सेयर वितरण ढिलाइले माथिल्लो तामाकोसीमा रकम अभाव हुन सक्ने

    1105

    स्थानीयको १० प्रतिशत ढिलाइले सर्वसाधारणको १५ प्रतिशत पनि धकेलियो –

    बहुचर्चित माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा हुँदा पनि सेयर वितरण अन्योल नै छ । आयोजनाप्रभावित स्थानीय बासिन्दा र सर्वसाधारणलाई जारी गर्नुपर्ने सेयर वितरण नहुँदा तामाकोसी आयोजनालाई पैसा अभाव हुने सम्भावना देखिएको छ ।

    माथिल्लो तामाकोसीमा जिल्लावासीले जारी पुँजीको १० प्रतिशत सेयर पाउने गरी सेयर संरचना बनाएको छ । जिल्ला समन्वय समितिले सेयर वितरण प्रक्रिया पारित गरेपछि मात्रै कम्पनीले दोलखालीले पाउने १० प्रतिशत सेयर वितरण गर्ने व्यवस्था गरेको छ । जिल्लावासीले पाउने सेयर वितरणमा ढिलाइ भएपछि अन्य सर्वसाधारणले पाउने १५ प्रतिशत सेयर वितरणसमेत पछि धकेलिएको छ ।

    आयोजनामा हालसम्म ३४ अर्ब ६४ करोड रुपैयाँ खर्च भएर करिब ९१ प्रतिशत निर्माणकार्य सम्पन्न भइसकेको प्रवक्ता डा. न्यौपानेले बताए । तर, सेयर संकलनमा ढिलाइ हुँदा आयोजनालाई रकम अभाव हुन सक्ने उनको भनाइ छ । ३५ अर्ब २९ करोड पूर्वअनुमानित लागत भएको आयोजनामा विभिन्न कारणले ढिलाइ हुँदा लागत बढेर ४१ अर्ब ७२ करोड पुग्न सक्ने अनुमान गरिएको छ ।

    माथिल्लो तामाकोसी आयोजना सञ्चालक समितिले आर्थिक वर्ष ०७३-७४ भित्रै प्रभावित स्थानीयवासीका तर्फबाट सेयर संकलन गर्ने योजना बनाएको थियो । तर, आयोजना सम्पन्न हुने मिति नजिकिँदै गए पनि हालसम्म कुनै निर्णय हुन सकेको छैन । स्थानीय तहको निर्वाचन, त्यसपछि आउने जनप्रतिनिधिको पर्खाइलगायतका कारणले पछिल्लो समय सेयर वितरणमा ढिलाइ भएको न्यौपानको भनाइ छ ।

    जिल्लावासीले १ करोड ५ लाख ९० हजार कित्ता सेयर खरिद गर्न पाउनेछन् ।दोलखालीले न्यूनतम ५० कित्तादेखि अधिकतम ७० कित्ता सेयर खरिद गर्न पाउने छन् । जिल्लावासीलाई १० प्रतिशत सेयर छुट्याइएको छ । सर्वसाधारणले १५ प्रतिशत अर्थात् १ करोड ५८ लाख ८५ हजार कित्ता सेयर पाउने बताइएको छ ।

    नयाँ स्थानीय तहअनुसार जिल्ला समन्वय समितिको गठन भए पनि तामाकोसीको सेयरका विषयमा कुनै छलफल भएको छैन । आयोजनाको प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावरले दोलखावासीलाई सेयर जारी गर्ने विषयमा पहल गर्दा पनि जिल्लाका अनेकन गतिविधिले ढिलाइ भएको बताएको छ । जिल्लास्थित राजनीतिक दलहरूले सेयर वितरणको मोडेल परिवर्तन गर्न आग्रह गरेपछि कार्यदल गठन गरेको थियो । कार्यदलले गत फागुनमै आफ्नो प्रतिवेदन स्थानीय संयन्त्रलाई बुझाइसकेको थियो । चुनावपछि जनप्रतिनिधि आउने भन्दै स्थानीय संयन्त्रले जनप्रतिनिधि पर्खेर बसेको थियो । स्थानीय तह निर्वाचन सम्पन्न भएको झन्डै ३ महिना बित्न लाग्दा पनि तामाकोसी सेयरबारे कुनै औपचारिक निर्णय हुन सकेन ।

    भदौ दोस्रो साता बाटो खुल्ला
    जिल्ला समन्वय समिति दोलखाले तामाकोसीको सेयर निष्कासनसम्बन्धी प्रक्रिया सुरु गर्न लागेको बताएको छ । समितिका संयोजक डबल पाण्डेले भदौको दोस्रो सातासम्म समन्वय समितिका तर्फबाट तामाकोसी आयोजनालाई बाटो खुल्ला गर्ने तयारी भएको बताएका छन् । उनले पहिलो चरणमा दोलखाका क्रियाशील राजनीतिक दल र आयोजनाको व्यवस्थापन पक्षसँग छुट्टाछुट्टै छलफल गर्ने र समीक्षा गोष्ठीबाट निर्णय गरी प्रक्रिया अगाडि बढाउन मार्गप्रशस्त गरिने बताएका छन् ।

    कसले कति पाउँछन् सेयर ?
    जिल्लावासीले १ करोड ५ लाख ९० हजार कित्ता सेयर खरिद गर्न पाउनेछन् । जिल्लावासीलाई १० प्रतिशत सेयर छुट्याइएको छ । दोलखालीले न्यूनतम ५० कित्तादेखि अधिकतम ७० कित्ता सेयर खरिद गर्न पाउने छन् । तर, आयोजना रहेको साबिक लामाबगर र गौरिशंकर गाविसवासी बढी प्रभावित भएकाले अरूले भन्दा केही बढी पाउने जनाइएको छ । स्थानीयलाई वितरण गर्ने १० प्रतिशत सेयर बिक्री गरेपछि मात्र सर्वसाधारणका लागि सेयर निष्कासन तथा बिक्री गर्ने व्यवस्था छ । सर्वसाधारणले १५ प्रतिशत अर्थात् १ करोड ५८ लाख ८५ हजार कित्ता सेयर पाउने बताइएको छ ।

    स्रोत : नयाँ पत्रिका