दर्ता भयो विद्युत् उत्पादन कम्पनी

    2856

    काठमाडौं, ६ मंसिर ठूला जलविद्युत् आयोजना निर्माण गर्न २ अर्ब रुपैयाँ चुक्ता पुँजी भएको विद्युत् उत्पादन कम्पनी दर्ता भएको छ । कम्पनी दर्ताका प्रमाणपत्र कम्पनी रजिस्ट्रार कार्यालयबाट आइतबार पाएको ऊर्जा मन्त्रालयका सहसचिव कोशलचन्द्र सुवेदीले जानकारी दिए । ‘प्रबन्धपत्र नियमावलीको व्यवस्थाअनुसार सबैभन्दा पहिले कम्पनी सञ्चालक समिति गठन हुनेछ,’ उनले भने । कम्पनीको अध्यक्ष ऊर्जासचिव रहने व्यवस्था छ । कम्पनीको अधिकृत पुँजी २० अर्ब, जारी पुँजी १० अर्ब र चुक्ता पुँजी २ अर्ब रुपैयाँ छ । कम्पनीमा संस्थापक र साधारण सेयरको हिस्सा क्रमशः ७१ र २९ प्रतिशत छ । कम्पनीको संस्थापकमा ऊर्जा, अर्थ र कानुन मन्त्रालय छन् । उनीहरूलाई ‘क’ समूहमा वर्गीकरण गरिएको छ । यसैगरी, संस्थापकको ‘ख’ समूहमा नेपाल विद्युत् प्राधिकरण, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, जलविद्युत् लगानी तथा विकास कम्पनी, नेपाल दूरसञ्चार कम्पनी र राष्ट्रिय बिमा संस्थान छन् । साधारण ‘ग’ समूहमा सर्वसाधारण नागरिक, आयोजना प्रभावित जिल्लाका बासिन्दा र अतिविपन्न परिवार छन् । सरकारले पहिलोपटक अतिविपन्न परिवारको कम्पनीमा सेयर स्वामित्व सुनिश्चित गरेको हो । अतिविपन्न परिवारका लागि कम्पनीको २ प्रतिशत सेयर दिने व्यवस्था गरिएको छ । पहिचान गरिएका सबै आयोजनाको क्षमता तथा लागतलाई आधार मानी कम्पनीको सेयर कायम गरिने ऊर्जा मन्त्रालयले जनाएको छ । आयोजनाको कुल लागतका आधारमा सम्बन्धित प्रभावित जिल्लाका बासिन्दालाई छुट्याइएको १० प्रतिशत सेयरलाई बाँडेर निष्कासन गरिने ऊर्जा मन्त्रालयले जनाएको छ । सरकार आफैँले विकास गर्न छुट्याइएका जलविद्युत् आयोजनाको सर्वेक्षण, निर्माण, उत्पादन, सञ्चालन र व्यवस्थापन कम्पनीले गर्नेछ । जलविद्युत् आयोजनाको पहिचान गरी आवश्यकताअनुसार सर्वेक्षण, निर्माण, उत्पादन, सञ्चालन र व्यवस्थापन कम्पनीले गर्नेछ ।

    Source: Naya Patrika