ऊर्जा पहुँच आयोजनालाई विश्व बैंकको साढे ८४ करोड

1086

१० बैशाख, २०७६
निजी क्षेत्रको नेतृत्वमा निर्माण हुने मिनि ग्रिड ऊर्जा पहुँच आयोजनाका लागि विश्व बैंकले साढे ८४ करोड सहयोग गर्ने भएको छ ।

चार वर्षभित्र खर्च गर्ने गरी १७.२१ मिलियन डलर लागतमा सञ्चालन हुन लागेको आयोजनाका लागि विश्व बैकले ७.६१ मिलियन डलर अर्थात् ८४ करोड ५२ लाख रुपैयाँ सहयोग गर्ने भएको हो । सोमबार अर्थ मन्त्रालय वैदेशिक महाशाखा प्रमुख एवं सहसचिव श्रीकृष नेपाल र विश्व बैंकका निमित्त देशीय प्रबन्धक विज्ञान प्रधानबीच सम्झौता भएको छ ।

ऊर्जा पहुँच आयोजनाका लागि विश्व बैंकको रणनीति जलवायु कोष (एससीएफ) ले ५.६१ मिलियन डलर अनुदान र २ मिलियन डलर ऋणका साथै सरकारले ६ मिलियन डलर अनुदान र निजी क्षेत्रले बाँकी ३.६० मिलियन डलर बेहोर्ने विश्व बैंकले जनाएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले कार्यान्वयन गर्ने आयोजना अन्र्तगत माइक्रो-मिनि जलविद्युत् र सौर्य ऊर्जाका परियोजना सञ्चालन हुनेछन् । आयोजना अन्तर्गत १ लाख २६ हजारलाई ग्रामीण जनता र ८० व्यापारिक आयोजना सञ्चालन हुनेछन् । आयोजनाले २५ मिनिग्रिडका आयोजनामार्फत ३.८ मेगावाट विद्युत् उत्पादन गर्नुका साथै हालका मिनिग्रिडको पुनःस्थापना र पुनर्निर्माणमा सहयोग गर्ने लक्ष्य राखिएको छ ।

सहसचिव नेपालले विश्व बैंकको सहयोगले नवीकरणीय र अफ ग्रिड ऊर्जा प्रणालीको नेपालमा विकासका लागि ठूलो सहयोग पुग्ने बताउँदै नवीकरणीय ऊर्जामा निजी क्षेत्रलाई सरकारले सहभागिता बनाउन लागेको र यो सम्भव भएको बताए । निमित्त प्रबन्धक प्रधानले ऊर्जाको अवस्था सुर्धानका लागि निजी क्षेत्रको सहभागिता महत्वपूर्ण भएको बताउँदै ग्रामीण समुदायमा स्वच्छ ऊर्जाका लागि विश्व बैंकले सहयोग गरेको बताए ।

 

स्रोत:कारोबार