मध्यमर्स्याङ्दीको गड्बडीले देशभर बिजुली आपूर्ति रोकियो

    1140

    काठमाडौँ: नेपाल विद्युत् प्राधिकरणको मध्यमस्र्याङदी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन प्रणालीमा समस्या आएपछि मुलुकभर करिब ४५ मिनेट विद्युत् आपूर्ति बन्द भयो ।

    सो आयोजनाको पहिलो युनिटमा समस्या आएपछि केन्द्रीय प्रणालीमा नै समस्या आएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए ।

    प्रवक्ता अधिकारीका अनुसार सो आयोजनाबाट ७० मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ । त्यसमध्ये पहिलो युनिटबाट उत्पादन हुने ३५ मेगावाटमा समस्या आएको हो ।

    “आयोजनाको पहिलो युनिटमा समस्या आएपछि मुलुकभरकै विद्युत् आपूति बन्द भयो”, उनले भने, ”तर प्राधिकरणले समयमै समस्या समाधान गर्न सफल भएपछि केहि समयमा पुनः विद्युत् आपूति सूचारु भयो । किन समस्या आयो भन्नेबारेमा थप अध्ययन गर्छौँ ।”

    साँझ ५:४५ देखि प्राधिकरणको प्रणालीमा समस्या आएपछि मुलकुभर नै विद्युत् आपूर्ति बन्द भएको थियो । यस्तै प्राधिकरणको केन्द्रीय भारप्रेषण केन्द्रले पनि प्रणालीमा सामान्य समस्या आएको जानकारी दिएको छ ।

    विद्युत् मागको दुईतिहाई भन्दा बढी भार काठमाडौँ उपत्यकामा नै भएकाले राजधानी बढी प्रभावित भएको प्राधिकरणले जनाएको छ । साँझको समयमा अत्याधिक विद्युत् माग हुने भएकाले प्रणालीमा समस्या आएको हुन सक्ने बताइएको छ ।

    Source: The Karobardaily