ । तर, ठूलो लगानीका साथै सिँचाइ, बाढी नियन्त्रण, जल यातायात लगायतको फाइदाको बाँडफाँड लगायतका धेरै मुद्दा रहेकोले परियोजना अघि बढाउनका लागि चुनौती रहेको बताउँछन् । “परियोजनाको जलविद्युत् उत्पादन क्षमता बढ्न सक्छ तर विश्वकै दोस्रो ठूलो परियोजना हुन सक्छ,” एक विज्ञ भन्छन्, “कर्णाली गर्ज जलविद्युत् उत्पादनका लागि विश्वकै आकर्षक ठाउँ मानिन्छ तर ठूला लगानी तथा यसबाट हुने पानी, सिँचाइ, बाढी नियन्त्रण लगायतका फाइदाको बाँडफाँड चुनौतीको विषय छ ।”
भिम गौतम
स्रोत:कारोबार