सुपर न्यादीको वित्तीय व्यवस्थापन : एनएमबीको नेतृत्वमा ६ बैङ्कको लगानी

    1157
    काठमाडौं । सिउरी न्यादी पावर कम्पनीले प्रवर्द्धन गरेको सुपर न्यादी जलविद्युत् आयोजना (४० दशमलव २७ मेवा)को वित्तीय व्यवस्थापन भएको छ । लमजुङमा निर्माण हुने उक्त आयोजनामा ६ ओटा बैङ्कले लगानी गर्ने भएका हन् । एनएमबी बैङ्कको नेतृत्वमा प्रभु, मेगा, सेञ्चुरी, एनसीसी र कुमारी बैङ्कले आयोजनामा ऋण लगानी गर्ने भएका हुन् ।

    प्रवद्र्धक कम्पनी र बैङ्कहरूबीच बुधवार लगानीसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । सहमतिपत्रमा कम्पनीका अध्यक्ष शैलेन्द्र गुरागाईं र बैङ्कका प्रतिनिधिले हस्ताक्षर गरेका हुन् । आयोजना कुल रू. ७ अर्ब लगानीमा निर्माण हुने भएको छ, जसको ७५ प्रतिशत बैङ्कको लगानी र २५ प्रतिशत स्वपूँजी रहेको छ । प्रवर्द्धकतर्फको लगानीको व्यवस्था हुनासाथ आयोजनाको निर्माण थालिने कम्पनीका अध्यक्ष गुरागाईंले बताए ।

    आयोजनाको मुख्य संस्थापक प्रवर्द्धकका रूपमा ङादी ग्रूप पावर कम्पनीलगायत अन्य कम्पनीको लगानी रहने बताइएको छ । कम्पनीले गत जेठ १९ मै नेपाल विद्युत् प्राधिकरणसँग आयोजनाको विद्युत् खरीद सम्झौता (पीपीए) गरिसकेको छ । आयोजना २०७७ सालभित्र सम्पन्न गर्ने लक्ष्य छ । विद्युत्गृहमा पानी पुर्‍याउन ६ दशमलव ७६ किलोमिटर सुरुङ र अर्को १ दशमलव २९ किलोमिटर सुरुङमा पेनस्टक पाइप राखिने आयोजनाले जानकारी दिएको छ । विद्युत् उत्पादनका लागि २२/२२ मेवा क्षमताका दुईओटा टर्वाइन जडान हुनेछन् ।

    आयोजनाबाट वार्षिक २ सय ३५ दशमलव ४६ गिगावाट आवर विद्युत् उत्पादन हुनेछ । उत्पादित विद्युत् ताडीकुनामा रहेको सबस्टेसनमा जोडिनेछ । यहाँसम्मका लागि आवश्यक प्रसारण लाइनको निर्माण कम्पनीले नै गर्नेछ ।

    स्रोत:अभियान