अरुण ३ जलविद्युत् २ सातामा ४४ करोड मुआब्जा वितरण

    1447

    मंसिर ७, २०७३- अरुण तेस्रो परियोजनाका लागि जिल्ला प्रशासन कार्यालयले २ सातामा १ सय २६ परिवारलाई मुआब्जा वितरण गरेको छ । उनीहरूलाई ४४ करोड १२ लाख ३८ हजार ९ सय ७६ रुपैयाँ वितरण गरिसकेको प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बताए ।

    ‘बिहीबारसम्म १ सय २६ परिवारलाई बैंकमार्फत मुआब्जा वितरण गरिसक्यौं,’ प्रजिअ आचार्यले भने, ‘सबैलाई बैंक खाता खोल्न लगाएर वितरण गरिरहेका छौं ।’ १ सय ७० परिवारले गत बिहीबारसम्म मुआब्जाका लागि आवेदन फारम भरिसकेका छन् ।

    उनले भने, ‘४४ परिवार प्रक्रियामा छन्, उनीहरूको पनि केही दिनमा बैंक खातामा रकम जम्मा गरिदिइसक्छौं ।’ प्रक्रियाका लागि रहेका ४४ परिवारले ३२ करोड १४ लाख पाउनेछन् । अरुण निर्माण हुँदा २ सय ६९ परिवार विस्थापित हुनेछन् ।

    प्रजिअ आचार्यका अनुसार १ अर्ब ३० करोड रुपैयाँ अरुण प्रभावितले मुआब्जा पाउनेछन् । मुआब्जा निर्धारण समितिले भारतीय सतलज, प्रशासन र विस्थापितसँगको सहमतिमा मुआब्जाको रकम निर्धारण गरेर वितरण गरेको हो । नुम, पाथिभरा, याफु र दिदिङका प्रभावितलाई मुआब्जा वितरण गरिएको हो । ‘९ लाखदेखि ६ करोडसम्म एकै व्यक्तिले मुआब्जा लिनेछन्,’ उनले भने, ‘३५ दिनसम्म हामी वितरण गर्नेछौं ।’

    नुमका प्रभावित विमन पराजुलीका अहिले वितरण गरिएको मुआब्जाले प्रभावितहरू खुसी भएको बताए । ‘प्रभावित क्षेत्रका बासिन्दामा खुसीयाली छाएको छ,’ उनले भने, ‘स्थानीयसँग समन्वय गरेर वितरण गर्नु सबैभन्दा राम्रो भयो ।’ लगानी बोर्डले मुआब्जा पाएकाहरूका लागि वित्तीय साक्षरता कार्यक्रम पनि सुरु गरेको छ । बोर्डका प्रेम खनाल र गणेश आर्चायले बिहीबारबाट प्रभावित क्षेत्रका बासिन्दालाई यस्तो कक्षा दिन थालेका हुन् । मुआब्जा पाएको रकम दुरुपयोग नहोस् र सही सदुपयोग होस् भनेर प्रशिक्षण दिएको खनालले बताए । चार दिनसम्म उनीहरूलाई प्रशिक्षण दिइनेछ ।

    पाथीभरा गाविसमा बाँध र दिदिङको पुखुवाबाट विद्युत् उत्पादन हुने आयोजनाबाट ९ सय मेगावाट उत्पादन हुनेछ । कुल १ खर्ब ४ अर्ब लागतमा यो आयोजना निर्माण हुनेछ । कुल २३ मिटर अग्लो बाँध बाँधी २२५ मेगावाट क्षमताको चार टर्वाइनमार्फत विद्युत् निकालिनेछ ।

    प्रभावित क्षेत्रका स्थानीयलाई प्रतिघर ३० युनिट बराबर नि:शुल्क बिजुली प्रदान गरिने पीडीएमा सम्झौता भएको छ । नेपालले प्राप्त गर्ने बिजुली छाडेर प्रवद्र्धकले ढल्केबर सबस्टेसन हुँदै भारतको मुजफ्फरपुरसम्म विद्युत् पुर्‍याउनेछ । सन् २०२२ सम्ममा काम सम्पन्न गर्ने भारतीय सजलज कम्पनीले सरकारसँग सम्झौता गरेको छ ।

    नेपालले २१ दशमलव ९ प्रतिशत अर्थात १ सय ९७ मेगावाट बिजुली नि:शुल्क प्राप्त गर्नेछ । ०६५ कात्तिक २७ गतेदेखि सतलजले अरुण ३ को ड्यामसाइड नुमको फ्याक्सिन्दा र पावरहाउस दिदिङको पुखुवाबाट विस्तृत सर्भे थालेको थियो । सतलजले नुम, खाँदबारी, कुवापानी, काठमाडौंमा साइड कार्यालय सञ्चालन गर्दै कर्मचारी नियुक्तिलाई तीव्रता दिइरहेको छ । सदरमुकाम खाँदबारीबाट नुमको फ्याक्सिन्दासम्म कच्ची सडकको डोब खनिसकिएको छ ।

    Source: Kantipurdaily