लकडाउनमा ठुलो आयोजनाका काम सुरु

1681

२६ बैशाख २०७७

धानगढी, – सुदूरपश्चिममा राष्ट्रिय गौरवलगायत ठुला आयोजनाको निर्माण कार्य सुरु भएका छन् । एक महिनाभन्दा बढी लकडाउन अवधिभर बन्द रहेका आयोजना निर्माणका काम जिल्ला प्रशासनले अनुमति दिएपछि सुरु भएका हुन् ।
जिल्ला प्रशासनबाट अनुमति लगेर ठुला आयोजनाले काम सुरु गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बोहराले बताए । ‘लकडाउनका कारण बन्द भएका ठुला आयोजनाको काम सुरु गर्न अनुमति दिइएको छ,’ उनले भने, ‘अनुमति लगेर उनीहरूले काम सुरु गरिसकेका छन् ।’

राष्ट्रिय गौरवको आयोजना रानीजमरा कुलरिया, यस क्षेत्रको महŒवपूर्ण रूपमा रहेको ६ लेन सडक, हुलाकी सडक आयोजनाको काम सुरु भएको छ । यसैगरी, अनुमति लगेर खुटिया दिपायल फास्ट–ट्र्याक, सहजपुर वोग्टान सडकको काम पनि सुरु भएको उनको भनाइ छ । महत्वपूर्ण रहेको राजघाट जोड्ने मोहनापुल, कान्द्रा पुल निर्माणको काम पनि प्रशासनको अनुमति लगेर सुरु भइसकेको छ ।

यसैगरी, कञ्चनपुर जिल्ला प्रशसनको अनुमतिमा भारतीय सीमा जोड्ने अत्यन्त महत्वको महाकाली पुल, महाकाली सिँचाइ आयोजना, हुलाकी राजमार्गको काम सुरु भएको छ । लकडाउन सुरुसँगै बन्द भएका यी आयोजनाको काम अनुमतिपछि अहिले सुरु भएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताएका छन् । ‘महत्वपूर्ण ठुला आयोजनालाई अनुमति दिएर काम सुरु गर्न दिइएको छ,’ उनले भने, ‘बिस्तारै महत्वपूर्र्ण अन्य आयोजनालाई पनि सुरु गर्न अनुमति दिइनेछ ।’

स्थानीय तहले पनि योजना निर्माणका काम सुरु गर्ने अनुमति दिन प्रशासनसँग माग गरे पनि अहिलेसम्म ठुला आयोजनाबाहेकलाई सुरु गर्न अनुमति दिइएको छैन । ‘स्थानीय तहले पनि योजना निर्माणका लागि अनुमति मागिरहेका छन्,’ कैलालीका प्रमुख जिल्ला अधिकारी बोहराले भने, ‘अहिलेसम्म ठुलो आयोजनामात्र सुरु भएका छन् । सरकारको निर्णय आएमा प्रदेश सरकारका योजना र स्थानीय तहका योजनालाई पनि सुरु गर्न अनुमति दिइनेछ ।’
सरकारले पाँचौ पटक जेठ ५ गतेसम्म लकडाउन बढाउने निर्णय गरेको छ ।

‘विकास–निर्माण, कृषिमा अलि खुकुलो गर्ने सरकारको तयारी रहेकाले बिस्तारै सुरु हुनेछन्,’ उनले भने । अन्य निवेदन पनि आउने क्रम जारी रहेको उनको भनाइ छ ।

‘संघ र प्रदेश सरकारको निर्माणको काम, कृषिमा खुकुलो गर्ने सरकारको निर्णय आएमा सबैलाई अनुमति दिने तयारी गरेका छौं,’ उनले भने ।

प्रशासनको अनुमतिपछि सुदूरपश्चिम प्रदेशको महŒवपूर्ण आयोजनाका रूपमा रहेको दक्षिणतर्फ भारतको गौरिफन्टा नाकासँग जोडिएको धनगढी मोहनादेखि अत्तरियासम्मको ६ लेन सडक निर्माणको काम सुरु भइसकेको छ । लकडाउनपछि बन्द भएको निर्माणको काम जिल्ला प्रशासनको अनुमतिमा सुरु भएको ६ लेन सडक आयोजनाका प्रमुख होमबहादुर ऐसीले बताएका छन् ।

दुई वर्षमा अर्थात् गत जेठमै निर्माण सम्पन्न गरिसक्नुृपर्ने ६ लेन सडक निर्माणको काम ठेकेदार र आयोजनाको लापरबाहीका कारण पूरा हुन सकेको थिएन । म्याद सकिएको थप एक वर्ष हुँदा पनि करिब ५८ प्रतिशत मात्र काम हुन सकेको छ । यहाँका व्यापारी, स्थानीय र सर्वसाधारणलाई सास्ती हुन पुगेको ६ लेन निर्माण ठेकेदार कम्पनी, आयोजना तथा विभाग र मन्त्रालयको कमजोरीका कारण ढिलाइ भएको छ । १० महिनासम्म अनेक बहानामा म्याद थप नगरिएको यो आयोजनाको हालै नाटकीय रूपमा अगामी माघसम्मका लागि म्याद थप भएको छ ।

काम गर्ने निर्माण कम्पनीको म्याद करिब १० महिनासम्म थप गरिएन । गत फागुन महिनामा सार्वजनिक खरिद नियमावलीको नवौं संशोधनमा टेकेर अगामी माघ १५ गतेसम्म निर्माणको कम्पनीको म्याद थप गरिएको थियो । यसअघिको नियमावलीमा सम्झौता भएको अवधिको ५० प्रतिशतमात्र अर्थात् एक वर्षसम्म मात्र म्याद थप गर्ने प्रावधान रहेकोमा अहिलेको संशोधन गरिएको नियमावलीमा म्याद थप गर्ने निर्णय गरेको मितिले एक वर्ष भन्ने वाक्यांश उल्लेख भएकाले निर्माण कम्पनीलाई बीचमा म्याद थप नगरेर लम्ब्याइएको अवधि बोनसमा फाइदा पुगेको छ ।

म्याद समाप्त भएपछि पनि कामलाई निरन्तरता दिइएको ६ लेन सडक निर्माणको काम रोकिएको थियो । लकडाउनपछि निर्माणको काम बन्द भएको थियो । जिल्ला प्रशासनको अनुमतिले वैशाख ९ गतेदेखि काम सुरु भएको उनले बताए । ‘काम गर्नेहरूलाई सबै सुरक्षा सावधानी अपनाउन लगाएर पहिले स्टक भएका समान प्रयोग गरी निर्माणको काम सुरु गरिएको छ,’ उनले भने, ‘पाइएका समान प्रयोग गरेर निर्माणका काम गरिंदैछ, लकडाउनका कारण सबै समान उपलब्ध नहुँदा पूरै गतिमा गर्न गाह्रो तथा पिचलगायत समान भारतवाट ल्याउनुपर्ने भएकाले समानको अभाव हुने उनले बताए ।

धनगढीको चौराह, चटकपुर, बोराडाडी, राजपुर, गेटा, अत्तरियालगायत ठाउँका पसल र व्यवसायमा असर परेको थियो । धनगढी भन्सार–रोडदेखि अत्तरिया चोकसम्म १४ किलोमिटर लामो ६ लेन सडक तीन खण्डमा छुट्याइएर ठेक्का दिइएको थियो ।

 

दिलबहादुर छत्याल

स्रोत:नागरिक दैनिक