दुधकोसी र तामाकोसी–५ आयोजना निर्माण आउँदो आर्थिक वर्षदेखि, लगानी जुटाउँदै सरकार

1537

वैशाख २६, २०७७

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा दुधकोसी जलासय र तामाकोशी–५ जलविद्युत आयोजना निर्माण थाल्ने भएको छ ।

जलस्रोत, ऊर्जा तथा सिंचाइमन्त्री वर्षमान पुनले लगानी जुटाएर ३३५ मेगावाटको दुधकासी र १०१ मेगावाटको तामाकोसी आयोजनाको निर्माण सुरु गर्ने बताएका हुन ।

दुबैको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको र लगानी जुटाएर काम अघि बढाउने उनले स्पष्टपारे  तामाकोसी–५ आयोजनामा एसियाली पुर्वाधार विकास बैंक (एआईआईबी) ले १६ अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएको छ ।

दुधकोसीको लगानी जुटिसकेको छैन । मन्त्री पुनका अनुसार हरेक प्रदेशलाई समान महत्वका साथ मन्त्रालयले एक प्रदेश एक ठूला आयोजनाको अवधारणासमेत अगाडि बढाएको छ ।

यस्तै बुढीगण्डकी आयोजनाको बाँकी मुआब्जा वितरण आगामी आर्थिक वर्षमा सकेर निर्माण शुरु गर्ने तयारीमा लागिएको छ । हाल मुआब्जा वितरणको काम भइरहेको भए पनि कोरोनाका कारण सो काम समेत बन्द छ ।

मन्त्रालयका अनुसार चैनपुर सेती, नौमुरे, जगदुल्ला, नलगाड र फुकोट कर्णाली जलविद्युत आयोजनाको डीपीआर अन्तिम चरणमा पुगेको छ । डीपीआरको काम सकिएलगत्तै वित्तीय व्यवस्थापनको काममा मन्त्रालय लाग्ने मन्त्री पुनको भनाइ छ ।

यी आयोजनाको अध्ययन विद्युत उत्पादन कम्पनीले गरिरहेको छ । यसैगरी ४१० मेगावाटको नलगाड जलासय आयोजनामा जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका) ले लगानी गर्ने भएको छ । लगानीका लागि जाइका र मन्त्रालयबीच छलफल भइरहेको छ ।

त्यस्तै पञ्चेश्वर बहुउद्देश्यीय अयोजनाको डीपीआर यसै वर्ष सक्ने र लगानी मोडालिटीबारे छिमेकी भारतसँग परामर्श गर्ने उनको भनाइ छ । ७५० मेगावाटको पश्चिम सेती आयोजनाका लागि लगानी बोर्डले सार्वजनिक निजी साझेदारी ढाँचामा अगाडि बढाउनका लागि आह्वान गरिसकेको छ ।

यस्तै रोल्पामा रहेको माडी जलाशययुक्त जलविद्युत आयोजनाको डीपीआर यसै वर्ष शुरु गर्ने योजना पनि मन्त्रालयले अघि सारेको छ । यो आयोजना नेपालको हाइड्रो इलेक्ट्रिसिट डेभलपमेन्ट एन्ड इन्भेस्टमेन्ट कम्पनी लिमिटेड (एआईडीसीएल) र पावर चाइना कर्पोरेशनले साझेदारीमा बनाउने समझदारी भएको छ । पावर चाइनाले संभाव्यताको अध्ययन सुरु गरिसकेको छ । कोरोना महामारीले अध्ययनको काम अवरुद्ध भएको छ ।

यस्तै पावर चाइना र एचआईडीसीलबीच ७६२ मेगावाटको तमोर जलासय आयोजना बनाउने सहमति भएको छ । दुबैले संयुक्त लगानीमा बनाउनका लागि समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरिसकेका छन । अध्ययको काम सुरु हुने तयारीमा छ ।

रानीजमरा–गुलरिया आयोजनाको काम अघि बढेको, सिक्टा, भेरी–बबई र सुनकोसी–मरिन डाइभर्सन प्राथमिकतामा रहेको छ ।  कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजनाको डीपीआर यसै वर्ष सक्ने गरी काम भइरहेको छ ।

यसैगरी सुनकोसी–कमला डाइभर्सनको पनि अध्ययन जारी रहेको मन्त्री पुनले जानकारी दिए । तराइमा सिंचाइ सुविधा बढाउन सुनकोशी–मरिण डाइभर्सन आयोजना निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ ।

 

Source: Capital Nepal