प्रसारण लाइन नबन्दा झन्डै ५ मेगावाट बिजुली खेर

    1497

    माघ १६, २०७३- मातातीर्थ–माल्टा ३३ केभी प्रसारण लाइन तोकिएको समयमा नबन्दा गत चैतदेखि दुई विद्युत् आयोजनाबाट उत्पादित ६.३६ मध्ये ४.८६ मेगावाट बिजुली खेर गइरहेको छ । ४.३६ मेगावाटको टुंगुन–ठोस्ने खोला तथा २ मेगावाटको खानी खोला आयोजना २०७२ चैतमै निर्माण सम्पन्न भई विद्युत् उत्पादन सुरु भएको छ । प्रसारण लाइन नबन्दा ती आयोजनाको आधाभन्दा बढी बिजुली खेर गइरहेको हो । आयोजनाबाट उत्पादित बिजुलीमध्ये १.५ मेगावाट मात्र लखनखेल वितरण केन्द्रमा जडान गरी वितरण भइरहेको छ भने बाँकी ४.८६ मेगावाट बिजुली झन्डै एक वर्षदेखि खेर गइरहेको छ ।

    ती आयोजनाको पूरै बिजुली केन्द्रीय प्रसारणमा लाइनमा जोडिए मुलुकको लोडसेडिङ न्यूनीकरणमा थोरै भए पनि टेवा पुग्ने विश्वास प्रवद्र्धकहरूको छ । जलविद्युत् (पावरहाउस) देखि माल्टा सबस्टेसन डेलिभरी केन्द्रसम्म भने खानी खोला जलविद्युत् आयोजनाले प्रसारण लाइन निर्माण गरिसकेको छ ।
    ठेकेदारले समयमै काम गर्न नसक्ता माल्टादेखि मातातीर्थ सबस्टेसनसम्मको प्रसारण लाइन बन्न सकेको छैन । ठेकेदार कम्पनी त्रिपुरेश्वर/जयदुर्गे जेभीले १८ महिनामा निर्माण सम्पन्न गर्ने गरी २०७१ भदौ ९ मा १८ करोड ९१ लाख ८२ हजार रुपैयाँमा उक्त प्रसारण लाइन निर्माणको ठेक्का लिएको थियो । एक वर्षको थपिएको म्याद सकिन लाग्दा पनि ठेकेदारले ३५ प्रतिशत प्रतिशत मात्र काम सम्पन्न गरेको छ ।

    ठेकेदारको ढिलाइप्रति खानी खोला जलविद्युत् आयोजनाका प्रवद्र्धक भरत थापाले आपत्ति जनाएका छन् । थापाका अनुसार आयोजना निर्माण सम्पन्न भएको एक वर्ष बितिसक्यो । यसका लागि एक अर्ब २० करोड रुपैयाँ लगानी भएको छ । आयोजनामा १० प्रतिशत स्थानीयबासी, २० प्रतिशत सर्वसाधारणको लगानी छ । आयोजनाबाट उत्पादित सबै बिजुली छिट्टै केन्द्रीय प्रसारण लाइनमा जोड्न नसकिए बैंकबाट लिएको ऋण र त्यसको ब्याज तिर्न मुस्किल हुने आयोजना प्रमुख थापा बताउँछन् । ‘२०६९ साउनमा प्राधिकरणसँग भएको विद्युत् खरिद–बिक्री सम्झौताअनुसार आयोजना सम्पन्न हुनुअगावै प्रसारण लाइन बनिसक्नुपर्ने थियो,’ उनले भने, ‘बिजुली बेच्न नपाउँदा आम्दानी कम भएकाले स्थानीय सेयरधनीसमेत मर्कामा परेका छन् ।’

    उनले प्रसारण लाइन नबन्दा १.५ मेगावाट बिजुली ११ केभी फिडर लाइनबाट लगनखेल वितरण केन्द्रमा जडान गरी वितरण गर्नुपरेको बताए । ‘अर्को १.५ मेगावाट बिजुली पुल्चोक वितरण केन्द्रबाट वितरण गर्न सकिन्छ । तर त्यहाँ पनि प्रसारण लाइन बनिसकेको छैन ।’

    त्रिपुरेश्वर/जयदुर्गे जेभीका साइट इन्चार्ज विजय अर्यालले प्रसारण लाइन निर्माण कार्य समयमा सम्पन्न नहुनुमा स्थानीयबासीको अवरोधभन्दा विद्युत् प्राधिकरणको दोष रहेको बताए । ‘पोल र तार बिछयाउन रूख काट्नुपर्छ,’ उनले भने, ‘विद्युत् प्राधिकरणले सरकारबाट रूख काट्ने स्वीकृति लिइसकेको छैन ।’
    माल्टाका होमप्रसाद घिमिरेले पनि प्रसारण लाइन निर्माणमा माल्टाबासीको खासै अवरोध नभएको बताए । ‘केही व्यक्तिको बारी परेको छ,’ उनले भने, ‘दिने सहमति भइसकेको छ ।’ मातातीर्थका स्थानीयबासीले भने अवरोध खडा गरेका थिए । तर छलफलबाट मिलिसकेको प्राधिकरणको भनाइ छ ।

    माल्टा–मातातीर्थ ३३ केभी प्रसारण लाइन आयोजना प्रमुख सुरेन्द्र चौधरीले प्राधिकरणका कारणले नभई जिल्ला वन कार्यालय काठमाडौंले गर्दा ढिलाइ भएको दाबी गरे । ‘लाइन विस्तारका लागि वनले हालसम्म प्रारभिक वातावरणीय परीक्षण (आईईई) को अध्ययन प्रतिवदेन तयार गरिसकेको छैनन्,’ उनले भने, ‘३३ केभी प्रसारण लाइनमा परेका जग्गाहरूको मुआब्जा दिने व्यवस्था छैन ।’ प्राधिकरणले वनलाई २०७२ भदौ २९ मा मातातीर्थ चन्द्रागिरी भञ्ज्याङ क्षेत्रका ६ किमि जंगल हुँदै लाइन निर्माण गर्न रुख कटानका लागि आईईई अध्ययन गर्न १३ लाख ६० हजार २ सय ३६ रुपैयाँ दिएको थियो ।

    काठमाडौं जिल्ला वन अधिकृत इन्द्र सापकोटाले आईईई अध्ययनका लागि ऊर्जा मन्त्रालयबाट माघमा मात्र स्वीकृत प्राप्त भएकाले ढिलाइ भएको बताए । ‘कार्यालयका अधिकृतहरू परिवर्तन भइरहने गर्नाले पनि समस्या भएको हो,’ उनले भने । योजनाअनुसार मातातीर्थ–माल्टा ३४ किमि लम्बाइको प्रसारण लाइन निर्माण हुँदै छ । ती दुई विद्युत् आयोजना ललितपुरको सातदोबाटोबाट ३० किमि दक्षिणमा पर्छन् ।

    स्रोत:कान्तिपुर